सांसद कान्छारामले ओखलढुंगामा सडक अलपत्र पारेको भन्दै प्रदर्शन

सांसद कान्छारामले ओखलढुंगामा सडक अलपत्र पारेको भन्दै प्रदर्शन

ओखलढुंगामा सडकको ठेक्का लिएर राजनीतिक पहुँचका आधारमा काम अलपत्र पारेको भन्दै ठेकेदार तथा कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध स्थानीयले आन्दोलन थालेका छन् । ठेक्का लिएर पेटी ठेकेदारलाई काम जिम्मा दिइ काम अलपत्र पार्ने ठेकेदार तामाङ विरुद्ध स्थानीयले आन्दोलन थालेका हुन् ।

यसअघि स्थानीयले पटकपटक ठेक्का लगाउने निकाय पूर्वाधार विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराए पनि ठेकेदारलाई काम लगाइएको थिएन । कारवाही गर्न खोज्दा प्रशासन कार्यालयलाई समेत राजनीतिक पहुँचका भरमा तामाङले उल्टो दबाब दिँदै आएका थिए ।

सांसद तामाङले ठेक्का लिएको ओखलढुंगा सदरमुकामदेखि निशंखेसम्मको सडक ग्राभेलको काम वर्षौंदेखि अलपत्र छ । आन्दोलनमा उत्रिएका स्थानीयले ठेकेदारको गोबर लगाएको तस्बिर सहितको ब्यानर बोकेर विरोध गरेका हुन् । प्रर्दशनमा ३ सय स्थानीयले राजमार्गमा प्रदर्शन गरेका छन् ।

आन्दोलनकारीले सोलुखुम्बु–ओखलढुंगा–हर्कपुर सडक खण्डमा पर्ने गोरुमारे भन्ज्याङमा सडक अवरुद्ध पारे । सडक अवरुद्ध हुँदा सैयौं सवारी साधनका यात्रुहरु अलपत्र परेका छन् । कान्छाराम कन्सट्रक्सनले एक वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित २०७६ पुस ९ गते ठेक्का लिएको थियो ।

पटकपटक म्याद थप गरे पनि हालसम्म काम सम्पन्न नगर्दा सडकमा उड्ने धुलोले आसपासका स्थानीयको स्वास्थ्यमै असर पुगेको उनीहरुको गुनासो छ । १२ किलोमिटर सडक ग्राभेलका लागि १६ करोड ६४ लाख ६५ हजार आठ सय ३८ रुपैयाँमा ठेक्का लागेको थियो ।

आन्दोलनमा उत्रिएका सयौं स्थानीयले कान्छाराम कन्स्ट्रक्सनका प्रमुख तामाङको विरोधमा नाराबाजी गरेका छन् । उनलाई बारम्बार संरक्षण गरेको भन्दै ओखलढुंगाका प्रतिनिधि सभाका सांसद रामहरि खतिवडा र प्रदेश सांसद प्रदिप सुनुवारविरुद्ध समेत आक्रोश पोखेका थिए ।

सदरमुकाममा स्थानीयको आन्दोलन चर्किएपछि प्रतिनिधिसभाका सांसद रामहरि खतिवडाले सामाजिक सञ्जाज फेसबुकमार्फत् दोषी ठेकेदारमाथि कारवाही गर्न र जनताको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् । खतिवडाले आन्दोलनमा समर्थन रहेको उनि उल्लेख गरेका छन् । स्थानीयले भने उनीमाथि ठेकेदार संरक्षण गरेको आरोप लगाएका छन् ।

ठेकेदार कान्छाराम रामेछापका कांग्रेस जिल्ला सभापति तथा संघीय प्रतिनिधिसभाका सांसद हुन् । उनको ठेक्काको काम स्थानीय ठेकेदार जितबहादुर श्रेष्ठले गर्दै आएका थिए । काममा लगाइएका दर्जनौं कामदारले महिनौंदेखि मजदुरीको पैसा समेत पाएका छैनन् ।
सडक निर्माण तत्काल सुरू गरी सम्पन्न नगरे आन्दोलन चर्काउने सडक संघर्ष समितिका अध्यक्ष सुवास गुरुङले बताए । (ईकान्तिपुरबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार