देवशंकर पौडेल
घरमा हजुरबा हजुर आमा साँघुटार बजारको बारेमा आफुले बुझेका कुरा गर्नुहुन्थ्यो । उहाँहरूले नचिनेको घर थिएन । हामी सवैले सायद साँघुटार बारे पूर्वज्ञान घरघरै पाएका थियौं । साँघुटार बस्दा विभिन्न गाउँका बुढापाकाहरूले आपसमा गरेका गफ र कथनहरू सारै रोचक र घतलाग्दा हुन्थे । हामी छेउछाउमा बसेर ती कुराहरू ध्यान दिएर सुन्थ्यौं । अग्रजहरूबाट सम्भावना र चुनौति दुवै भएको ठाउँमा बजार बसाउने चेतना जन्मिएको कथा सुन्न पाइन्थ्यो । ऐतिहासिक तथ्य भए पनि हामीलाई कथा जस्तो लाग्थ्यो ।
आज भन्दा झन्नै ९२ बर्ष पहिले ओखलढुङ्गा अदालतमा चिसापानीका गुञ्जदाश श्रेष्ठ, गोठपानीका देवीदास श्रेष्ठ (जुँगे बैदार) दुवैजना बैदार पदमा जागिरे थिए । भक्तपुरका शङ्खलाल भौकाजी ओखलढुङ्गा बजारमा ब्यापार गरेर बसेका थिए । यी तीनैजना एकापसमा नातेदार पनि थिए । दुई बैदारलाई ब्यापारको अनुभव थिएन । शङ्खलाल भौकाजीलाई ब्यापारको अनुभव थियो । जागिर पछि बैदारहरूले ब्यापार गर्ने सल्लाह गरे । ब्यापारका अनुभवी शङ्खलाललाई अगुवा बनाएर तीनै भाइले साँघुटारको पुलको मुखमा एकसाथ ब्यापार सुरुगरे ।
वि.सं. १९८५ साल तिर तीनै जनाले थाक्ले बेशीको बगरमा दिउँसो दिउँसो पसल थाप्न थाले । बेलुका बेलुका बासबस्न देवीदासको निवास ठाडाखोला पुग्ने गरे । शङ्खलालका कतिपय सन्तान ठाडाखोलामै जन्मिए । गुञ्जदास भने बेलुका बेलुका थाक्लेतिर बसे । सुरुसुरुमा दहि, चिउरा, सखर, सुर्ती, माटाका भाँडा, चुरा, कपडा र किनारा पसल बसाले । कालान्तरमा त्यसले बजारको रुप लियो र थाक्ले बेशी हरायो । नर्वदेश्वर मन्दिरबाट टापु जोड्ने लिखुमा फलामे साङ्ले साँघु थापिएको रहेछ । त्यसलाई साँघुटार भन्दा रहेछन् । तल पुल बनेपछि त्यहि नामबाट थाक्ले बेशी साँघुटारमा बदलिएछ ।
त्यसवेला अस्थाई छाप्रे पसलबाट विस्तारै ससाना घर सहितको बजारको रुप लिन थाल्यो । ससाना घर भएको बगरमा शङ्खलालका प्रतिभावान छोरा भीमबहादुर भौकाजीको शिप र कौशलताले काठमाण्डू शहरको जस्तो एउटा घर तयार गरे । त्यसकै नक्कल बजारका अरु घरहरूले पनि गर्दै गरे । हामीले देख्दा एकै आकारका अनारका दाना जस्ता मिलेका घरहरू भएको साँघुटार रामेछापकै नमुना बजार बन्यो ।
यसै पनि लिखु खोलेहरूका लागी साँघुटार बजार आधुनिक शहर जत्तिकै थियो । सभ्यताको अग्रणी पनि थियो । त्यस वेलाको साँघुटार दार्जीलिङ्गे शिक्षक तिलविक्रम रोकाको पदचापका कारण शैक्षिक जागरणले उचाई लिएको थियो । स्थानीय तहमा गुञ्जदास श्रेष्ठ, हरिबहादुर भौकाजी, भीमबहादुर भौकाजी, गोपालदास भौकाजी, शम्भुदास श्रेष्ठ, ज्ञानबहादुर कर्माचार्य, केदार भौकाजी, बद्रीदास भौकाजी, कृष्णबहादुर बुढाथोकी, धर्मानन्द वाग्ले, राजकुमार श्रेष्ठ, भक्तबहादुर कुमाल, जोतिषी टीकाप्रसाद ढकाल अनि स्थानीय जिम्मुवाल मुखिया नरहरि, बालकृष्ण ढकाल, नेत्रप्रसाद सुवेदीहरूको अबिभावकत्व प्राप्त थियो ।
कला संस्कृतिले उचाइ लिएको थियो । नर्मदेश्वर मन्दिर साँघुटारको महत्वपूर्ण गहना थियो/छ । यहाँ पर्वपर्वमा साँस्कृतिक झाँकीहरू देखाइन्थ्यो । ईंटा-टायल बनाउने अवाले, माटाका भाँडा बनाउने कुमाल, सुनका गरगहना बनाउने बज्राचार्य, कपडा पसल, तामा-पितलका भाँडाकुँडा बनाउने ताम्राकार, सिलाई बुनाई, जे.टि.ए.को सुविधा, स्टेसनरी, आधुनिक सिलबन्दी मदिरा डिलर, खाजा-खाना खाने होटल, घरेलु सेतो कपडा (खाँडी) मा बुट्टा छिप्ने छिपी, प्रहरी चौकी, हेल्थ सेण्टर, हिमगङ्गा पुस्तकालय, हिमनाटक मण्डल, राष्ट्रिय बाणिज्य बैंकको सटही काउण्टर, प्रत्येक बर्ष खुल्ने भारतीय पेन्सन क्याम्प, साप्ताहिक हाट, पर्वपर्वमा जात्रा, तिहारमा खुलेआम जुवा (सोह्र कौडा) आदि सवै सामाजिक अवयवले परिपूर्ण थियो, साँघुटार बजार । भौगोलिक अवस्था र बर्तमान विकासका पूर्वाधारको सूचकाङ्कतर्फ विचार गर्दा जुवा बाहेक साँघुटारमा सवै उज्याला पक्षहरू थिए ।
विद्यालयको औपचारिक शिक्षाका अतिरिक्त लिखु खोलाको सभ्यताको केन्द्रको रुपमा विकसित साँघुटारका उल्लेखित सामाजिक अलङ्कारहरूले हामीहरू सवैलाई निरन्तर अनौपचारिक शिक्षा दिइरहेका हुन्थे । सानो समस्या पर्यो कि साँघुटारले आकर्षित गरिहाल्थ्यो । अव पनि साँघुटार लगायत सम्पूर्ण लिखु उपत्यका, पुष्पलाल (मध्यपहाडी) राजमार्ग र सोझै महेन्द्र राजमार्गतर्फ जोडिंदैै छ । यसले साँघुटारलाई पुनः पुरानो बर्चस्वको स्थान भन्दा पनि उचाईमा पुर्याउँदै छ । अहिले साँघुटार आफ्नो उन्नतिकालागी दक्षिण र पश्चिम दिशातर्फबाट हुने उन्नतिको अरूणोदय निहाली रहेको छ ।
(देवशंकर पौडेलको सामाजिक सन्जालबाट )