२०७९ चैत्रसम्म रामेछाप नगरपालिका बालमैत्री नगरपालिका घोषणा हुने

२०७९ चैत्रसम्म रामेछाप नगरपालिका बालमैत्री नगरपालिका घोषणा हुने

रामेछापको रामेछाप नगरपालिका २०७९ चैत्रसम्ममा बालमैत्री नगरपालिका घोषणा हुने भएको छ । रामेछाप नगरपालिकाका जनप्रतिनिधि लगायत सरोकारवालाहरुले बालमैत्री नगरपालिका घोषणामा लाग्ने प्रतिबद्धता जनाएका छन । रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले बालमैत्री नगरपालिका घोषणामा सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो ।

उहाँले सबैले आ–आफनो ठाउँबाट बालमैत्री नगरपालिका घोषणामा सहयोग पुर्याउन अनुरोध गर्नुभयो । रामेछाप नगरपालिका वडा नं ५ का वडाअध्यक्ष भिम ब तामाङले आफनो वडाका सबै विद्यालयहरुको संरचना बालमैत्री बनेको बताउनुभयो । अबको केहि महिनामा आफनो वडा बालमैत्री वडा घोषणाको तयारीमा रहेको उहाँको भनाई छ ।

वडा नं ६ का वडाअध्यक्ष धन ब खड्काले बालमैत्री नगरपालिका घोषणा गर्न आफुहरु लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले ढिलै भएपनि बालमैत्री नगरपालिका घोषणा हुन लागेको भन्दै आफनो वडाबाट यसमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी रामेछाप नगरपालिकाका राजनितीक दलका प्रतिनिधिहरुले पनि बालमैत्री नगरपालिका घोषणा गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन ।

नेपाली कांग्रेस रामेछाप नगरका सभापति कमल विक्रम कार्की,माओवादी केन्द्र रामेछाप नगरका अध्यक्ष मोतिलाल तामाङ,नेकपा एमाले रामछाप नगरका सचिव सुन्दर घिमिरेले आ–आफनो पार्टीले बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । श्री गौरीशंकर माविका प्रधानाध्यापक निर ब कार्कीले बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान विद्यालयबाटै सुरु गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि २ दिने अभिमुखिकरण कार्यशाला रामेछाप नगरपालिकामा आज (मंगलबार) सम्पन्न भएको हो । बालमैत्री नगरपालिका घोषणाका लागी सरोकारवालाहरुको बालमैत्री अवधारणा सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै नगरलाई नै बालमैत्री बनाउन अभियानलाई सार्थकता दिने उद्धेश्यले अभिमुखिकरण गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख सरीता बुढाथोकीले जानकारी दिनुभयो ।

कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा,बालमैत्री नगरपालिकाको लागि बालबालिका सम्बन्धि निति ,कार्य विधि निर्माण,कार्यान्वयनका खुड्किला,आचार संहिता निमार्ण, बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना लगायत बिषयमा प्रशिक्षक विष्णु प्रसाद चतुर्वेदीले प्रशिक्षण दिनुभएको थियो ।

अभिमुखिकरण कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगर,उपप्रमुख सृजना खड्का,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे, वडाध्यक्षहरु,वडाकासचिवहरु,नगरपालिकाकाकर्मचारी,बिद्यालयकाप्रधानाध्यापकहरु,सुरक्षा निकायका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको थियो । सबैले बालमैत्री नगरपालिका घोषणा गर्न आ–आफनो ठाउँबाट लाग्ने हस्ताक्षर मार्फत प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार