रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म १ हजार २ सय ११ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ४८ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका १२ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । तामाकोशी अस्पताल मन्थलीबाट १२ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ४ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
जिल्लामा हालसम्म १ हजार १ सय २६ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ८२ , तामाकोसी अस्पतालमा ६१ , मन्थली नगरपालिकामा ३ सय ५४ , रामेछाप नगरपालिकामा १५१ , उमाकुण्ड गाउँपालिकामा ६५, खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १, दोरम्बा गाउँपालिकामा ४० , लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना गरी १२ सय ११ जनाकोे पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
जिल्लाका १५ जना क्वारेन्टिनमा
जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म १५ जना क्वारेन्टिनमा रहेका छन । ३ जना महिला र १२ जना पुरुष गरी १५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । उमाकुण्ड गाउँपालिकामा ९ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा १ जना गरी जिल्लाभर १५ जना क्वारेन्टिनमा रहेका छन् । रामेछाप नगरपालिका , मन्थली नगरपालिका ,दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय १६ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।