रामेछाप अस्पतालमा भएको शिविरमा ४० जनाको निशुल्क शल्यक्रिया ४ सय बढिले लिए सेवा

रामेछाप अस्पतालमा भएको शिविरमा ४० जनाको निशुल्क शल्यक्रिया ४ सय बढिले लिए सेवा

रामेछाप अस्पताल रामेछापमा ३ दिन चलेको शिविरमा ४० जनाको निशुल्क शल्यक्रिया गरिएको छ । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौँका बरिष्ठ हाडजोर्नी विशेषज्ञहरुबाट सेवा प्रदान गरिएको उक्त शिविरमा ४ सय २० जनाले सेवा लिएका छन ।

यहि भदौ १३,१४ र १५ गते संचालन भएको शिविरमा १३ गते १५ जनाको शल्यक्रिया,१४ गते १५ जनाको शल्यक्रिया र १५ गते १० जनाको शल्यक्रिया गरिएको हो । रामेछाप अस्पतालमा पहिलो पटक शल्यक्रिया सहितको यति ठुलो शिविर संचालन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.केशव श्रेष्ठले बताउनुभयो ।

नेपाल अर्थोपेडिक अस्पतालका बरिष्ठ अर्थोपेडिक डाक्टर युवराज खरेल नेतृत्वको १६ जनाको टिमले शिविरमा सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । घुँडा खिइएका ८० जनाको सुई(स्टेरोइड) लगाइएको उहाँले बताउनुभयो ।

रामेछाप अस्पतालले महिनामा १ पटक पेट तथा कलेजो रोग विशेषज्ञ सेवा,मानसिक तथा नशा रोग विशेषज्ञ सेवा,नाक,कान,घाँटी,हाडजोर्नी विशेषज्ञ सेवा र मुटु रोग विशेषज्ञ लगायत विभिन्न सेवाहरु थप हुने क्रममा रहेको निमित्त मेसु डा.श्रेष्ठले बताउनुभयो ।

खुट्टाको पैतला फर्किएको,जन्मजात हात खुट्टा बाङ्गिएका,हात वा खुट्टाका विकृतिजन्य समस्याहरु,हात वा खुट्टा भाँचिएको,हात वा खुट्टा बाङ्गिएर जोडिएको,भाँचिएको पाता वा खुट्टा भाँचिएको वा किला राखिएको,हातमा आगोले पोलेको,हाट खुट्टामा भएको गाँठा गुँठीहरु निकाल्ने लगायतको सेवाहरु प्रदान गरिएको हो ।

नेपाल अर्थोपेडिक अस्पतालले शल्यक्रिया तथा बिरामीको परीक्षणको लागी सबै उपकरणहरु अस्पतालमै ल्याएर परीक्षण गरिएको थियो । शिविरमा रामेछाप,दोलखा,सिन्धुली लगायत विभिन्न जिल्लाका बिरामीहरुले सेवा लिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार