शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकहरु प्रविधिमैत्री बन्नुपर्छ : नगर प्रमुख थापा मगर

शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकहरु प्रविधिमैत्री बन्नुपर्छ : नगर प्रमुख थापा मगर

रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरले राज्यको लगानी रहेको सरकारी विद्यालयमै शिक्षाको गुणस्तर कमजोर हुनु दुःखद रहेको बताउनुभयो । सरकारको लगानी रहेको सरकारी विद्यालयमा शिक्षाको गुणस्तर किन कमजोर छ, त्यसतर्फ गम्भीर भएर सोच्नुपर्ने बेला आएको उहाँको भनाई थियो । रामेछाप नगरपालिकाका विद्यालयहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले सरकारी विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । अबको युग प्रविधिको भएकाले शिक्षकहरु पनि प्रविधिमैत्री बन्नुपर्ने उल्लेख गर्दै नगर प्रमुख थापा मगरले परम्परागत ढंगबाट सञ्चालन गरिने शिक्षण सिकाइ प्रभावकारी नहुने भएकाले शिक्षकहरुले प्रविधिको प्रयोग गरी नयाँ ढंङ्गबाट पठनपाठन सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सोहि कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले शिक्षाको चिन्ता नगर्ने शिक्षकले गुणस्तरीय शिक्षा दिन नसक्ने उल्लेख गर्दै शिक्षकहरु शिक्षाप्रति उत्तरदायी बन्नुपर्ने बताउनुभयो । कोरोना भाईरसले सृजना गरेको यो परिस्थितीमा पठनपाठन निकै प्रभावित भएको भन्दै उपप्रमुख ख्डकाले अब सुरक्षा सतर्कता अपनाएर पठनपाठन गर्नपर्नेमा जोड दिनुभयो । रामेछाप नगरपालिकाका उपसचिव एवम शिक्षा शाखा प्रमुख सुकदेव नेपालले नगरका सबै विद्यालयहरुले घरदैलो अभियान मार्फत गाउँटोलमा नै पुगेर विद्यार्थीहरुलाई पठनपाठन गराईरहेको बताउनुभयो । रामेछाप नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी नगरभरीका ५६ वटै आधारभुत , निमावि र मावि विद्यालयहरुलाई वैकल्पिक माध्यमबाट पठनपठान गर्न सक्ने गरी शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार