रामेछापका विनय घिमिरे त्रिवि पहिलो सेमेस्टरमा ’टप’

रामेछापका विनय घिमिरे त्रिवि पहिलो सेमेस्टरमा ’टप’

रामेछाप जिल्लाको रामेछाप नगरपालिका–०८ बाबियाखर्कका विनय घिमिरेले त्रिभुवन विश्व विद्यालय अन्तर्गतको पहिलो सेमेस्टरमा ’टप’ गर्नुभयो । शारदा संस्कृत मावि बाबियाखर्कबाट आफ्नो प्रारम्भिक अध्ययन थालेका घिमिरेले त्रिविले लिएको वार्षिक परीक्षामा (बिबिए) तर्फ शंकरदेव क्याम्पस काठमाडौँबाट विश्व विद्यालय टप गर्नुभयो । त्रिभुवन विश्व विद्यालय गत मङ्गलवार नतिजा प्रकाशित गरेको थियो ।

यस अगाडि पनि शंकरदेव क्याम्पसले लिएको छात्रवृत्तिको आन्तरिक परीक्षामा पनि घिमिरे सर्वोत्कृष्ट हुँदै पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल हुनुभएको थियो । पठनपाठनमा मेहनती, अनुशासित र व्यवहारमा अब्बल घिमिरेले माथिल्लो कक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल हुनुभयो ।

रामेछापको मन्थली स्थित तामाकोशी बोर्डिङ स्कुल हुँदै आफ्नो अध्ययनलाई अगाडि बढाएका उनीसँगै शंकरदेव क्याम्पसबाट सम्पदा अधिकारी, समीक्षा हमाल, आयुष्मा राउत, सबिना आचार्य र लक्ष्मी शर्मा समेतले ४.०० ‘एसजीपीए’ ल्याई त्रिवि टपर भएको त्रिविले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

२०७८ सालमा जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित तामाकोशी बोर्डिङबाट ३.९० जिपिए ल्याएर विनयले (एसइई) उत्तीर्ण गर्नुभएको थियो । तामाकोशी बोर्डिङका प्रधानाध्यापक दीपक खड्काले आफूहरूले पढाएको विद्यार्थीले त्रिवि टप गर्नु विद्यालयकै लागि गौरवको विषय भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे तथा मिरा घिमिरेका कान्छा छोरा विनयले जिल्लाकै इतिहासमा पहिलो हुँदै (त्रिवि) मा सर्वोत्कृष्ट नतिजा हासिल गरेका हुन् । रामेछापको इतिहासमा त्रिभुवन विश्व विद्यालय ‘टप’ गर्ने विनय नै पहिलो भएको शिक्षाविद् गुञ्जबहादुर श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार