रामेछापमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ (कान्छाराम) ले लिखुकरिडोरमा निर्माणाधिन हाइड्रोपावरबाट पीडित रहेका स्थानीयको समस्या समधान गर्न पीडित जनतालाई लिएर आन्दोलन गर्ने बताएका छन् ।
शनिबार मतदाता भेटघाट अभियानमा उमाकुण्डको वडा नं १ गुम्देल पुगेका कान्छाराम सहितको टोली समक्ष स्थानीयले बर्षौ देखि हाइड्रोपावरबाट आफुहरु पीडित भएको गुनासो राखेपछि स्थानीयको माग संबोधन गर्ने क्रममा कान्छारामले स्थानीयको समस्या समाधानको लागि आन्दोलन नै गर्नु पर्ने भएपनि आफू तयार रहेको बताएका हुन् ।
दुगड ग्रुपले संचालन गरेका हाइड्रोपावरले जनतालाई बेवास्ता गरेर सामाजिक उत्तरदायित्वको रकम समेत खर्च नगरी एकलौटी ढंगबाट अगाडि बढेको कुरा आफूलाई पुर्ण रुपमा जानकारी रहेको धारणा राख्दै नागरिकको सबै समस्याको समधान गर्ने जिम्मेवारी आफूले लिने बताए । गुम्देलका हरेक विकासलाई आफू निर्वाचित भएपछि पहिलो प्राथमिकतामा राखेर बहुबर्षे योजनामा समावेस गर्ने प्रतिबद्धता जनाए ।