रामेछापको उमाकुण्ड गाउँपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन गर्न भन्दै संघीय सरकारले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई दिँदै आएको भत्तामा केही रकम थप गरेको छ ।
माध्यमिक तहको प्रधानाध्यापक भत्ता २ हजार रुपैयाँ थपेर २५०० पुर्याएको छ भने आधारभूत तह १-८ का प्रधानाध्यापकको भत्तामा १२०० थपेर १५०० पुर्याएको छ र आधारभूत तह १-५ का प्रधानाध्यापकको भत्ता ८०० थपेर १००० रुपैयाँ पुर्याएको छ ।
संघीय सरकारले माध्यमिक तहका प्रधानाध्यापकलाई प्रधानाध्यापक भत्ता मासिक ५०० रुपैयाँ उपलब्ध गराउँछ भने ८ कक्षा सम्मको आधारभूत विद्यालयका प्रधानाध्यापकलाई मासिक ३०० रुपैयाँ र ५ कक्षा सम्मको आधारभूत विद्यालयका प्रधानाध्यापकलाई मासिक २०० रुपैयाँ भत्ता उपलब्ध गराउँछ ।
त्यस्तै गाउँपालिका विद्यालयले पाउने वार्षिक मसलन्द खर्च पनि थप गरेको छ । संघीय सरकारले १२ कक्षासम्मको माध्यमिक विद्यालयलाई उपलब्ध गराउँदै आएको ३० हजार रुपैयाँ मसलन्द खर्चमा ७० हजार रुपैयाँ थप गरेको छ ।
१० कक्षा सम्मको माध्यमिक विद्यालयलाई उपलब्ध गराउँदै आएको २५ हजार मसलन्द खर्चमा ५० हजार थप गरेको छ । त्यसै ८ कक्षासम्मको आधारभूत विद्यालयलाई उपलब्ध गराउँदै आएको २० हजार मसलन्द खर्चमा २० हजार थप गरेको छ भने ५ कक्षासम्मको आधारभूत विद्यालयलाई उपलब्ध गराउँदै आएको १० हजार मसलन्द खर्चमा १५ हजार थप गरेको छ ।