रामेछापका ८ वटै स्थानिय तहहरुको कोरोना खर्च,सबैभन्दा बढी खाँडादेवी र कम दोरम्बा

रामेछापका ८ वटै स्थानिय तहहरुको कोरोना खर्च,सबैभन्दा बढी खाँडादेवी र कम दोरम्बा

रामेछाप जिल्लाका ८ वटै स्थानिय तहहरुले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा हालसम्म खर्च भएको रकम सार्वजनिक गरेका छन । २०७६ साल चैत्र ११ गतेदेखि नेपालमा लकडाउन भएदेखि हालसम्मको अवद्यिमा क्वारेन्टिन निर्माण तथा व्यवस्थापन,औषधि खरिद , अलपत्रमा परेका नागरीकहरुको उद्धार लगायतमा खर्च भएको रकम सार्वजनिक गरेका हुन । हालसम्म अवद्यिमा जिल्लाको खाँडादेवी गाउँपालिकाले सबैभन्दा बढी ७५ लाख रुपैयाँ रकम खर्च गरेको छ भने दोरम्बा गाउँपालिकाले सबैभन्दा कम १५ लाख रुपैयाँ खर्च गरेको छ । जिल्लाको अन्य पालिकाहरु मन्थली नगरपालिकाले लगभग ४६ लाख , गोकुलगंगा गाउँपालिकाले लगभग ४२ लाख , लिखुतामाकोशी गाउँपालिकाले २७ लाख , उमाकुण्ड गाउँपालिकाले ६७ लाख र सुनापती गाउँपालिकाको २७ लाख भन्दा बढी रकम खर्च गरेको छ ।

कोरोना रोकथामका लागि रामेछाप नगरपालिकाको खर्च लगभग ७० लाख

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि ६९ लाख २० हजार ९ सय ५२ रुपैयाँ खर्च भएको छ । ९ वटा वडाहरु रहेको नगरपालिकामा सबैभन्दा बढी खर्च क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा २५ लाख ९५ हजार ७ सय १० , आईसोलेसन निर्माण तथा व्यवस्थापनमा ९ लाख ८९ हजार ४ सय ८६ रुपैयाँ खर्च भएको छ । औषधि खरिदमा ७ लाख ७२ हजार १ सय , मानविय श्रोत परिचालन तर्फ भक्तामा २ लाख १३ हजार ८ सय ७० , अन्यमा १ लाख ७८ हजार ५ सय ४५ रुपैयाँ खर्च भएको छ ।

यसैगरी दिर्घरोगीको लागी औषधि वितरणमा १० लाख ४० हजार , यातायात सेवा तर्फ अलपत्रमा परेका नागरीकहरुको उद्धारमा १४ लाख ४५ हजार ४ सय ९० , मास्क खरिदमा २ लाख १९ हजार ३ सय १३ , स्यानिटाईजर खरिदमा ७ लाख ८४ हजार ७२ , पिपिई खरिदमा २ लाख ४० हजार १ सय २५ रुपैयाँ खर्च भएको छ । अक्सिजन सिलिन्डर खरिदमा २० हजार र सर्जिकल सामाग्रीहरु जस्तै (थर्मलगन , थर्ममिटर , पन्जा,कपडाको माक्स ) लगायतको खरिदमा ४ लाख २९ हजार ४ सय १० रुपैयाँ खर्च भएको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म खर्च भएको रकम नगरपालिकाको कोषबाट ५५ लाख , वाग्मती प्रदेशबाट प्राप्त अनुदान १२ लाख , कर्मचारीहरुको तलबबाट कट्टा गरिएको १ लाख ७० हजार ९ सय ५२ र नगरप्रमुखबाट प्राप्त ५० हजार रकम गरी ६९ लाख २० हजार ९ सय ५२ रुपैयाँ खर्च भएको छ ।

कोरोना रोकथामका लागि मन्थली नगरपालिकाको खर्च लगभग ४६ लाख

रामेछाप जिल्लाको मन्थली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि ४५ लाख ९२ हजार ४ सय ७६ रुपैयाँ खर्च भएको छ । १४ वटा वडाहरु रहेको नगरपालिकामा कोरोनाको माहामारी पुर्व तयारीको लागी औषधि तथा सर्जिकल सामाग्री खरिदमा सबैभन्दा बढि रकम खर्च भएको छ । मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फ्ुयाँलले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार नगरपालिकामा क्वारेन्टिन निर्माण, व्यवस्थापन, खाना , खाजा र गाडीमा ११ लाख ६२ हजार ४१ रुपैयाँ खर्च भएको छ ।

हेल्थ डेक्सका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र डिसईन्फेक्सन छर्कने व्यक्तिले खाना खाजा खाए वापत १ लाख १५ हजार १ सय ५० , डिसईन्फेक्सन छर्कने ड्राईभर लगायतका व्यक्तिहरुलाई अतिरिक्त समयमा काम गरेवापत ३६ हजार ६ सय , सेतो गुँरासमा आईसोलेसन केन्द्र व्यवस्थापनमा ३३ हजार ४ सय ३ रुपैयाँ खर्च भएको छ । यसैगरी अक्सिजन तथा अक्सिजन फ्लोमिटर लगायतको खरिदमा १ लाख ८० हजार ८ सय , आई एफ आर थर्मोमिटर , डिजिटल थर्मोमिटर तथा सर्जिकल क्याप र माक्स लगायत खरिदमा ४ लाख २६ हजार , कोरोनाको माहामारी पुर्व तयारीको लागी औषधि तथा सर्जिकल सामाग्री खरिदमा १५ लाख ५७ हजार ७ सय ५ रकम खर्च भएको छ । स्यानिटाईजर , माक्स लगायतका सामाग्री खरिदमा १ लाख ३७ हजार ७ सय ९० र राहत वितरणमा ५ लाख ४६ हजार १ सय ८ रुपैयाँ गरी अहिलेसम्म ४५ लाख ९२ हजार ४ सय ७६ रुपैयाँ खर्च भएकोे स्वास्थ्य शाखा प्रमुख फुयालले बताउनुभयो ।

कोरोना रोकथामका लागि खाँडादेवी गाउँपालिकाको खर्च ७५ लाख

रामेछापको खाँडादेवी गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ को संक्रमण नियन्त्रण र व्यवस्थापनमा ७५ लाखभन्दा बढी रकम खर्च गरेको छ । खाँडादेवी गाउँपालिकाले कारोना संक्रमण नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा ७५ लाख ४ हजार ४ सय ४४ रुपैयाँ बराबरको रकम खर्च गरेको हो । सबैभन्दा बढी कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु मास्क, थर्मलगन, सेनिटाइजर, पीपीइ सेट, औषधीखरिद लगायतका शीर्षकमा ५३ लाख ३९ हजार ९ सय ४६ रुपैयाँ बराबरको रकम खर्च भएको खाँडादेवी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक ओमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

जसमध्ये निःशुल्क औषधी वितरणका लागि गरिएको औषधी खरिदमा ३० लाख रुपैयाँखर्च भएको उहाँले बताउनु भएको छ । हेल्थ डेस्क, स्वयमसेवक टोली वा जनशक्ति परिचालनमा १० लाख १५ हजार रुपैयाँ खर्च भएको छ । यसैगरी क्वारेन्टाइन तथा आइसोलेसन बेड निर्माण तथा व्यवस्थापन र क्वारेन्टाइनमा बसेकाहरुको खाजा, खाना खर्चमा २ लाख ६ हजार ८ सय ८५ रुपैयाँ खर्च भएको छ । यातायात शीर्षकमा १ लाख ५६ हजार रुपैयाँ खर्च भएको छ । भिटिएम तथा आरडिटी किट खरिदमा ८५ हजार रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सबैभन्दा कम राहत वितरणमा ६ हजार ४५ रुपैयाँ खर्च भएको छ । यसैबीच, संघ संस्था तथा व्यक्तिगत रुपमा प्राप्त भएका ६ लाख ९५ हजाार ५ सय ६८ रुपैयाँ बराबरको आवश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको गाउँपालिकाले जनाएको छ । प्रदेशबाट आएको १० लाख र अन्य रकम पालिकाकै बजेटबाट खर्च गरिएको स्वास्थ्य शाखाका संयोजक श्रेष्ठको भनाई छ ।

कोरोना रोकथामका लागि गोकुलगंगा गाउँपालिकाको खर्च लगभग ४२ लाख

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र व्यवस्थापनमा ४१ लाख ८२ हजार ६ सय ५९ रुपैयाँ खर्च भएको छ । ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा सबैभन्दा बढी औषधी एवम् मेडिकल सामाग्री खरिदमा २० लाख ६२ हजार ८ सय २२ रुपैयाँ खर्च भएको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक जागिर रायले ई रामेछापलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले आइसोलेसन तथा क्वारेन्टाइन निर्माणमा ८ लाख ५७ हजार ७ सय ७८ रुपैयाँ र्खच गरेको छ । उपचार व्यवस्थापनमा ३ लाख ९८ हजार ३ सय २० रुपैयाँ र राहत तथा अन्य शीर्षमा ८ लाख ६३ हजार ७ सय ३९ रुपैयाँ गरी हालसम्म ४१ लाख ८२ हजार ६ सय ५९ रुपैयाँ खर्च भएको रायले बताउनुभयो । कोरोना संक्रमण फैलन नदिन पालिकाले विभिन्न कामहरु गर्दै आएको उहाँको भनाई छ ।

कोरोना रोकथामका लागि दोरम्बा गाउँपालिकाको खर्च १५ लाख

रामेछापको दोरम्बा गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनमा जम्मा १५ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले कोरोना संक्रमणको नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा १५ लाख रुपैयाँ बराबरको रकम खर्च गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारबाट आएको १० लाख बजेटबाट ९ लाख रुपैयाँ खर्च गरिएको दोरम्बा गाउँपालिकाले जनाएको छ ।

उक्त रकम आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मास्क, थर्मलगन, सेनिटाइजर, पिपिई सेट खरिद एवम् आइसोलेसन तथा क्वारेन्टाइन व्यवस्थापन र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको खाजा, खाना लगायतका शीर्षकमा खर्च गरिएको दोरम्बा गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक कमल भट्टराईले जानकारी दिनुभयो । संयोजक भट्टराईका अनुसार पालिका अन्तर्गत कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु लगायतको केही दिनको तलब कटौतीबाट जम्मा भएको ७ लाख रुपैयाँ रकमबाट सरकारले जारी गरेको लक डाउनका समयमा राजधानीमा अलपत्र परेका नागरिकहरुको उद्वारमा खर्च गरिएको उहाँले बताउनुभयो ।

लिखुतामाकोशी गाउँपालिकाले खर्च गर्यो कोरोना रोकथामका लागि २७ लाख

रामेछापको लिखु तामाकोशी गाउँपालिकाले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा व्यवस्थापनमा २७ लाख खर्च गरेको छ । गाउँपालिकाले कोरोना संक्रमणको नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा सो बराबरको रकम खर्च गरेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जय प्रकाश रायले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मास्क, थर्मलगन, सेनिटाइजर, पिपिई सेट खरिदमा लगभग १७ लाख रकम खर्च भएको छ । यसैगरी आइसोलेसन तथा क्वारेन्टाइन व्यवस्थापन र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको खाजा, खाना लगायतको शीर्षकमा ५ लाख रकम खर्च भएको छ । लकडाउनको समयमा अलपत्रमा परेका नागरीकहरुको उद्धारमा ३ लाख र अन्य शिर्षकमा २ लाख रुपैयाँ खर्च भएको स्वास्थ्य शाखा प्रमुख रायले बताउनुभयो ।

उमाकुण्ड गाउँपालिकाले खर्च गर्यो कोरोना रोकथामका लागि ६७ लाखभन्दा बढी

रामेछापको उमाकुण्ड गाउँपालिकाले कोरोना संक्रमण रोकथाम , नियन्त्रण र व्यवस्थापनमा ६७ लाख रुपैयाँ भन्दा बढी रकम खर्च गरेको छ । कोरोना संक्रमण रोकथाम , नियन्त्रण र व्यवस्थापनमा गाउँपालिकाले हालसम्मको अवद्यिमा यतिको रकम खर्च गरेको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख दिपेन्द्र पैकडाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण तथा अलपत्रमा परेका नागरिकहरुको उद्धार र पालिका अन्तर्र्गतका दीर्घ रोगीहरुलाई निःशुल्क औषधी वितरण लगायतका कार्यक्रममा ६७ लाख ३५ हजार ९ सय ८४ रुपैयाँ बराबरको रकम खर्च गरेको हो ।

पालिकाले क्वारेन्टाइन, हेल्थडेस्क निर्माण र व्यवस्थापनमा ७ लाख ३३ हजार १ सय ४७ रुपैयाँ खर्च गरेको छ । देशको विभिन्न स्थानमा लक डाउनको समयमा समस्यामा परी अलपत्र परेका नागरिहरुको उद्धारमा २१ लाख २७ हजार ९ सय ५० रुपैयाँ बराबरको रकम खर्च गरेको छ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सतर्कताका सामाग्रीहरु मास्क, सेनिटाइजर, पिपिई सेट, थर्मलगन र पालिका अन्तर्गतका दीर्घरोगीहरुलाई ३ महिना सम्मको लागि वितरण गर्नका लागि खरिद गरिएका औषधी लगायतका सामाग्री खरिदमा ३२ लाख ९५ हजार ३ सय ३१ रुपैयाँ बराबरको रकम खर्च भएको छ ।

क्वारेन्टाइन र हेल्थडेस्कमा भएको खाना, खाजा तथा अन्य व्यवस्थापनमा ५ लाख ७९ हजार ५ सय ५६ रुपैयाँ बराबरको रकम र्खच भएको स्वास्थ्य शाखाका संयोजक पैकडाले जानकारी दिनुभयो । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारबाट आएको १० लाख र अन्य रकम पालिकाको बजेटबाट खर्च गरिएको उहाँले बताउनुभयो ।

कोरोना रोकथामका लागि सुनापती गाउँपालिकाको खर्च २७ लाख बढी

रामेछापको सुनापती गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ को संक्रमण नियन्त्रण र व्यवस्थापनमा २७ लाखभन्दा बढी रकम खर्च गरेको छ । सुनापती गाउँपालिकाले कारोना संक्रमण नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा २७ लाख ६३ हजार ८ सय २३ रुपैयाँ बराबरको रकम खर्च गरेको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक अर्जुन श्रेष्ठले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार उक्त रकम आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मास्क, थर्मलगन, सेनिटाइजर, पिपिई सेट खरिद एवम् आइसोलेसन तथा क्वारेन्टाइन व्यवस्थापन र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको खाजा, खाना लगायतका शीर्षकमा खर्च गरिएको हो ।

गाउँपालिकाले मास्क , पन्जा , स्यानिर्टाजर , साबुन औषधि तथा सर्जिकलन सामाग्री ,असंगठित कामदार, वेरोजगारीलाई राहत तथा उद्धारमा १७ लाख ६३ हजार ८ सय २३ रकम खर्च गरेको छ । यसैगरी हेल्थ डेस्क तथा प्रचारप्रसार , यातायात र अन्य विविध शिर्षकमा १० लाख रुपैयाँ रकम खर्च भएको स्वास्थ्य शाखा संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार