रामेछापका स्थानिय तहहरुको बेरुजु ४० करोड ३३ लाख

स्थानिय तहहरुको बेरुजु अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा बढीले वृद्धि

रामेछापका स्थानिय तहहरुको बेरुजु ४० करोड ३३ लाख

स्थानिय तहहरुको बेरुजु अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा बढीले वृद्धि

महालेखा परिक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ लेखापरिक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ मा रामेछापका स्थानिय तहहरुको बेरुजु अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा बढीले वृद्धि भएको पाइएको छ । महालेखा परिक्षकको कार्यालयले प्रकाशन गरेको५७ औँ वार्षिक प्रतिवेदन २०७७ अनुसाररामेछापका स्थानीय तहहरु मध्ये खाँडादेवी गाउँपालिकाको सबै भन्दा बढी र रामेछाप नगरपालिकाको सबै भन्दा कम बेरूजु रहेको छ । जिल्ला समन्वय समिति रामेछाप भने बेरुजु शुन्य बनाउन सफल भएको छ ।

बेरुजुको अग्रपङ्तिमा खाँडादेवी, मन्थली र गोकुलगंगा पछ्याउँदै

महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा भएका कारोबार मध्ये खाँडादेवी गाउँपालिकाको १ अर्ब १४ करोड ३६ लाख ४५ हजार रुपैयाँको लेखापरिक्षण गरेको थियो जसमा १३ करोड २४ लाख ८७ हजार रुपैयाँ बेरुजु देखिएको छ । जुन कुल लेखा परिक्षण रकमको ११ दशमलब ५८ प्रतिशत हुन आउँछ । खाँडादेवी गाउँपालिकाको अघिल्लो वर्ष पनि जिल्लाका अन्य पालिकाहरु भन्दा बढी अर्थात् ५ करोड ३२ लाख ८६ हजार रुपैयाँ बेरुजु रहेको थियो जुन कुल लेखा परिक्षण रकमको ६ दशमलब ७६ प्रतिशत हुन आउँछ ।

त्यसैगरी जिल्लाको प्रमुख स्थानिय तह मन्थली नगरपालिकाको बेरुजु खाँडादेवी पछि दोस्रो नम्बरमा रहेको छ । महालेखा प्रतिवेदन अनुसार मन्थली नगरपालिकाको १ अर्ब ७७ करोड ४६ लाख ३४ हजार रुपैयाँ बराबरको लेखापरिक्षण गरेकोमा १२ करोड ४ लाख ८५ हजार रुपैयाँ बेरुजु रहेको छ जुन ६ दशमलब ७९ प्रतिशत हुन आउँछ । मन्थली नगरपालिकाको यो बेरुजु रकम अघिल्लो वर्षको तुलनामा निकै बढी हो । महालेखाको ५६ औँ प्रतिवेदनमा मन्थली नगरपालिकाको १ करोड ३५ लाख ७७ हजार रुपैयाँ अर्थात कुल लेखापरिक्षण रकमको १ दशमलब ११ प्रतिशत मात्र बेरुजु रहेको थियो ।

बेरुजु रकमको तेस्रो नम्बरमा गोकुलगंगा गाउँपालिका रहेको छ, जसको बेरुजु रकम ७ करोड ९६ लाख ५० हजार रुपैयाँ रहेको छ । यस बेरुजु रकम लेखापरिक्षण गरिएको जम्मा रकम ८५ करोड ८५ लाख ४९ हजार रुपैयाँको ९ दशमलब २८ प्रतिशत हुन आउँछ । गोकुलगंगा गाउँपालिकाको पनि अघिल्लो वर्षको तुलनामा बेरुजु बढेको देखिन्छ जसको आर्थिक वर्ष २०७४/०७५ मा १ करोड ३४ लाख ६५ हजार बेरुजु रहेको थियो जुन कुल लेखा परिक्षणको २ दशमलब ३३ प्रतिशत हुन आउँछ ।

अघिल्लो वर्षको तुलनामा बेरुजु बढाउनेमा सुनापति गाउँपालिका पनि रहेको छ । यस गाउँपालिकाको लेखापरिक्षण भएको ८२ करोड १४ लाख २३ हजार रुपैयाँ मध्ये ३ करोड ८७ लाख ६० हजार रुपैयाँ अर्थात् ४ दशमलब ७२ प्रतिशत बेरुजु रहेको छ । अघिल्लो वर्ष सुनापतिको बेरुजु ३ दशमलब ९२ अर्थात् २ करोड १७ लाख ८७ हजार रुपैँयाँ बेरुजु रहेको थियो ।

बेरुजु घटाउँदै रामेछाप नपा, दोरम्बा र उमाकुण्ड गाउँपालिका

महालेखाले आर्थिक वर्ष २०७५/०७६ को लेखापरिक्षण गरेका रामेछापका पालिकाहरु मध्ये रामेछाप नगरपालिकाको सबै भन्दा कम बेरुजु रहेको छ । रामेछाप नगरपालिकाको लेखा परिक्षण भएको कुल १ अर्ब १५ करोड २२ लाख ६४ हजार रुपैयाँ मध्ये ६७ लाख ६३ हजार अर्थात् ० दशमलब ५९ प्रतिशत मात्र बेरुजु रहेको पाइको छ । यस भन्दा अघिल्लो वर्ष रामेछाप नगरपालिकाको २ करोड ३४ हजार अर्थात् २ दशमलब २६ प्रतिशत बेरुजु पाइएको थियो ।

बेरुजु घटाउनेको दोस्रो नम्बरमा दोरम्बा गाउँपालिका रहेको छ । दोरम्बाको बेरुजु ७३ लाख २१ हजार रुपैयाँ अर्थात् कुल लेखापरिक्षण रकम ९९ अर्ब २१ लाख रुपैयाँको ० दशमलब ७४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष दोरम्बाको बेरुजु जिल्लाका अन्य पालिकाको तुलनामा सबैभन्दा कम १ दशमलब ७१ प्रतिशत अर्थात् १ करोड ७ लाख ६ हजार रुपैयाँ मात्र रहेको थियो ।

त्यस्तै उमाकुण्ड गाउँपालिकाको पनि बेरुजु अघिल्लो वर्षको तुलनामा घटेको छ भने अन्य पालिकाको तुलनामा कम बेरुजु हुने तेस्रो पालिका बनेको छ । उमाकुण्डको कुल लेखा परिक्षण भएको ७९ करोड २१ लाख ८ हजार रुपैयाँ मध्ये १ करोड ७९ लाख १० हजार रुपैयाँ अर्थात् २ दशमलब २६ प्रतिशत बेरुजु देखिएको छ । अघिल्लो वर्ष यस पालिकाको बेरुजु ३ करोड ६३ लाख ६५ हजार रुपैयाँ अर्थात् ६ प्रतिशत रहेको थियो ।

जिल्ला समन्वयको बेरुजु शुन्य, पालिकाहरुको कुल बेरुजुकरिब साँढे ४० करोड

यतिका पालिकाको कुराकानी गरिसके पछि लिखु तामाकोशी गाउँपालिकाको चाहिँ हिसाब खै त? भन्ने पनि लाग्न सक्छ । महालेखा परिक्षकको ५७ औँ प्रतिवेदन अनुसार लिखु तामाकोशी गाउँपालिकाले लेखापरिक्षण गराउन सकेको छैन । महालेखाकै ५६ औँ प्रतिवेदनमा भने आर्थिक वर्ष २०७४/०७५ मा लिखु तामाकोशी गाउँपालिकाको बेरुजु ४ करोड ६२ लाख पचास हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ ।

विकास बजेट नहुने र पालिकाहरु बीच समन्वय गर्ने भुमिकामा रहेको जिल्ला समन्वय समितिको भने यसपालि बेरुजु शुन्य रहेको छ । महालेखाको वार्षिक प्रतिवेदन २०७७ अनुसार जिल्ला समन्वय समिति रामेछापको बेरुजु छैन । अघिल्लो वर्ष भने जिसस रामेछापको १० हजार रुपैयाँ बेरुजु रहेको थियो ।

यस विवरणका आधारमा आर्थिक वर्ष २०७५/०७६ मा जिल्ला भरका ७ वटा पालिकाले गरेका ७ अर्ब ५३ करोड ४७ लाख २३ हजार रुपैयाँ कारोबारको लेखा परिक्षण भएकोमा ४० करोड ३३ लाख ७६ हजार रुपैयाँ अर्थात् ५ दशमलब १३ प्रतिशत बेरुजु देखिएको हो । त्यसै गरी अघिल्लो वर्ष लिखु तामाकोशी सहित ८ वटै पालिकाको २१ करोड ५४ लाख ७० हजार अर्थात् कुल लेखापरिक्षणको ३ दशमलब ८ प्रतिशत बेरुजु रहेको थियो ।

महालेखा परिक्षक कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा भएका कारोबारको लेखा परिक्षण गरी”५७ औँ वार्षिक प्रतिवेदन २०७७” गत असार मसान्तमा राष्ट्रपतिलाई बुझाएको थियो । एक वर्ष लगाएर गरिएको लेखापरिक्षणले नमुना परिक्षण विधि (स्याम्पल मेथड) बाट लेखा परिक्षण गरेकाले बेरुजु अझ बढि हुन सक्ने र पालिकाहरुको आन्तरिक लेखा परिक्षणलाई मजवुत बनाउनु पर्नेमा महालेखा परिक्षकको प्रतिवेदनले जोड दिएको छ ।

स्मरण योग्य कुरा के छ भने मध्यम स्तरका धेरै पालिकाको वार्षिक बजेट ५० करोडको हाराहारीमा रहेको छ भनेरामेछाप जिल्ला भरका पालिकाको कुल बेरुजु साँढे ४० करोडको हाराहारीमा देखिन्छ । त्यसै गरी सबै भन्दा कम बेरुजु रहेको रामेछाप नगरपालिकाको बेरुजु साँढे ६७ लाख रुपैयाँ रहेको छ, जुन एक वडाको वार्षिक वजेटकै हाराहारीमा हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार