कोरोनाविरुद्ध राजनीतिक दल एक ठाउँमा उभिएनन्

कोरोनाविरुद्ध राजनीतिक दल एक ठाउँमा उभिएनन्

दोस्रो लहरको नोबेल कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै स्वास्थ्य मन्त्रालयले १० दिनअघि ८ बुँदे विशेष अनुरोध सार्वजनिक ग¥यो र सावधानी अपनाउन भन्यो । त्यसको ४ दिनपछि सरकारले आदेश पनि जारी गरेको थियो । तर सरकारले जारी गरेको आदेश, सत्ताधारी दलबाटै पालना भएको पाइँदैन ।

विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन रोक लगाइयो । तर भोलिपल्टै निर्णय उल्लङ्घन हुनगरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूजाजाआज गरी रामसिताको मुर्ति रथयात्रासहित चितवन पठाइयो । चितवनको माडी नगरपालिका ९ अयोध्यापुरीमा मूर्ति स्थापना गर्दा ५ हजार व्यक्ति जम्मा भएका थिए ।

नगरप्रमुख ठाकुरप्रसाद ढकाल भने सावधानी अपनाइएको र नागरिकलाई भीड नगर्नु भने पनि रोक्न नसकिएको बताउनुहुन्छ । त्यसको चार दिनपछि अस्ति नवनिर्मित काठमाडौँको धरहरा उद्घाटन गर्दा एक सयभन्दा धेरै व्यक्ति उपस्थित भए । सहभागीको एकीन विवरण नराखिए पनि पत्रकारहरूको संख्या धेरै थियो भन्नुहुन्छ राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता मनोहर घिमिरे ।

यसबीचमा प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेका महाधिवेशन आयोजक कमिटीका२ वटा बैठक बसे, जहाँ प्रधानमन्त्री, मन्त्री तथा नेताकार्यकर्ता निस्फिक्री आउजाउ गरे । कोटेश्वरमा नेकपा माओवादी केन्द्र र सानेपामा काँग्रेसका बैठक बस्न छोडेका छैनन् ।

यसबाट कोरोना सङ्क्रमण रोक्न राज्य र राजनीतिक दल नै गैरजिम्मेवार देखिएको टिप्पणी गर्नुहुन्छ, सङ्क्रमण रोग विशेषज्ञ डा बाबुराम मरासिनी । निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सङ्ख्या मात्रै १ सय ३३ छ ।

ती राजनीतिक दलसँग सम्बन्धित भ्रातृ सङ्गठनको सङ्ख्या दर्जनौँ छ, उनीहरूलाई कोरोना नियन्त्रणका लागि परिचालन गर्नुको साटो दलका शीर्ष नेताहरू नै सङ्क्रमण बढ्ने गरी भीडभाड गर्नमा तल्लिन देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार