रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको पुल संचालनमा

रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको पुल संचालनमा

रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको बेलिब्रिज निर्माण सकिएर मंगलबार(आज) शुभारम्भ गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) ले बेलिब्रिज पुलको उद्घाटन गर्नुभयो । रामेछापको मन्थली नगरपालिकाले बेलिब्रिज निर्माणमा सहयोग गरेको भन्दै सरकार र नेपाली सेनालाई एक कार्यक्रमको आयोजनागरी धन्यवाद व्यक्त गरेको छ ।

यो बेलिब्रिज उद्घाटन भएसँगै गाडी चल्न थालेको रामेछापका प्रहरी प्रमुख एवं डिएसपी प्रदिप कुमार सिंहले बताउनुभयो । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पुल सुनकोसी नदीमा आएको बाढीले रामेछाप पटीको भाग बगाएको थियो । बाढीले खुर्कोटको पुल बगाउँदा रामेछाप आवतजावत गर्न वैकल्पिक सडक दोलखा हुँदै र सित्खा पुल पार गरेर कष्टकर यात्रा गर्नु परेको थियो । बेलिब्रिज पुल एकतर्फी सञ्चालन हुनेछ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को बेतिनी जोड्ने करिब १८ करोडको लागतमा १० वर्षअघि बनेको सुनकोशीको १०० मिटर लम्बाइ रहेको पुल बाढीले ५१ मिटर बगाएको थियो । रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्येपहाडी राजमार्गका लागि सुनकोसी नदीको पुलले सहज पार्दै आएको छ । यो बेलिब्रिज निर्माण गर्न ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) खुर्कोटमा नेपाली सेनासँगै आफै लागिपर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार