काठमाडौँमा कोरोना सङ्क्रमण बढ्दै, राजधानी बाहिर भने स्थिर

काठमाडौँमा कोरोना सङ्क्रमण बढ्दै, राजधानी बाहिर भने स्थिर

नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण, मृत्यु र निको हुने दर स्थिर देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने नियमित कोरोना सम्बन्धी तथ्याङ्कमा कोरोनाका नयाँ सङ्क्रमित थपिने दर औसतमा २ हजार रहेको छ भने मृत्यु हुनेदर औसतमा ४० रहेको छ ।

तर नेपालमा कोरोनाको अवस्था चिन्ताजनक नभएपनि ढुक्क हुने स्थिति भने छैन । काठमाडौँका अस्पतालहरुमा बिरामीहरु सङ्ख्या बढीरहेको छ । सरकारले सार्वजनिक गर्ने कोरोना सम्बन्धी तथ्याङ्कमा काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढेको देखाएको छ । उपत्यकामा मात्रै दैनिक १२ सयदेखि २ हजारसम्म नयाँ सङ्क्रमित फेला पर्ने गरेका छन् ।

काठमाडौं उपत्यकामा एचडीयू, आईसीयू र भेन्टिलेटर गरेर जम्मा २ हजार ५ सय २४ बेडहरु छन् ।जसमा हाल १ हजार ५३ जना उपचाररत छन् । उपत्यका बाहिरका अस्पतालमा भने अवस्था फरक छ । पहिलेको जस्तो दैनिक जसो सङ्क्रमितहरु बढ्ने अवस्था नभएको बाँकेको भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाले बताउनुभयो ।

मेची अस्पताल झापाका मेडिकल सुप्रिटेन्डेन्ट डा. टंकप्रसाद बारकोटीले अस्पतालमा बेड नपाउने अवस्था नरहेको बताउनुहुन्छ । देशभर हाल ६ सय १० जना बिरामी आईसीयूमा उपचाररत छन् भने १ सय ६१ जनाको भेन्टिलेटरमा राखेर उपचार गरिंदैछ । हाल देशभरका ७७ जिल्लामध्ये २० जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो एक सातादेखि अस्पतालमा नयाँ बिरामी भर्ना हुने दर कम भएको प्रादेशिक अस्पताल सुर्खेतका प्रमुख डा. डम्बर खड्का बताउनुहुन्छ । पछिल्लो समय पोस्ट कोभिडका बिरामी पनि बढ्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

पर्साको नारायणी अस्पताल, चितवनको भरतपुर अस्पताल, सेती प्रादेशिक अस्पताल कैलाली लगायत विभिन्न अस्पतालमा उपचारका लागि भर्ना हुने कोरोना सङ्क्रमितको सङ्ख्या झण्डै १५ दिन यता स्थिर देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार