रामेछापमा रैथाने बालीको खेती गर्ने क्रम घट्दै

रामेछापमा रैथाने बालीको खेती गर्ने क्रम घट्दै

रामेछापमा रैथाने बालीको खेती गर्ने क्रम घट्न थालेको छ । नेपालका रैथाने बालीमध्ये करिब ५० प्रतिशत बाली लोप भइसकेको छ । बाँकी ५० प्रतिशत बालीमा पनि अधिकांश सङ्कटमा परेको भन्दै सरकारले रैथाने बालीको प्रवद्र्धन र बजारीकरणमा जोड दिएको छ । तर रैथानेबालीको खेती गरिँदै आएका जिल्लाहरूमा यसको खेती क्रमशः घट्न थालेको छ ।

रामेछाप नगरपालिका वडा–७ का सुशिला खत्रीले कागुनो, चिनो, फापर, मार्से जस्ता रैथाने बालीको खेती गर्न छाडेको जानकारी दिनुभयो । लगानी र मिहेनतअनुसारको उत्पादन नहुने भन्दै स्थानीयले रैथाने बालीको खेती छोडेका हुन् । रामेछापका किसानले धेरथोर कोदो र फापर खेती भने गर्दै आएको भएपनि चिनो, कागुनो लगायतका बाली अचेल देखिन छोडेको छ ।

तीनै तहका सरकारले रैथाने बाली प्रवद्र्धनको नीति लिएका भए पनि वास्तविक किसानसम्म सरकारी अनुदान पुगेको छैन । उत्पादन घट्दै गएको र सरकारको प्रोत्साहन पनि नपाएका कारण रैथाने बालीको खेती गर्न नसकिएको किसानले बताउँदै आएका छन ।

अनुदान जमिनमा खेती गर्नेले नभइ खेती गरेको कागजात मिलाउनेलाई मात्रै 

पछिल्लो समय स्थानीय अर्थात रैथाने बालीलाई हेला गर्ने प्रवृत्तिका कारण उत्पादन घट्न थालेको छ । कोदो, कागुनो, चिनो, जुनालो जस्ता कोदोजन्य बालीको उत्पादन घट्न थालेको हो । यद्यपी सरकार र कतिपय दातृ निकायले स्थानीय बालीलाई प्रबद्र्धन गर्ने भन्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

कृषि उत्पादन बढाउन र रैथाने जातको प्रवद्र्धन गर्न सरकारले किसानलाई अनुदान दिने गरे  पनि अनुदान जमिनमा खेती गर्नेले नभइ खेती गरेको कागजात मिलाउनेहरूले मात्र पाउने गरेको किसानको अनुभव छ । कोदोजन्य बाली स्वास्थ्यका लागि मात्र नभइ वातावरणका लागि पनि उपयोगी छन् । रैथानेबाली प्रवद्र्धनमा सरकारको कार्यक्रम नाम मात्रैको भएको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार