रामेछापको ६ वटा पालिकाका छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप लगाउन सुरु गरिएको छ । आज(मंगलबार) मन्थली नगरपालिका,उमाकुण्ड गाउँपालिका,गोकुलगंगा गाउँपालिका,खाँडादेवी गाउँपालिका,दोरम्बा शैलुङ गाउँपालिका र सुनापती गाउँपालिकामा यो खोप अभियान सुरु भएको हो ।
यि पालिकाहरुमा यहि माघ २४ गते सम्म यो खोप खभियान संचालन हुनेछ । दोश्रो चरण अन्तर्गत माघ २८ देखी ३० गते सम्म रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकामा यो खोप अभियान संचालन हुनेछ ।
रामेछापका ७ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप लगाईने छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत रामेछापका कक्षा ६ देखि १० मा अध्यनरत ७ हजार ६३ जना छात्रालाई पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप लगाउन लागिएको हो ।
विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप लगाईने छ । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट प्रमाणित उक्त खोप १० वर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो ।
विद्यालयमै खोप केन्द्र सञ्चालन गरिनेछ भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने जनाइएको छ । एक तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको तथ्यांक छ ।