प्रधानमन्त्री शेरबहादुर देउवाको तीव्र आलोचना भएपछि आलोचनालाई मत्थर पार्न भन्दै प्रधानमन्त्रीको सचिवालयले सरकारले गरेका महत्वपूर्ण कामको सूची सार्वजनिक गरेको छ । पछिल्लो समय मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको, एमसीसी पास गर्न पहल गरेको र पार्टीको महाधिवेशनका सन्दर्भमा देखिएका विवादले देउवा निकै आलोचित हुनुभएको थियो ।
सोही विवादलाई कम गर्न भन्दै सचिवालयले सरकारले गरेका महत्वपूर्ण १५ कामको सूची सार्वजनिक गरेको हो । महत्वपूर्ण उपलब्धिमा विद्युत प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्तिलाई मानिएकाे छ ।
यस्तै एकैदिन तीन लाखलाई खोप दिनु, १८ वर्षमुनिका बालबालिकालाई दिइने ४० लाख मात्रा मोर्डना खोपको टुंगो लगाउनु र बाढी पहिरो र डुबान पीडितको युद्धस्तरमा उद्धार तथा राहत र पुनस्थापनाको कामलाई पनि सरकारले उपलब्धिको सूचीमा समावेश गरेको छ ।
यस्तै, कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि विशेष प्याकेज, कर्मचारी, शिक्षक, सेना, प्रहरी स्वास्थ्य सेवाका कर्मचारीको तलब बृद्धि, क्यान्सर, मृगौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता, अति विपन्न गरिब घर परिवारलाई दश हजार रुपैयाका दरले राहत दिनु पनि सरकारको उपलब्धिको रुपमा राखएिको छ ।
राजधानीका दश ठाउँमा सस्तोमा भोजनको व्यवस्था, विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ र ‘महिला लक्षित महिला पहिला कार्यक्रम’, भूमि आयोगको गठन, एमसीसीमा राष्ट्रिय सहमति निर्माणको पहल, प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद, त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माणको निर्णयलाई देउवा सरकारले २ महिनाभित्र गरेका १५ उपलब्धिको रुपमा प्रस्तुत गरेको छ ।