रामेछापका ७ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप लगाईने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत रामेछापका कक्षा ६ देखि १० मा अध्यनरत ७ हजार ६३ जना छात्रालाई पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।
छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ह्युमन प्यापीलोमा भाईरस विरूद्धको खोप लगाईने छ । जिल्लामा दुई चरणमा तोकिएको खोप केन्द्रहरूमा एच.पि.भी. खोप सञ्चालन हुने प्रमुख शाहले बताउनुभयो । पहिलो चरण अन्तर्गत यहि माघ २२ देखी २४ गते सम्म मन्थली नगरपालिका,उमाकुण्ड गाउँपालिका,गोकुलगंगा गाउँपालिका,खाँडादेवी गाउँपालिका,दोरम्बा शैलुङ गाउँपालिका र सुनापती गाउँपालिकामा खोप अभियान संचालन हुनेछ ।
दोश्रो चरण अन्तर्गत माघ २८ देखी ३० गते सम्म रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकामा खोप अभियान संचालन हुनेछ । विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप लगाईने छ ।
नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट प्रमाणित उक्त खोप १० वर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो । विद्यालयमै खोप केन्द्र सञ्चालन गरिनेछ भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने जनाइएको छ । एक तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको तथ्यांक छ ।