मन्थली बाहेक रामेछापका अन्य स्थानिय तहमा छैन दमकल,आगलागी हुँदा करडौँको क्षती

मन्थली बाहेक रामेछापका अन्य स्थानिय तहमा छैन दमकल,आगलागी हुँदा करडौँको क्षती

रामेछाप जिल्ला सुख्खाग्रस्त क्षेत्र हो । यहाँ हरेक वर्ष आगोलागीका घटनाहरु हुने गरेका छन । आगोलागीले हरेक वर्ष वनजंगल,पशुपंक्षी,धनमाल र मानविय क्षती समेत हुने गरेको छ । रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा २०७८ चैत्र १२ गते भएको आगलागीमा परेर ११ घर जलेर नष्ट भयो । गत वर्ष पनि जिल्ला अस्पताल नजिकैको जंगलमा लागेको डढेलोले अस्पताल क्षेत्र नै जोखिममा परेको थियो । राति लागेको आगो नियन्त्रण गर्न निकै समस्या परेको थियो ।

यसरी हरेक वर्ष आगलागीबाट लाखौँको क्षति हुने गरेको भएपनि रामेछाप नगरपालिकासँग दमकल छैन । आगो निभाउन मन्थली नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता छ । नगरपालिकामा दमकल नभएकै कारण त्यति ठूलो क्षति भएको स्थानीयको ठहर छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले दमकल खरिद गर्ने योजना नै नरहेको बताए । उनले भने हामीसँग दमकल खरिद गर्ने क्षमता छैन ।

रामेछापको आठ स्थानीय तहमध्ये आगो नियन्त्रणका लागि मन्थली नगरपालिकासँग मात्र दमकल छ । रामेछाप नगरपालिका,खाँडादेवी,सुनापती,दोरम्बा शैलुङ,गोकुलगंगा,लिखुतामाकोशी र उमाकुण्ड गाउँपालिकामा दमकल छैन । यि पालिकाहरुले मन्थली नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता रहेको छ ।

मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले जिल्लामा मात्रै नभएर छिमेकी जिल्लामा समेत ठूलो आगोलागी भएको बेला मन्थली नगरकै दमकल जाने गरेको बताए । आगलाागी भएमा आगो निभाउनका लागि दमकल आवश्यक छ भन्ने महसुस गरी सबै स्थानीय तहले दमकल खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने जिल्ला वन कार्यालय रामेछापका सहायक वन अधिकृत देबेन्द्र यादवले बताए । उनले भने जिल्लामा ३ वटासम्म दमकल हुने हो भने आगो नियन्त्रणमा सहज हुने थियो ।

अत्यावश्यक साधनप्रति चासो नभएका स्थानीय तहका प्रमुख तथा उपप्रमुखको लागि सुविधायुक्त सवारी साधन भने अधिकांशको रहेका छन् । पालिकामा दमकलको आबश्यकता महशुस गरेपनि भौगोलिक विकटता तथा खर्चिलो हुने भएका कारण दमकल खरिद नगरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले बताए । उनले भने सबै ठाउँमा दमकल पुग्न सक्ने सडक पनि छैन ।

जिल्लाका सबै स्थानीय तहमा दमकलको आवश्यकता रहेपनि बजेटको अभावमा धेरै स्थानिय तहले खरिद गर्न नसकेको हुन सक्ने जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको भनाई छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापब्न ऐन २०७४ ले पनि प्रत्येक स्थानीय तहमा एउटा दमकल अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । तर, स्थानिय सरकारका प्रमुखहरुले खर्चिलो र व्यवस्थापन गर्न गाह्रो हुने भन्दै दमकल खरिदका लागी चासो दिने गरेका छैनन् ।

जिल्लामा आगोलागी नियन्त्रणको पूर्वतयारी शुन्य

अब गर्मीयाम सुरु हुँदैछ । गर्मीयाम सुरु भएसँगै आगलागीको जोखिम पनि बढी हुन्छ । तर सम्भावित आगलागी नियन्त्रणका लागि पूर्वतयारी भने शुन्य देखिएको छ । चैत बैशाखमा सुख्खा हुने, बोटबिरुवाका पात झर्ने र हावाहुरी समेत बढी चल्ने हुनाले भएकाले आगलागीको बढी जोखिम हुन्छ ।

खासगरी यो समयमा रामेछापका बनजङ्गल घाँसे पाखाहरूमा बढी आगलागी हुने गरेका छन् । बनसँगै बस्ती पनि जोडिएर रहेकाले बढी डर हुने रामेछाप नगरपालिका ८ का स्थानिय मनोज तामाङ्गले बताए । आगोलागीको जोखिम धेरै भएपनि सम्भावित घटना नियन्त्रणका लागि कुनै निकायको पूर्वतयारी नदेखिएका उनको भनाई छ।

विभिन्न स्थानमा पानी जम्मा गरी राख्ने,क्षती कम गर्न ठाउँठाउँमा अग्नी नियन्त्रण रेखा बनाउने, आगलागी भएमा अपनाउनुपर्ने सचेतनाबारे स्थानीयस्तरमा जानकारी गराउने जस्ता काम आगलागी हुनुअघी नै गर्नुपर्ने भएपनि कुनै निकायबाट त्यस्तो काम नभएको रामेछाप नगरपालिका ७ का प्रभुराम महताराले बताए ।

डिभिजन वन कार्यालयले ५ महिनाको लागी अग्नी नियन्त्रक भनेर १० जनालाई जागिर खुवाएपनि उनिहरुको काम कार्यालयमा बसेर घाम ताप्ने भन्दा बाहेक अरु केही नदेखिएको रामेछाप नगरपालिका ७ की गंगा बस्नेतले बताइन । जिल्लाका विभिन्न ठाउँमा हरेक वर्ष आगोलागी हुँदा नेपाली सेना र स्थानियको सकृयतामा नियन्त्रण गरिँदै आइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार