रामेछापको दुर्गम गाउँ बोलङ्ग बोलङ्गमा टेलिकमको टावर बनेको तिन वर्षसम्म पनि सञ्चालनमा आउन नसकेको भन्दै स्थानियले गुनासो गरेका छन । रामेछापको रामेछाप नगरपालिका वडा नं ४ बोलङ्ग बोलङ्ग भौगोलिक रुपमा विकट गाउँ हो । मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा अझै नेपाल टेलिकमको टावर टिप्न कि रूख चढ्नुपर्छ कि त अग्लो डाँडा चढ्नुपर्छ ।
नेपाल टेलिकमको टावर बनेको तिन वर्ष पुगेको छ तर, टेलिकमको टावर बने पनि सञ्चालनमा नआउँदा यहाँका स्थानीय सञ्चार सेवाबाट टाढा रहेको वडाअध्यक्ष कृपा थापा मगरले बताउनुभयो । ‘टावर बनेको तिन वर्ष बढी भइसक्यो । तर, अहिलेसम्म पनि टावरबाट सेवा पाएका छैनौँ ।’ उहाँले भन्नुभयो । टावर सञ्चालनका लागि सम्बन्धी निकायमा भन्दा समेत वास्ता नगरेको वडाअध्यक्ष मगरको गुनासो छ ।
गाउँमा टावर नआउँदा नेपाल टेलिकमको टावर निर्माण गर्न लगाएको र लामो समयसम्म टावर सञ्चालन नआएको वडाअध्यक्ष मगरको भनाई । बोलङ्ग बोलङ्ग सहित रामेछापको गोठगाउँ र दोरम्बा शैलुङ्गमा एक्कै पटक टावरको भौतिक संरचना बनेर तयार हुँदासमेत सञ्चालनमा आउन सकेको छैन । नेपाल टेलिकम रामेछापका कार्यालय प्रमुख पन्च कुमार साहुले केहि उपकरणहरु आउन बाँकी रहेकाले टावर सञ्चालनमा ल्याउन नसकिएको बताउनुभयो ।
नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर तुलसी राम श्रेष्ठले सार्वजनिक खरिद ऐनका प्रावधानका कारण उपकरण खरिदमा ढिलाई भएको बताउनुभयो । यहि फागुन महिनाभरीमा रामेछापको विभिन्न ठाउँमा निर्माण भएको तिन वटै टावर सञ्चालनमा ल्याईने उहाँले बताउनुभयो ।