मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि हालसम्म अर्थात १ वर्षको अबद्यिमा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाले १ वर्षको अवद्यिमा प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा नगरपालिकाका उप सचिव एवं सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी गराउनुभयो ।

उहाँले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म नगरपालिका मार्फत संस्थागत विकास तथा सुशासनको क्षेत्रमा भएका कामहरू, आर्थिक तथा सामाजिक विकास, पूर्वाधार विकास, विपद् व्यवस्थापन र न्यायिक समिति लगायत विभिन्न क्षेत्रमा भएको प्रगति बारे जानकारी गराउनुभएको थियो ।

मन्थली नगरपालिकाले चालु आर्थिक वर्षमा जम्मा बजेटको ८३.७७ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । चालु आर्थिक २०८०/८१ मा नगरपालिकाले कुल एक अर्ब चार करोड ८६ लाख ९८ हजार बजेटको ८३.७७ प्रतिशत अर्थात् ८७ करोड ८४ लाख ९४ हजार ३१४ रुपैयाँ बजेट खर्च गरेको हो । नगरपालिकाले यो वर्षका लागि स्वीकृत बजेटको १७ करोड २० लाख ३ हजार ६८५ रुपैयाँ बजेट खर्च गर्न सकेन ।

नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली अन्तरगत चालु आर्थिक वर्षका लागि स्वीकृत एक अर्ब चार करोड ८६ लाख ९८ हजार बजेटमा चालू खर्च ८९.३४ प्रतिशत तथा पुँजीगत खर्च ७४.२ प्रतिशत गरी जम्मा ८३.७७ प्रतिशत मात्रै बजेट खर्च गरेको हो । चालु आर्थिक वर्षमा नगरपालिकाको चार करोड ३० लाख रुपैयाँ आन्तरिक आम्दानी हुने लक्ष्य लिएकोमा यही असार २५ गतेसम्म लक्ष्यको १०३.४९ प्रतिशत अर्थात् ४ करोड ४५ लाख २ हजार ८३८ रुपैयाँ आन्तरिक आम्दानी भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुबाट उठेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लब श्रेष्ठ,उपप्रमुख ईश्वरी बस्नेत र प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाइले दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार