रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयले नगरभरीमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । २०८१ चैत्र महिनामा सम्पन्न भएको कक्षा ८ को वार्षिक परीक्षामा महाकाली आविले २० वटा विद्यालयलाई पछि पार्दै उत्कृष्ट हुन सफल भएको हो ।
नगरपालिकाले संचालन गरेको कक्षा ८ को वार्षिक परीक्षामा महाकाली आविले समग्रमा ३.०९ प्रतिशत जिपिए ल्याउन सफल भएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख नमराज प्रसाद बडूले जानकारी दिनुभयो ।
उहाँका अनुसार गंगालाल एकेडेमीले समग्रमा २.९२ जिपिए प्राप्त गर्दै दोश्रो स्थानमा रहेको छ । सितलादेवी मावि २.५५ जिपिए ल्याएर तेश्रो स्थानमा रहेको छ भने भूमेश्वरी आवि २.५३ जिपिए प्राप्त गर्दै चौथो स्थानमा रहेको छ ।
उत्कृष्ट नतिजा प्राप्त गर्न सफल महाकाली आविले हायु जातिका विद्यार्थीलाई हायु भाषा पनि पठनपाठन गराउँदै आएको छ । विद्यालयले हिउँदे तथा बर्खे बिदामा समेत नियमित कक्षा संचालन गर्ने गरेको छ । विद्यालयले हप्ताको ५ दिन शुक्रबार बाहेक अन्य दिन बिहान ८ बजेदेखी दिउँसो ५ बजेसम्म नियमित कक्षा संचालन गर्दै आएको छ ।
जनप्रतिनिधी,अभिभावक,शिक्षक,विद्यार्थी लगायत सरोकारवाला सबैको साथ,सहयोग,समन्वय र सहकार्यले विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक राम बहादुर घिसिङ्गले बताउनुभयो । अहिले देशभरका शिक्षकहरु पठनपाठन ठप्प पारेर विभिन्न माग सहित राजधानी केन्द्रित आन्दोलनमा गएको भएपनि महाकाली आविमा भने नियमित कक्षा संचालन भैरहेको छ ।
कक्षा ८ मा ३.९१ जिपिए सहित अन्जली श्रेष्ठ प्रथम
नगरपालिकाभरीमै कक्षा ८ को परीक्षामा ३.९१ जिपिए सहित जनता माविकी छात्रा अन्जली श्रेष्ठ प्रथम हुनुभएको छ । ३.८९ जिपिए सहित महाकाली आविका छात्र विवस कार्की द्धितिय हुनुभएको हो । ३.८७ जिपिए सहित गंगालाल एकेडेमिका छात्रा जेनिशा शाही तृतिय हुनुभएको हो । ३.८६ जिपिए सहित गौरी शंकर माविकी छात्रा राशी श्रेष्ठ चौथो हुनुभएको हो ।
कक्षा ५ को परीक्षामा गंगालाल एकेडेमीको उत्कृष्ट नतिजा
रामेछाप नगरपालिकाभरीमै कक्षा ५ को परीक्षामा गंगालाल एकेडेमीले उत्कृष्ट नतिजा प्राप्त गरेको छ । गंगालाल एकेडेमीले ३.८६ जिपिए प्राप्त गरेको हो । गौरीशंकर माविले ३.२६ जिपिए र श्री जनता आविले ३.१४ जिपिए प्राप्त गरेको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख नमराज प्रसाद बडूले जानकारी दिनुभयो ।
कक्षा ५ मा गौरीशंकर माविका विद्यार्थीको उत्कृष्ट नतिजा
रामेछाप नगरपालिकाले संचालन गरेको कक्षा ५ को परीक्षामा गौरीशंकर माविका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन । ३.८९ जिपिए सहित गौरीशंकर माविकी छात्रा शिखा मोक्तान प्रथम हुनुभएको छ ।
३.८४ जिपिए सहित गौरीशंकर माविकी छात्रा विविसा भुजेल दोश्रो,३.८१ जिपिए सहित गौरीशंकर माविकै छात्राहरु दिपशना आले मगर र दिपशिखा कार्की तेश्रो हुनुभएको हो । रामेछाप नगरपालिकाले कक्षा ५ र ८ को वार्षिक परीक्षा संचालन गर्दै आएको छ ।
विगतको वर्षहरुमा भन्दा यस वर्ष सबै विद्यालयको नतिजा सुधारउन्मुख रहेको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख बडूले बताउनुभयो ।