नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप ८ जनाको मृत्यु भएको जानकारी गराउँदै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको बताउनुभयो । पछिल्लो २४ घण्टामा १२ सय ७ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १९ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४ सय ६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना सङ्क्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११ सय ४७ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ७ सय २४ सङ्क्रमित थपिएका छन् जसमध्ये काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना रहेका छन् ।