म हिँडिरहेँ ( कविता )

म हिँडिरहेँ ( कविता )

मेरो जीवन संघर्ष देखेर
कतिले मलाई गिज्याए
बाटोभरि रमिता हेर्दै कति हाँसे
समयको खेल नै यस्तो
म जिउँदाजिउँदै मरिरहेँ ।

म हिँडाइमा–
जीवन खोज्ने मान्छे
कतिले मेरो हिँडाइ जोखे
कतिले मलाई कुरूप ठाने
दैवको लीला नै यस्तो
म जित्दाजित्दै हारिरहेँ ।

मेरो ह्वीलचिअर हिँड्दैछ
मेरो हिडाइमा कतिले
व्यङ्ग्य हाने
कतिले रमिता हेरे
कतिले मेरो हिडाइ
बाङ्गिएको देखे
नियतिको छल नै यस्तो
म छटपटिँदै बाँचिरहेँ ।

म हिँड्न मन पराउने मान्छे
म जसरी पनि हिँडिरहँे
व्यङ्ग्य वाण हान्दाहान्दै पनि हिँडेँ
रमिता हेर्दाहेदै पनि हिँडेँ
अनि
जिन्दगी भोगाइसँग
संघर्ष गर्दै
र, थाक्दाथाक्दै पनि हिँडिरहँे ।

हिँड्ने मान्छे लड्छ
म लड्दै हिडेँ
लडाउने मान्छे हाँस्छ
म हाँसेको देख्दादेख्दै हिँडेँ
संसारको रीत नै यस्तो
जीवन एक संघर्ष
संघर्ष हुँदाहुदै पनि
म हिँडिरहेँ ।

बिनोद कुमार श्रेष्ठ , रामेछाप ।    

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार