अज्ञात खाेजीमा रन्थनिरहेकाे मेराे मस्तिष्क
यतिखेर
हिर्काउँछ सून्यतामा लगातार
तर बन्द काेठामा
शान्त पीडा भएको छ
कुनै आयामकाे खाेजीमा
तर थाहा छ मलाई
कुनै साधारण पीडा हुने छैन
त्याे मस्तिष्कले खाेजेकाे
तिलस्मी आयाम
पूर्णता हाेइन?
एउटा पीडारहित
भएकाे छु
माफ गर्नु हाेला
मृत्युहरु पूर्णता हाे की हाेइनन्?
मैले त्याे तस्वीर
अनुमान गर्न सकिनँ
यद्यपि
मृत्युहरु छन् भइरहनेछन्
सायद
चेत मस्तिष्कहरु
उन्मुक्तिकाे स्वागतमा छ,यतिखेर
कुनै आयामकाे अभ्यागतलाई
लाग्दैन ?कुन अवतार फेरिदैछ
याे समयमा
म प्रश्नहीन छु
कतै आक्रोश लाग्छ
कतै उद्धेलित हुन्छु
मैले खाेजेकाे त्याे
तिलश्मी आयाम
कुनै अराजक भीडबाट हाेइन
म आफ्नै सामिप्यमा खाेजिरहेछु
भाैतारिरहेका छन्
मेराे सून्यताहरु
थाहा छैन मलाई
यसकाे पूर्णता कहाँ छ?
म प्रश्न गर्न चाहन्छु
सून्यवादी बुद्धलाई
पूर्णताकाे साहस
तिमीले गर्याै या गरेनौं ?
तर म अहिलेकाे
याे समयमा उभियर
शून्य हाेइन?
माहासून्य खाेजिरहेकाे छु
त्यहाँ म हाेइन?
सबै हुनेछन्
पृथ्वीकाे गाेलार्द्धभित्र
या पृथ्वीकाे सबै सीमानाभित्र
_ कवि नवीन गाउँले


