मन्थली मावि,गौरीशंकर मावि र हिमगंगा मावि भ्रष्टाचारको अखडा बन्दै

मन्थली मावि,गौरीशंकर मावि र हिमगंगा मावि भ्रष्टाचारको अखडा बन्दै

नबराज विश्वकर्मा,रामेछाप ।

रामेछापको नमूना विद्यालयका रुपमा सञ्चालित सामुदायिक विद्यालयहरुले संविधान र कानून विपरित विद्यार्थीसँग शुल्क लिएर भ्रष्टाचारजन्य कार्य गरिरहेको पाइएको छ ।

नेपालको संविधान २०७२ धारा ३१ उपधारा (२) आधारभूत र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ, भनिएको छ । स्थानीय तहको एकल अधिकार सूची संविधानको अनुसूची–८ (ज) (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रावृत्तिको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरिएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ दफा २० (१) प्रत्येक नागरिकलाई राज्यबाट माध्यमिक तहसम्मको शिक्षा निःशुल्क प्राप्त गर्ने अधिकार हुनेछ, भनिएको छ । तर जिल्लाका सामुदायिक विद्यालयहरुले संविधान र कानूनले प्रदान गरेको विद्यार्थीहरुको निःशुल्क अध्ययन गर्न पाउने हकलाई कुण्ठित गर्दै शुल्क लिएर भ्रष्टाचारजन्य कार्य गरेका पाइएको हो ।

सामान्यतः भ्रष्टाचार भनेको कानून विपरितको काम हो । नेपाली शब्द सागरका अनुसार भ्रष्टाचारको शाब्दिक अर्थ हुन्छ “बिग्रेको वा खराब आचारण, दुराचरण । नैतिकपतन हुने–घूस खाने–पक्षपात गर्ने–पाएभन्दा बढेर अधिकार चलाउने आदि खराब काम । घुसखोरी । अवैध व्यवहार ।”

तर जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित विद्यालय मन्थली माध्यमिक विद्यालय, रामेछापको गौरीशंकर माध्यमिक विद्यालय र साँघुटारको श्री हिमगंगा माध्यमिक विद्यालयले विद्यार्थीसँग विभिन्न बहानाबाजी गरेर भर्ना शुल्कदेखि मासिक शुल्कसमेत लिने गरेको पाइएको छ । यी तीन वटै विद्यालय नमूना विद्यालय हुन् । तीनवटै विद्यालयले संविधान र कानूलाईसमेत चुनौती दिँदै विद्यार्थीसँग सहयोगको बहानामा भर्ना शुल्क र मासिक शुल्कसमेत लिने गरेका छन् । संविधान र कानूनविपरित विद्यालयले गरेका गैरकानूनी गतिविधिको रोकथाम तथा नियन्त्रणमा संम्बन्धित स्थानीय तहले समेत चासो देखाएका छैनन् ।

शुल्क नतिरेसम्म विद्यार्थी भर्ना लिनै मान्दैन मन्थली माध्यमिक विद्यालय

मन्थली माध्यमिक विद्यालयले भर्ना शुल्क नतिरेसम्म विद्यार्थी भर्ना नै लिन मान्दैन । मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोरकी निर्मला परियारले विद्यालयले आफूहरुसँग भर्ना शुल्क लिने गरेको बताउनुभयो । युकेजीमा पढ्ने बच्चाको भर्ना शुल्क २ हजार रुपैयाँ र ४ कक्षामा पढ्ने बच्चाको १५ सय रुपैयाँ तिरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘मेरोचाहिँ बाबुहरुको युकेजीको बाबुको दुई हजार लेको थ्यो भर्ना फी अनि ४ मा भर्ना गर्दा १५ सय लेको थ्यो अनि महिनवारी फी ६ सय लेको छ ४ कक्षाको ।’

यस्तै, रामेछाप नगरपालिका वडा नं. ४ हिमगंगाकी मञ्जु खत्रीले पनि शुल्क नतिरेसम्म विद्यालयले भर्ना लिनै नमान्ने गरेको बताउनभयो । आफ्नो आर्थिक स्थिति कमजोर भएकोले भर्ना शुल्कमा छुट गरिदिन समेत अनुरोध गर्दा विद्यालयले अटेर गरेको उहाँको गुनासो छ । मञ्जुका दुई भाई छोरा छन्, एउटा ७ कक्षा र अर्को १० कक्षामा पढ्छन् ।

आर्थिक अभावका कारण दुवै छोराको शुल्क तिर्न नसकेपछि शुल्क छुटको लागि विद्यालयका प्रधानाध्यापकसँग रोइकराई गर्दा पनि सुनुवाई नभएको अभिभावक खत्रीले बताउनुभयो । भर्ना नगर्दासम्म विद्यालयले निःशुल्क उपलब्ध गराउने पुस्तक समेत नदिएको उहाँको भनाई छ ।
‘म इक्ज्यामैपिच्छे गएर रुन्छु, मेरो बुढो हस्पिटलमा हुनुहुन्छ, मैले भुराहरुलाई जाच फी, भर्ना फी पनि तिर्न सकिन सर भन्दा पनि विद्यालयले भर्ना शुल्क र मासिक शुल्क दुवैमा छुट दिएन, उहाँले भन्नुभयो ।’

रामेछाप नगरपालिका वडा नं. ८ का गोविन्द वि.क.ले आफ्नो छोरालाई भर्ना गर्दा शुल्क तिरेको बताउनुभयो । आफ्नो छोरालाई कक्षा ११ मा भर्ना गर्दा विद्यालयले ६ हजार ५ सय रुपैयाँ शुल्क लिएको उहाँले बताउनुभयो ।
यता मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले भने विद्यार्थीहरुसँग भर्ना शुल्क नभई सहयोग शुल्क लिएको बताउनुभयो । विद्यालयले निर्णय नै गरेर सहयोग शुल्क लिएको र भर्ना शुल्क नलिएको प्रधानाध्यापक दाहालको भनाई छ । “भर्ना शुल्क लिएका छैनौँ, सहयोग शुल्क लिएका हौँ, उहाँले भन्नुभयो ।”

गौरीशंकर माध्यमिक विद्यालय

रामेछापको गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद पौडेलले पनि भर्ना शुल्क लिने गरेको बताउनुभयो । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरु बाट चाहिँ भर्ना शुल्क लिने गरिएको उहाँले सुनाउनुभयो । सोही विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बिक्रम कार्कीले भने अग्रेजी माध्यबाट पठनपाठन गर्ने विद्यार्थीबाट शुल्क लिने गरेको बताउनुभयो । अघिल्लो समितिको निर्णयबमोजिम शुल्क लिने गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘इङ्लिस मेडियमबाट पढ्ने बच्चाहरुको लागि वार्षिक शुल्क भनेर तोकेका छौँ, अभिभावको सहमतिबाटै लिएको हौँ ।’

हिमगंगा माध्यमिक विद्यालय

रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारमा रहेको श्री हिमगंगा माध्यमिक विद्यालय साघुटारले पनि भर्ना शुल्क प्रति विद्यार्थी ३ हजार रुपैयाँ लिने गरेको सोही विद्यालयमा अध्ययनरत कक्षा ११ की एक छात्राले बताइन् । उनले भनिन्,“भर्ना गर्ने बेलामा ३ हजार रुपैयाँ तिरेको हो ।”
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुबाट भर्ना शुल्क लिने गरेको हिमगंगा माध्यमिक विद्यालय साँघुटारका प्रधानाध्यापक अनिरुद्र सुवेदीले स्वीकार गर्नुभयो । ‘११ र १२ कक्षामा पढ्ने विद्यार्थीबाट भर्ना शुल्क लिने गरेका छौँ, उहाँले भन्नुभयो ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ ढकालले भने भर्ना शुल्कको बारेमा कुरा गर्दा अनावश्यक र बेकारको कुरा नगर्नु भन्दै पत्रकारसँगै रोष प्रकट गुर्नभयो । नियम विपरित विद्यार्थीबाट भर्ना शुल्क किन लिनु भएको ? भनेर पत्रकारले गरेको प्रश्नप्रति रोष प्रकट गर्दै विव्यस अध्यक्ष ढकालले यस्ता अनावश्यक र बेकारको कुरा नगर्नु भन्दै गैरजिम्मेवारी जवाफ दिनुभएको थियो । अध्यक्ष ढकालले भन्नुभयो,‘बेकारको यो जाबो अननेसेसरी कुरा मलाई नसुनाउनु है दे भैगोनित राज्यले दरबन्दी बल्याङ बल्याङ ।’

स्थानीय तह

मन्थली नगरपालिका शिक्षा शाखाका अधिकृत विष्णु बहादुर अधिकारीले विद्यालयले त्यसरी अनावश्यक रुपमा भर्ना शुल्क लिनु गलत भएको बताउनुभयो । उहाँले त्यसरी शुल्क नलिन निर्देशन दिएको बताउँदै लिएको पुष्टि भएमा फिर्ता गरिने बताउनुभयो । यसैगरी रामेछाप नगरपालिका शिक्षा शाखाका अधिकृत नमराज बडूले पनि यसरी कानूनविपरित शूल्क लिने कुरा गलत भएको बताउनुभयो । गौरीशंकर मा.वि.ले शुल्क लिएको विषयमा अख्तियारमा मुद्दा परेको बताउँदै हिमगंगा मा.वि.को विषयमा आफूलाई कुनै जानकारी नभएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार