रामेछाप नगरपालिकाले घरेलु मदिरा ‘ब्रान्डिङ’ गर्दै,मस्यौदा विद्येयक स्वीकृत

रामेछाप नगरपालिकाले घरेलु मदिरा ‘ब्रान्डिङ’ गर्दै,मस्यौदा विद्येयक स्वीकृत

रामेछापको रामेछाप नगरपालिकाले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने भएको छ । नगरपालिकाको स्थानीय मदिरा उत्पादन,ब्रान्डिङ तथा बिक्री वितरण व्यस्थापन सम्बन्धि विद्येयक २०८१ को मस्यौदा विद्येयक समेत स्वीकृत भएको हो ।

१५ औँ नगरसभाबाट उक्त विद्येयक स्वीकृत भएको रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । नगरसभाबाट विद्येयक स्वीकृत भए लगत्तै अब ऐन बनेर कार्यविधि बन्ने र कार्यविधि बनेपछि घरेलु मदिरा ब्रान्डिङ तथा बिक्री वितरणको काम सुरु हुने उहाँले बताउनुभयो ।

घरेलु मदिरा ब्रान्डिङको लागी वडा नं ७ सुकाजोरले बजेट नै विनियोजन गरेको थियो । सो बजेटबाट नगरपालिकाले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्न सम्भाव्यता अध्यन समेत गरेको छ ।

केही वर्ष अघि घरेलु मदिरा नष्ट गर्दै हिँडेको सम्झदै नगर प्रवक्ता कार्कीले भन्नुभयो,‘हाम्रो ठाउँमा जे चिज राम्रो उत्पादन हुन्छ । त्यसबाट हामीले फाईदा लिनुपर्ने रहेछ । यो कुरा मैले केही वर्ष अघि घरघरमै गएर मदिरा नष्ट गरेपछि सिकेँ ।’

नगरपालिकाले अब घरेलु मदिरा उत्पादन,ब्रान्डिङ तथा बिक्री वितरणबाट राम्रो आम्दानी गर्ने भन्दै उहाँले यसले नागरीकहरुको आयआर्जन र जीविकोपार्जनमा निकै महत्वुपूण भूमिका खेल्ने बताउनुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले घरेलु लोकल रक्सीको बजारीकरणका लागि कार्यविधि बन्ने क्रममा रहेको भन्दै आगामी आर्थिक वर्षबाट काम नै सुरु हुने बताउनुभयो ।

नेपाली मौलिक सीप र कौशल प्रयोग गर्दै स्थानीय कच्चापदार्थ मकै,कोदो,चामल लगायतका अन्नबाट घरेलु मदिराको उत्पादन र उपभोग भइरहेको परिप्रेक्ष्यमा यस्ता उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गरेको खण्डमा कृषि उत्पादन वृद्धि, रोजगारी सृजना, गरिबी न्यूनीकरण, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न सकिने विश्वास लिइएको नगर प्रमुख न्यौपानेको भनाई छ ।

रामेछाप नगरपालिका जनजातिको बाहुल्यता रहेको ठाउँ हो । यहाँ धरै मात्रामा घरेलु मदिरा उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार