प्रगति सार्वजनिक गर्दै जनस्वास्थ्य कार्यालय रामेछापद्वारा पत्रकारसँग अन्तरक्रिया

प्रगति सार्वजनिक गर्दै जनस्वास्थ्य कार्यालय रामेछापद्वारा पत्रकारसँग अन्तरक्रिया

जनस्वास्थ्य कार्यालय रामेछापले चालु आर्थिक वर्षको हालसम्म अर्थात यो ९ महिनामा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक गर्दै पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यालयले जिल्लाभर सञ्चालन गरिएका विभिन्न स्वास्थ्य सेवा तथा जनचेतनामूलक कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै उपलब्धि, चुनौती र आगामी योजनाबारे जानकारी गराएको हो। कार्यक्रममा मातृ तथा शिशु स्वास्थ्य, खोप सेवा, पोषण, परिवार नियोजन, सरुवा रोग नियन्त्रण तथा स्वास्थ्य प्रवद्र्धनका क्षेत्रमा भएका कामहरूको प्रगति प्रस्तुत गरिएको थियो।

अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले स्वास्थ्य सेवाको पहुँच, गुणस्तर तथा ग्रामीण भेगमा देखिएका समस्याबारे जिज्ञासा राखेका थिए। पत्रकारहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै जनस्वास्थ्य कार्यालयका प्रमुख विभु कुमार झा ले सेवाको प्रभावकारिता बढाउन स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो ।

जिल्लाका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध गराउने लक्ष्यअनुसार कार्यक्रमहरू सञ्चालन भइरहेको उहाँको भनाई छ । उहाँका अनुसार केही क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भए पनि भौगोलिक विकटता, जनशक्ति अभाव तथा स्रोत–साधनको सीमितताका कारण अपेक्षित उपलब्धि हासिल गर्न चुनौती रहेको छ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रका सूचकहरूमा सुधार ल्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्यालयले सही सूचना प्रवाहमा सहयोग गर्न पत्रकारहरूलाई आग्रह गरेको हो । जनस्वास्थ्य कार्यालय रामेछापले आगामी महिनाहरूमा बाँकी कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गरी वार्षिक लक्ष्य हासिल गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार