डिभिजन वन कार्यालय रामेछाप भ्रष्टाचारको अखडा बन्दै

डिभिजन वन कार्यालय रामेछाप भ्रष्टाचारको अखडा बन्दै

वनका कर्मचारी, विचौलिया र ठेकेदाबीचको घुसखोरी, अवैध साँठगाँठका कारण रामेछापका किसानले आफ्नै जग्गामा उत्पादन भएका खयरको उचित मूल्य पाउन सकेका छैनन् ।

पछिल्लो समय रामेछापमा किसानको जग्गामा उत्पादित खयर किन्न विभिन्न जिल्लाबाट ठेकेदारहरु आउने गरेका छन् । खयरको कारोबार ठेकेदासँग जोडिएर ठेकेदार र किसानको बीचमा मध्यस्थता निर्वाह गर्ने स्थानीय केही बिचौलियाहरुको सक्रीयता पनि त्यत्तिकै देखिन्छ । आफ्नै हाताभित्रका किसानको पाखा, बारी कान्लामा हुर्किएका खयरको रुखहरुको उचित मूल्य निर्धारण गर्ने कुरामा स्थानीय तहले पनि खासै चासो देखाएका छैनन् ।

जस्ले गर्दा किसानहरु मारमा परेका छन् । त्यति मात्रै होइन बिचौलिया, ठेकेदार र वनका कर्मचारीबीचको अवैध लेनदेनमा दरार उत्पन्न हुनेबित्तिकै धोखाधडीको खेल शुरु भइहाल्छ । त्यसपछि किसानका निजी जग्गामा कटान भएका खयरका रुखहरु त्यसै सड्ने स्थितिमा समेत पुगेका छन् । त्यसो त डिभिजन वन कार्यालय रामेछापले चालु आर्थिक वर्ष २०८०।८१ संघ र प्रदेशमा गरी कूल ४ करोड १९ लाख ५४ हजार १ सय ८७ रुपैयाँ सङ्कलन गरेको छ ।

जिल्ला भित्रका विभिन्न किसानहरुको निजी नम्बरी जग्गाबाट उत्पादित खयर निकासी गर्दा मूल्य अभिवृद्धि कर ४ करोड १२ लाख ८९ हजार ४ सय ५२ रुपैयाँ र प्रदेश सेवा सञ्चित कोषमा ६ लाख ६४ हजार ७ सय ३५ रुपैयाँ कर सङ्कलन गरेको डिभिजन वन कार्यालय रामेछापले जनाएको छ ।

डिभिजन वन प्रमुख र ठेकेदारबीचको अवैध साँडगाठ

वन डिभिजन कार्यालय रामेछापका प्रमुख ओम सागर भण्डारीले खयर निर्यातमा सहजीकरण गरिदिए बापत ठेकेदाहरुसँग कमिसन लिने गरेको खुलासा भएको छ । नागरिकको करबाट जम्मा भएको राज्य कोषबाट तलब, भत्ता खाएर बसेका कर्मचारीले पारदर्शी ढंगले सेवा प्रवाह गर्नुपर्ने हो । तर डिभिजन वन रामेछापका प्रमुख भण्डारीले कमिसन नखाएसम्म कामै गर्दैनन् । अझ भनौँ कमिसन लिएर पनि चित्त बुझेन भने व्यापारीलाई पक्राउ गर्न आदेश समेत दिन पछि पर्दैनन् डिभिजन प्रमुख भण्डारी ।

ठेकेदारसँग प्रति के.जी. २२ रुपैयाँसम्म कमिसन लिएर खयरको काममा सहजीकरण गर्दै आएका भण्डारीले मंगलबार आफैँले पत्राचार गरी रामेछापबाट खयर लोड गरेर सुनसरीतर्फ जाँदै गरेका ४ वटा ट्रक नियन्त्रणमा लिन लगाए । भण्डारीले मंगलबार रामेछापबाट सुनसरीको सूर्य कत्था उद्योगको नाममा ४० हजार किलोग्राम खयर लोड गरी लिएर जाँदै गरेका बा.प्र. ०१००६ ख २१११, बा.प्र.०१००६ ख ३३४९, म.प्र.०३००२ ख ००९५ र क.प्र.०२००१ ख ०४१९ नम्बरको ट्रकमा कैफियत देखिएको भनेर नियन्त्रणमा लिन लगाए ।

डिभिजन वन रामेछापका अधिकृत ओमसागर भण्डारीले ती गाडीमा बढी माल गएको हुनसक्ने आशंकाका आधारमा आफूहरुलाई पत्रचार गरेपछि चार वटै गाडीलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय सुनसरीमा राखिएको डिभिजन वन कार्यालय सुनसरीका निमित्त प्रमुख धर्मनाथ यादवले बताउनुभयो । अहिले चारवटा मालसहितको गाडी र पाच जनालाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाडीमा बढी माल गएको छ भन्ने शंकाको आधारमा उहाँले हामीलाई चिठी लेख्नु भएछ अनि त्योअनुसारले हामीले त्यो गाडीलाई आफ्नो कब्जामा लिएर अनुसन्धानको क्रममा राख्या छौँ ।’

खयर व्यवसायी ठेकेदार श्याम लिम्बूले भने डिभिज वन रामेछापका अधिकृत भण्डारी स्वयंले नै लोड गरेर छूट पुर्जी दिई पठाएको र अहिले नियतवस रुपमा आफूहरुलाई फसाएको आरोप लगपाउनु भएको छ । ठेकेदार लिम्बुले भन्नुभयो, ‘रामेछापबाट आएको माल हो खयरको काठ, त्यहाँको डिभिजन प्रमुख ओम सागर भण्डारी डि.एफ.ओ. भनौँ न । उहाँले आफैँ माल लोड गर्नु भो, छुट पूर्जीमा पनि आफैँले आदेश गराउनुभयो, छुट पूर्जीमा साइन गर्नुभा छ । उहाँ आफैँले चाहिँ तपाईले सिस्टममा एउटा सिस्टम बुझाउनु भो भने चाहिँ सबै सामान मिलाएर पठाइ दिन्छु भन्नु भो । उहाँले चाहिँ सिस्टम मागेर सिस्टम बुझायौँ, सिस्टम भनेको पैसा हो, सबै चिज मिलाएर म पठाइदिन्छु, भनेर भन्नु भो, पछाडि नियन्त्रणमा लिइदिनुभयो । उहाँले नियतवश हामीलाई फसाउनुभयो ।’

ठेकेदार लिम्बूले भण्डारीले १२ रुपैयाँ आफ्नो लागि र अन्य कर्मचारीको लागि भनेर १० रुपैयाँ गरी प्रति के.जी. २२ रुपैयाँसम्म कमिसन लिने गरेको आरोप लगाउनुभयो । त्यति धैरै कमिसन नलिन अनुरोध गर्दा पनि अधिकृत भण्डारीले अटेर गरेर धेरै कमिसन लिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘उहाँले १२ रुपैयाँ के.जी. लिनुभयो । एक लाख ५० हजार के.जी. आयो । सव डिभिजनलाई गरेर २०। २२ रुपैयाँ के.जी. पुग्छ । अन्तत त्यहाँको सव डिभिजनको वन अधिकृत छन्, त्यहाँ सबैको कमाण्ड उहाँले गरेको हुनाले सबैको पैसा उहाँले लिएर के गर्नुभो हैन, हामीले उहाँलाई त्यति धेरै नलिनु भनेर रिकोइस्ट गर्दा पनि उहाँले मान्नु भएन । हामीले पैसा पनि दियौँ तर लास्टामा उहाँ आफैले फसाउनुभयो ।’

कटान आदेश र पूर्जीसमेत आफूहरुसँग सुरक्षित रहेको उहाँले बताउनुभयो । उक्त माल स्थानीय ठेकेदारसँग लिएको बताउँदै लिम्बूले मालको बारेमा आफूहरुलाई कुनै जानकारी नभएको पनि बताउनुभयो । लिम्बूले भन्नुभयो, ‘पुर्जी वनले राखेको छ, कटान आदेश छ, पुर्जी छ । रामेछाप नगरपालिका वडा नं. ८ को खयर हो । रामेछापमै बस्ने स्थानीय ठेकदार हुनुहुन्छ । उहाँले कहाँ काटेर ल्याउनुभयो, कुन ठाउँबाट काटेर ल्यायो हामीलाई केही थाहा छैन । त्यहाँको किसानलाई थाहा छैन ।’
अर्का ठेकेदार देबेन्द्र बोहोराले पनि डिभिजन वन कार्यालय रामेछापका कर्मचारीले प्रति के.जी. २ देखि अढाई रुपैयाँसम्म कमिसन लिने गरेका आरोप लगाउनु भएको छ । ‘वनमा छुट्टै एउटा चाहिँ सिस्टम छ, त्यो सामान्य कुरा हो हैन । २ देखि अढाई रुपैयाँसम्म किलोको हिसाबले हामीले दिने ग¥या छ, होइन । पर्सनल रुपमा दिने गरेका छौँ, उहाँले भन्नुभयो ।’ डिभिजन वन कार्यालय रामेछापका वन अधिकृत ओमसागर भण्डारीले भने आफूले पैसा लिएको भन्ने आरोप झुटो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही नि होइन, त्यो झुट्टा हो ।’

यता जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानले घटनाबारे हालसम्म आधिकारिक जानकारी नआएको भए पनि अन्य माध्यमबाट आएका सूचनाको आधारमा सम्बन्धित पक्षलाई यस विषयमा के भएको हो भनेर बोलाइएको बताउनुभयो । यस विषयसँग सम्बन्धित कागजातसहित उपस्थित हुनको लागि डिभिजन वन कार्यालय रामेछापलाई आग्रह गरिएको उहाँले बताउनुभयो । यसरी लेनदेन गर्ने कार्य गैरकानूनी भएको बताउँदै उहाँले छानबिनपछि वास्तविक भए कानून बमोजिम कारबाही हुने बताउनुभयो ।

सहायक प्रजित न्यौपानेले भन्नुभयो,‘ अब यो दुई वटै विषय गैरकानूनी काम हो, कानूनको बर्खिलाप हो, अब त्यसको वास्तविकता के हो ? भन्ने कुरा पहिचान गर्नुप¥यो, यदि त्यसो हो भने त गैरकानूनी काम हो, दुई मतै रहेन । लिने पनि दिने पनि गैरकानूनी काम हो । उहाँहरुले लेनदेन गरेर कुरा नमिलेपछि मेरो यस्तो खायो भन्नु त्यो दिने मान्छे पनि गलत हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार