रामेछापमा कोरोना कहर, दशैँ दशा नबनोस

रामेछापमा कोरोना कहर, दशैँ दशा नबनोस

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ११ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको मन्थली नगरपालिकाका ३४ जनामा कोरोना संक्रमण देखिँदा रामेछाप नगरपालिकाका २२ जनामा कोरोना संक्रमण देखिएको छ ।

अरु स्थानिय तहहरुमा क्रमश उमाकुण्ड गाउँपालिकामा २ जना , खाँडादेवी गाउँपालिकामा १ जना , गोकुलगंगा गाउँपालिकामा २४ जना , दोरम्बा गाउँपालिकामा २ जना , लिखु तामाकोशी गाउँपालिकामा १७ जना , सुनापति गाउँपालिकामा २ जना र जिल्ला अस्पतालमा ७ जना गरी १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । जिल्लामा अहिले ४४ जना सकृय संक्रमितहरु रहेका छन । उनिहरुको जिल्लाको विभिन्न ठाउँमा उपचार भईरहेको छ । जिल्लामा धेरैले कोरोनालाई जितेका छन । जिल्लाको रामेछाप नगरपालिकाको पछिल्लो कोरोना संक्रमण दरको अवस्थालाई केलाउँदा :

घटना १: वडा अध्यक्ष र नगरपालिकाका कर्मचारीमा संक्रमण

गत असोज १८ गते रामेछाप नगरपालिकाका एक वडा अध्यक्ष सहित ३ जनामा कोरोना संक्रमण भएको समाचार आयो । कोरोना संक्रमण भएको रिपोर्ट आउँदा संक्रमण भएका भनिएका वडा अध्यक्ष कामको सिलशिलामा रामेछाप बजारमै थिए भने अर्का संक्रमित नगरपालिका कार्यालयका कर्मचारी पनि कार्यालयमा काम गर्दै थिए । निज वडा अध्यक्ष र नगरपालिकाका सम्पर्कमा रहेका परिवार, आफन्त र साथीभाईको पनि कन्ट्र्याक ट्रेसिङ गरियो जसमध्ये केही परिवारका सदस्य र सहकर्मीमा पनि पोजेटिभ देखियो । जसका कारण बजारमा उक्त कर्मचारी र वडा अध्यक्षलाई “कोरोना सारेको आरोप”कोआलोचना व्यापक भएको छ । उक्त वडा अध्यक्ष कामको शिलशिलामा काठमाडौँ गएर आएका हुन् भने संक्रमित कर्मचारी भने कतै नगएका मान्छे हुन् । यस घटनाले दुई वटा कुरा देखाउँदछ: पहिलो, रामेछापमा समुदायमा कोरोना फैलिइसकेको छ । जो जस सँग पनि कोरोना भाइरस हुन सक्छ । दोस्रो, कोरोना स्वाब संकलन गरि सक्दा पनि उक्त जनप्रतिनिधी र कर्मचारी दुवैमा कोरोना आफुमा नभएको वा भए पनि केही होइन भन्ने भएर खासै सचेत भएको देखिएन । तेस्रो र महत्वपुर्ण पक्ष कोरोना सारेभन्ने सामाजिक आक्षेप । निज संक्रमितहरु जानेर वा नजानी आफु संक्रमित त भए नै अरुलाई कोरोना सारेको आरोप समेत खप्नु परेको छ ।

घटना २ :”सुपर स्प्रेडर” आरोप

रामेछाप बजारकै एक जना युवा वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । कोरोनाका कारण विविध समस्या झेल्दै सरकारले अन्तरराष्ट्रिय उडान खुला गरे पछि उनी बैदेशिक रोजगारीको विविध कामको लागि रामेछाप स्थित निवास, आफ्नो गाउँ र रामेछाप निकै पटक आफ्नो निजी सवारीमा ओहोर दोहोर गरे । सबै काम सकेर जब अन्तराष्ट्रिय उडानको लागि मापदण्ड अनुसार कोरोना परिक्षण गराए रिपोर्ट पोजेटिभ आयो । सबै कामहरु सकेका उनको वैदेशिक रोजगारको यात्रा अन्तमा आएर कोरोनाको कारण रोकियो । बल्ल बल्ल आँटेको देशमा बैदेशिक रोजगारमा जाने कुरा रोकिएको तनाब त छँदैछ तर अर्को बोझ उनले बोकिरहेका छन् । त्यो हो समाजले उनलाई परिवार, आफन्त र साथीभाईमा “कोरोना सारेको” संगिन आरोप लगाएको छ ।

घटना ३ : असुरक्षित जिल्ला अस्पताल

गत हप्ता मात्रै रामेछाप जिल्ला अस्पतालमा कार्यरत ७ जना स्वास्थ्य कर्मीलाई कोरोना संक्रमण पुष्टि भयो र अस्पताल बन्द गरियो । यसले गर्दा जिल्ला अस्पतालको स्वास्थ्य संरचनामा क्षति पुगेको त छ नै समुदायमा पनि अस्पताल झन् असुरक्षित भएको सन्देश गएको छ । त्यस्तै केहि दिन अघि मानव अधिकार कर्मी एवं पत्रकार नवराज पथिकले रामेछाप जिल्लामा भेन्टिलेटरको कुरा त के आइसियु समेत नभएको र राजधानीमा आइसियु र भेन्टिलेटरको अभाव भएकोले जिल्लामा संक्रमण व्यापक भएमा भगवान् भरोसा मात्रै बाँकी रहने कुरा सनराइजखबर अनलाइनमा लेख्नुभएको थियो । यसले रामेछापमा कोरोना सँग जुध्ने हाम्रो स्वास्थ्य संरचनाको अवस्थालाई जनाउँदछ ।

आउँदै गरेको दशैँ दशा नबोस्:

माथिका घटनाहरु र रामेछापमा फैलदै गरेको कोरोना संक्रमणको घटनाले के जनाउँदछ भने कोरोना रामेछापमा भित्र भित्रै भुसको आगो झैँ सल्किइ सकेको छ । स्मरण योग्य कुरा के छ भने रामेछापमा हाल सम्म धेरै जसो कोरोना पुष्टि भएका नगरपालिका, बैँक, जिल्ला अस्पतालर बैदेशिक रोजगारीको तयारीमा रहेकाको परिक्षणबाट मात्रै देखिएको हो । यसले समुदायमा कोरोना फैलिइसके पनि कति व्यापक छ भन्ने थाहा पाउन सकिदैन । हाल रामेछापमा फैलदै गरेको भाइरसको जरा धेरैजसो काठमाडौँको यात्राबाट आएको देखिन्छ । अब दशैँलाग्न २ हप्ता मात्रै बाँकी भएको र काठमाडौँबाट आगमन पनि वढ्दै जाने भएकोले कोरोना अझै व्यापक हुने निश्चितप्राय छ । रामेछापमा खतराको घण्टी बजिसकेको छ सजता अपनाऔँ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार