पूर्वीय संस्कृति सबैभन्दा पुरानो, समृद्ध र वैज्ञानिक छ। चाडपर्व, परम्परा र पूजाआजालाई संस्कृतिअनुसार नै पूरा गर्छौं । हरेक चाडपर्वको वैज्ञानिक महत्व छ, हाम्रा हरेक चाडपर्व जीवनशैली, खानपान, बाली र प्रकृतिमा आएको परिवर्तनमा आधारित हुन्छन् । हाम्रा चाडपर्वहरूमा पौराणिक कथाहरू उल्लेख भएसँगै खगोलीय घटनाहरू, पृथ्वीको वातावरण, मानव मनोविज्ञान र सामाजिक कर्तव्यहरूका पाठहरू पनि झल्किन्छन्। हाम्रो जीवनमा सबै चाडपर्वहरुको गहिरो महत्व छ । यी सबै चाडपर्वहरू हाम्रो सभ्यता र संस्कृतिमा यसरी गाँसिएका छन् कि यिनैबाटै यथार्थमा मेलमिलापपूर्ण समाजको निर्माण हुन्छ । सांस्कृतिक एकताको सबैभन्दा ठूलो सम्पदा हुनुका साथै हाम्रा चाडपर्वहरू अर्थतन्त्रको पांग्रा पनि हुन् ।
हाम्रा पुर्खाहरूले हाम्रो संस्कृतिमा यी चाडपर्वहरूमा आर्थिक र सामाजिक गतिविधिहरू धेरै राम्रोसँग जोडेका छन्। चाडपर्वमा ठूलो मात्रामा मेला लाग्छन्, बजार भरिन्छन्, साना–ठूला सहरमा विभिन्न किसिमका कार्यक्रम आयोजना हुन्छन्, मानिसले किनमेल गर्ने गर्छन् । उनीहरुले घर सजाउने, नयाँ लुगा लगाउने, नयाँ सवारीसाधन किन्ने लगायतका धेरै कामहरु जुन वास्तवमा उत्साहका साथ गरिन्छ तर आर्थिक गतिविधिसँग राम्ररी जोडिएको हुन्छ । एक हिसाबले यो चाड हाम्रो धर्म संस्कृति र अर्थतन्त्रको सबैभन्दा पुरानो चक्र हो । यसले धनीलाई खर्च गर्ने र गरिबलाई नयाँ आम्दानी गर्ने अवसर दिन्छ।
भदौ महिना लागेसँगै नेपालीका मुख्य चाडपर्वहरु सुरु भएका छन् । नागपञ्चमी तथा जनैपूर्णिमा र रक्षाबन्धन सकिइसकेको छ । अब केही दिनमै कृष्ण जन्माष्टमी र बाबुको मुख हेर्ने औंसी (कुशे औंसी) आउँदैछ । त्यसपछि लगत्तै नेपाली महिलाहरुले मनाउने तीज पर्वको रमझम सुरु हुन्छ । तीजपछि नेपालीहरुको सबैभन्दा महत्वपूर्ण चाड दशैँको चहलपहल सुरु हुन्छ । १५ दिनसम्म मनाइने दशैं सकिएको २ सातापछि तिहारको रमझम सुरु हुन्छ । तिहारपछि छठ पर्वको रौनक नेपालमा देखिन्छ । हरिबोधिनी एकादशी, उँधौली, क्रिसमस, ल्होसारलगायत चाडपर्व क्रमशः आउने गर्दछ । बहुजाति, बहुभाषी, बहुधार्मिक र बहुसंस्कृति भएको हाम्रो देशमा धेरै चाडपर्व मनाउने गरिन्छ । वर्षैभरि विभिन्न जाति र जनजातिको चाडपर्व पर्ने भए पनि भदौदेखि कात्तिकसम्मको ३ महिनामा नेपालीहरुको मुख्य चाडपर्वका साथै बाक्लै चाडपर्व मनाइन्छ । चाडपर्वले हाम्रो मौलिक पहिचान कायम गर्नुका साथै पारिवारिक र सामाजिक सद्भाव वृद्धिका लागि सहयोग गरिरहेको हुन्छ ।
चाडपर्वको बेलामा बजारमा चहलपहल पनि बढ्छ । अन्य समयमा भन्दा चाडपर्वको बेलामा बजारमा विभिन्न वस्तु किनमेलका लागि उपभोक्ताको उपस्थिति बाक्लो हुने गर्दछ । बजारमा उपभोक्ताको चहलपहल बढ्दा विभिन्न वस्तुको माग पनि बढ्ने गर्दछ । बजारमा वस्तुको माग बढ्ने क्रममा मूल्य पनि बढ्ने गरेको छ । बजारमा मागको तुलनामा आपूर्तिमा सन्तुलन ल्याउन नसक्दा वस्तुको मूल्य वृद्धि हुने सम्भावना अधिक रहन्छ । माग बढेको समयमा आफूसँग भएको वस्तुको मूल्यवृद्धि गर्न व्यवसायी पनि अग्रसर हुने गरेका छन् । यसकारण अन्य समयमा भन्दा चाडपर्वको समयमा बजारमा मूल्यवृद्धि, कृत्रिम अभाव, कालाबजारी, मिसावट तथा गुणस्तरहीन वस्तुको कारोबार हुने सम्भावना बढी रहन्छ । कतिपय व्यवसायीले नबिकेका, न्यून गुणस्तरका र मिसावट भएका वस्तु बिक्री गर्न यस्तै मौका कुरिरहेका हुन्छन् ।
चाडपर्वको समयमा बजारमा देखिने अव्यवस्थाले उपभोक्ताहरु मारमा पर्ने गरेका छन् । बजारमा देखिने अव्यवस्था र विभिन्न प्रकारका अनियमितता कम गर्न बजार अनुगमन र कारबाही एउटा महत्वपूर्ण उपाय हुनसक्छ । उपभोक्तालाई बजारमा असहजता हुन नदिन र बजारमा हुने अनियमितता रोक्न थुप्रै नियमनकारी निकायको व्यवस्था राज्यले गरेको छ । यस्ता नियमनकारी निकायले बजारलाई सुव्यवस्थित बनाउन समय–समयमा बजार अनुगमन गर्नु आवश्यक छ । अझ चाडपर्वको समयमा बजारमा बढी नै उपभोक्ताको चहलपहल र खरिद–बिक्री हुने भएकाले अनुगमनलाई व्यापक बनाउनु आवश्यक छ । नियमित बजार अनुगमनसँगै दोषीलाई कारबाही गरिँदा बजारमा हुने गरेका तमाम विकृति र कालोबजारीको अन्त्य गर्न सकिन्छ । विगतका वर्षहरुमा पनि चाडपर्वको समयमा बजार अनुगमनको क्रम बढ्ने गरेको थियो । चाडपर्वको समयमा केही दिन गरिने बजार अनुगमन चाडपर्व सकिएसँगै सुस्त बनिदिँदा बजारलाई नियमन गर्न सकिएको छैन ।
बजारमा सबैजसो वस्तु तथा सेवाको मूल्य वृद्धि भइरहेको छ । अहिले पनि बजारमा तरकारी, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको बजार मूल्य आकाशिएको छ । अझ चाडपर्व नजिकिँदै जाँदा चाडपर्व विशेषमा बढी माग हुने वस्तुको बजार मूल्य अस्वभाविक वृद्धि हुने सम्भावना उत्तिकै छ । अनुमगनका क्रममा व्यवसायीलाई दिइएका निर्देशनहरु केही दिनपछि पालना नहुने परिपाटी बजारमा विद्यमान छ । आक्कलझुक्कल हुने मौसमी अनुगमनले बजारमा कुनै सुधार हुन सकेको छैन । चाडपर्वलाई कतिपय व्यवसायीले मौकामा चौका हान्ने अवसरको रुपमा प्रयोग गर्ने भएकाले आम उपभोक्तासँगै नियमनकारी निकाय बढी चनाखो बन्नुपर्ने देखिन्छ । चाडपर्वको बेलामा केही व्यवसायीले गर्ने कालोबजारी र अनियमितताले अन्य व्यवसायीलाई समेत असर पुग्ने भएकाले यस्ता व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन अन्य व्यवसायी र तिनका संघसंस्था पनि जिम्मेवार हुनु आवश्यक छ ।
जब जब चाडपर्व शुरु हुन्छ, अनि अनुगमन शुरु गर्ने त्यो पनि प्रचारका हिसाबले गरिने गरेका कारण प्रभावकारी हुननसकेको सत्य हो । तीज, दशैं तिहारजस्ता ठूला पर्वहरु शुरु हुनुअघि अनुगमन हुने एक प्रकारको परम्पराजस्तै भएको र व्यापारीहरुले पनि पूर्वसूचना पाएजस्तै गरी बसेका हुन्छन् । अहिले चाडपर्व शुरु भइसकेका छन् । स्थानीय तहदेखि जिल्ला प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसहित विभिन्न निकायहरुले अनुगमन शुरु गरेका छन । बिशेषगरि दैनिक उपभोग्य बस्तुहरुको व्यापरमा प्रशासन र स्थानीय तहहरुले अनुगमन गर्ने गरेका हुन । यस्ता अनुगमन केवल औपचारिकतामा मात्रै सीमित हुने गरेका छन् । यस्ता अनुगमनले उपभोक्ता ठग्न माहिर व्यापारीलाई केही गर्न सकेको छैन ।
केही समयअघि प्रशासनको नेतृत्वमा दुध, मासु पसल, मिष्ठान्न पसल तथा होटल लगायतका दैनिक उपभोग्य बस्तुहरुको व्यापर गर्ने पसलमा अनुगमन गरिएको थियो । त्यो अनुगमनमा केहि पसलहरुले नापतौलमा ठगि गरेको, गुणस्तर कायम गर्न नसकेको भनेर नगरले सचेत गरायो, प्रशासनले पत्र नै काट्यो । तर, त्यो केवल औपचारिकतामा मात्रै सीमित भयो । कसैलाई पनि कारवाही गरेको भनेर सूचना बाहिर आएनन् । केही समयअघि बुटवलका दुध र मासु पसलको अनुगमन भएको छ । त्यो अनुगमनमा मूलत मासु पसलमा भएको डरलाग्दो विवरण बाहिर आयो तर अर्को दिनदेखि ती पसलहरु उही गतिमै पुरानै ढर्रामा काम थाले । अहिले पनि खुलेआम रुपमा मासुको व्यापार चोकमा राखेर भइरहेको छ त्यसलाई नियमन गर्ने कुनै निकाय छैन अर्थात त्यो दिनको अनुगमन मात्रै प्रचारको थियो । अनुगमन गर्ने वित्तिकै मापदण्ड विपरित र अस्वथकर बस्तु उपभोक्तालाई विक्रि गर्ने गरेको पाइए पनि उनीहरुमाथि कुनै नैसियत दिएको विषय उपभोक्ताले जानकारी पाउनेगरी बाहिर नआउँदा अरु गल्ती गर्नेहरुको मनोबल बढिरहेको छ ।
यस्ता व्यापारीले उपभोक्ताको स्वास्थ्यमाथी गम्भीर खेलवाड गर्दा पनि कारवाहीको दायरामा ल्याउन नसक्नु प्रशासन र स्थानीय तहको कमजोरी छ मात्रै होइन यसबाट हुने कमाएको भागवण्डामाथि नै प्रश्न उठेको छ । यो विषय यो अनुगमनमा व्यपारीहरुकै संलग्नता भएबाट पनि यसको प्रभावकारिता प्रष्ट हुन्छ । व्यापारी पनि हुने र आफैं अनुगमनमा हिंड्ने विषयले दोहोरो भूमिकाको अर्थ लाग्ने गरेको छ । त्यसो त यसमा सबै गलत नै प्रवृतिका व्यक्ति हुन्छन् भन्ने छैन । तर, यहाँ भने उनीहरु नै उपभोक्ताको नाममा अनुगमनमा जादा सर्वसाधरणले प्रशासन र स्थानीय तहले गर्ने अनुगमनमा नै प्रश्न उठेपछि स्थानीय तहले त्यसमा ध्यान दिन जरुरी छ ।
स्थानीय आवश्यकतालाई हेरेर कडा कानुन बनाएर वडास्तरीय सन्जाल बनाएर पनि अनुगमनलाई नियमित गर्नसकिन्छ, यसले गर्दा व्यापारी र उपभोक्ता आफै सचेत हुने अवस्था आउँछ । पहिलो विषय त अब अनुगमनलाई बालीघरेजस्तै पर्व विशेषमा केन्द्रित गर्दा यसबाट लाभ उठाउनेहरुले पूर्वसर्तकता गरेर उम्कन्छन् । यसलाई नियमित छड्के अनुगमन नगर्दासम्म र योजनावद्ध उपभोक्तामाथि गरिएको खेलवाडलाई कडा कारबाही नगर्दासम्म यसले सार्थकता पाउँदैन । अर्कोतर्फ संघ तथा प्रदेशका कानुनलाई मात्रै हेरेर हामीलाई कारबाही गर्ने अधिकार छैन भनेर स्थानीय सरकार उम्कने काम गर्नुहुँदैन ।
बजारलाई प्रतिस्पर्धी, अनुसासित, मर्यादित तथा उपभोक्तामुखी बनाउन गरिने यस्ता अनुगमन कार्य वर्षभरि नै गरिनुपर्ने देखिन्छ । अनुगमन भनेको बजारलाई प्रतिस्पर्धी अनुशासित, मर्यादित तथा उपभोक्तामुखी बनाउने हुनुपर्छ । यसो गर्ने मुख्य जिम्मेबारी राज्य र व्यवसायी स्वयम्को हुन्छ । यसमा उपभोक्तको भूमिका पनि महत्वपूर्ण हुन्छ । उपभोक्ताले बजारमा उपलब्ध वस्तु तथा सेवा आँखा चिम्लेर मात्रै प्रयोग गर्ने गर्नु हुँदैन । गुणस्तरहीन वस्तु तथा सेवाको प्रयोगबाट पर्ने क्षतिको भरपाई कतैबाट पाउन सकिँदैन । त्यसैले राज्यले सचेतना बढाउनुपर्छ, वेथिति न्यूनीकरण गर्नुपर्छ ।
लेखक : डा.केदार कार्की वरिष्ठ पशु चिकित्सक