शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुखले शिक्षक नियुक्तमा व्यापक चलखेल गरेका छन् । प्रावि तह तृतिय श्रेणीका नयाँ शिक्षक नियुक्तीमा नियुक्तीका लागि निवेदन शुल्क बुझाएका तीन जनालाई इकाई प्रमुख भरत बहादुर भट्टराइले नियुक्त नै नदिइ गोलमोटलमा बाँकीलाई मात्रै नियुक्त दिएका छन् ।
योग्यताक्रमको आधारमा नियुक्ती दिँदा अहिले दुर्गम पालिका पुग्ने भएपछि उनले केही दिनमा नजिकैको पालिका पठाउने योजना सहित नियुक्ती नदिएका हुन् । भट्टराइले शक्तिको प्रयोग गरी योग्यताक्रममा अगाडि रहेकालाई अहिले दुर्गम पालिका पठाउने र योग्यताक्रममा धेरै पछाडि रहेकालाई केही दिनपछि सदरमुकाम र आसपास पार्ने उद्देश्यले अहिले नियुक्त नदिएको उनको यो कार्यले छर्लगं पारेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई रामेछापले मिति २०७९ चैत्र ६ गते स्थायी शिक्षक नियुक्तीमा प्राथमिकताक्रमलाई मध्यनजर गरी स्थानीय तह छनौट गरेर चैत्र १० गते भित्र फाराम भरी निवेदन पेश गर्न माग गरेको थियो । सोही अनुसार प्रावि तह तृतिय श्रेणीमा रामेछाप जिल्लाका लागि नाम निकालेका ७२ जना मध्ये ७१ जनाले फाराम भरी पालिका रोजेर निवेदन दिएका थिए । तर इकाई प्रमुखले योग्यताक्रमको ५७, ६६ र ७० नम्बरमा रहेकालाई बाँकी राखेर अन्य ६८ जनालाई मात्रै पालिका जान नियुक्ती दिएका छन् ।
चैत्र ६ गते प्रकाशन गरेको सूचनामा ८ पालिकामा रिक्त दरवन्दी संख्यामा ७२ जना उल्लेख छ । तर भट्टराईले सोमबार नियुक्ती दिँदा ६८ जनालाई मात्रै नियुक्ती दिएका छन् । सबै पालिकामा गरेर ७२ जना रिक्त दरबन्दी रहेकाले सोही अनुसार पठाउनु पर्ने भएपनि आफैले प्रकाशन गरेको सूचनालाई बेवास्ता गरेर कुनै पालिकामा बढी र कुनै पालिकामा घटी पठाएका छन् ।
उनले रामेछाप नगरपालिकामा ८ जना रिक्त रहेको सूचना प्रकाशन गरेको भएपनि १ जना थप गरेर ९ जना पठाएका छन् । त्यस्तै उमाकुण्ड गाउँपालिकामा ५ जना रिक्त रहेको देखाएको भएपनि ४ जना, लिखुतामाकोशी गाउँपालिकामा ५ जना रिक्त देखाएपनि ४ जना र दोरम्बा शैलुङ गाउँपालिकामा ८ जना रिक्त रहेको भएपनि ५ जना मात्रै पठाएका छन् ।
फाराम किनेको रसिद छ तर, फाराम भरेका छैन भनेर गैरजिम्मेवार जबाफ दिन्छन् इकाई प्रमुख-भट्टराई
स्थायी शिक्षक नियुक्तमा योग्यताक्रमलाई मिचेर पछाडी रहेका शिक्षकहरुलाई अहिले नियुक्त नदिइ राखेको विषयमा प्रश्न गर्दा इकाई प्रमुख भट्टराईले १० गते सम्म तीन जनाले फाराम नभरेको दावी गरे । तर फाराम भर्दा लाग्ने शुल्क तिरेको रसिद भने उनैले देखाएका छन् ।
रसिदमा तीनै जनाले १० गते भन्दा अगाडी नै पैसा बुझाएर फाराम खरिद गरेको देखिन्छ । तीन जनालाई चाहि किन नियुक्ती नदिएको ? भन्ने पत्रकारको प्रश्नमा उनले फाराम नै नभरेका मान्छेलाई अहिले नियुक्त दिन मिल्दैन भनेर ढाकछोप गर्ने प्रयास गरे । तीन जनालाई कहिले नियुक्ती दिनु हुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले ‘मेरो तजबिजले दिन्छु’ भन्दै गैरजिम्मेवार जबाफ दिएका छन् ।
नियुक्ती नलिएका तीन जनाले १० गते सम्म फाराम नभरेको बताएपनि उनले १३ गते सम्म पुनः फाराम भर्नलाई सूचना गरेका छैनन् । भट्टराईले चैत्र १३ गतेकै मितिमा तीन जनालाई नियुक्ती नदिने हो भने उनिहरुको बढुवामा समेत असर पर्ने छ । पैसा तिरेको रसिद, पालिकामा रिक्त सहितको सूचना र हाल पदास्थापना भएको प्रमाण हामीसँग सुरक्षित छन् ।