रामेछाप मन्थलीका आधा दर्जनभन्दा बढी सुनचाँदी पसल कारबाहीमा

रामेछाप मन्थलीका आधा दर्जनभन्दा बढी सुनचाँदी पसल कारबाहीमा

रामेछापको सदरमुकाम मन्थलीमा रहेका आधा दर्जनभन्दा बढी सुनचाँदी पसलहरुले तोकिएको भन्दा कम तौल भएको ढक प्रयोग गरेर सुनचाँदीको कारोबार गरेका पाइएको छ ।

चाँडवाड नजिएसँगै गत असोज २३ र २४ गते जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, रामेछाप खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली र गुणस्तर तथा नापतौल कार्यालय जनकपुरको संयुक्त नेतृत्वमा तीन वटा समुह बजार अनुगमनमा निस्किएको थियो । सोही क्रममा मन्थली बजारका आठ वटा सुनचाँदी पसलहरुले मापदण्ड बमोजिम कम तौल भएका ढक प्रयोग गरेर सुनचाँदीको कारोबार गरेका पाइएको हो ।

मापदण्डअनुसार कम तौल भएको ढक, काँटामार्फत सुनचाँदी व्यवसायीहरुले सुनचाँदीको कारोबार गर्दा उपभोक्ताहरु ठगिएका छन् । सबै वैधानिक प्रक्रिया पुरा गरी व्यवसाय गरेर बसेका सुन व्यवसायीहरुले नै मापदण्ड अुनसारको तौल नभएको काटा र ढकमार्फत सुन तौलिएर बेच्दा खरिद गर्ने उपभोक्ताहरु ठगिएका हुन् ।

जिल्ला बजार अनुगमन समितिका सदस्य सचिव सुवोध कुमार शाह कर्मयोगीको हस्ताक्षरमा २०८० असोज २५ गते जारी भएको प्रतिवेदनअनुसार मापदण्ड बमोजिम कम तौल भएको ढक राखेर सुनचाँदीको कारोबार गर्ने सुनचाँदी पसलहरुमा न्यू सनराइज ज्वेलर्स, शम्भु सुनचाँदी पसल, कालिका सुनचाँदी पसल, र मनकामना सुनचाँदी पसल रहेका छन् । यस्तै, माया ज्वेलर्स, दिपलक्ष्मी सुनचाँदी पसल, ओम शिवशक्ति सुनचाँदी पसल र श्रीकृष्ण सुनचाँदी पसल पनि छन् । प्रतिवेदनको ५ नम्बर बुँदामा ती सुनचाँदी पसलहरुलाई १०÷१० हजार रुपैयाँका दरले जरिवाना गरिएको उल्लेख छ ।

यसरी अवैधानिक र अविश्वसनीय नापतौल यन्त्र राखेर सुनचाँदी बिक्री गर्ने सुनचाँदी पसलहरुलाई प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन, २०७६ को दफा ६० को खण्ड (क) दफा ६१ को उपदफा (१) को खण्ड क, ख, ग, घ, ङ बमोजिम १०÷१० हजार रुपैयाँ दरले समितिले जरिवाना गरेको छ । तर प्रतिवेदनमा सुनचाँदी पसलहरुलाई किन जरिवाना गरिएको ? भन्ने विषयमा भने स्पष्ट उल्लेख गरिएको छैन । यता जिल्लाका सुनचाँदी व्यवसायीहरुले भने आफूहरुको कमजोरी नभए पनि समितिले जरिवाना तिराएर गलत गरेको गुनासो गर्दै आएका छन् ।

यस विषयमा थप बुझ्न खोज्दा पत्रकार हुँ भनेर १० जनाले आफूलाई फोन गरेको भन्दै प्रतिवेदक समेत रहेका घरेलु तथा साना उद्योग कार्यालयका अधिकारी सुवोध शाह कर्मयोगीले सूचना दिन नसक्ने भन्दै रोष प्रकट गरे । संवादकै क्रममा सूचनाको हकको सम्मान गर्न अनुरोध गरिएपछि निवेदन लिएर आउन उनले आग्रह गरे । त्यसपछि घरेलुले बजार अनुमगन समितिले तयार पारेको अनुगमन प्रतिवेदन उपलब्ध गराएको थियो । प्रतिवेदनमा नापतौल काँटा र ढकको विषयमा के भएको हो ? भन्ने बारेमा केही उल्लेख थिएन ।

तर, अनुगमन समितिसँगै पत्रकार महासंघ जिल्ला शाखा रामेछापको तर्फबाट रिर्पोटिङका लागि खटिएका एक पत्रकारले भने २ सय ग्रामको सुनचाँदी तौलिने ढकको परीक्षण गर्दा मापदण्डअनुसार ५० देखि १५० मिलीग्रामसम्म कम रहेको पाइएको बताए । ‘२ सय ग्रामको ढक काँटामा तौलिदा कुनैमा ५०, कुनैमा ६०, कुनैमा ७०, कुनैमा ८०, कुनैमा १०० त कुनैमा १५० मिलिग्रामसम्म तौल कम देखिएको थियो, उनले भने ।’

अनुगमनमा देखिएको कसूरलाई हेर्दा नापतौल सम्बन्धी कसूरसँग सम्बन्धित देखिन्छ । मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२४ को नापतौल सम्बन्धी कसूरको दफा २७४ (१) मा कसैले कुनै व्यवसाय,कारोबार वा व्यापारको सिलसिलामा नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन प्रयोग गर्नु पर्दा कानून बमोजिम त्यस्तो साधनका चलन चल्तीमा निर्धारण गरिएको नाप, तौल वा स्तरभन्दा घटी बढी हुने गरी कपटपूर्ण रुपमा प्रयोग गर्न, अर्काे कुनै साधन वा उपायको मद्दतले त्यस्तो साधनको चलन चल्तीको नाप्ने, तौलने वा गुणस्त निर्धारण गर्ने कुरामा प्रतिकूल प्रभाव पार्न हुँदैन, भनिएको छ । तर कानून बमोजिम त्यस्तो साधनका चलन चल्तीमा निर्धारण गरिएको नाप, तौल वा स्तरभन्दा घटी बढी हुने गरी कपटपूर्ण रुपमा प्रयोग गर्न नहुने भनिएपनि सुनचाँदी पसलहरुले त्यस विरुद्धको कसूर गरेको समितिले फेला पारेको थियो ।

दफा २७४ को (२) अनुसार त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । तर समितिले भने यी सबै कुरालाई बेवास्ता गरेर १०÷१० हजार रुपैयाँ जरिवाना गरेर छाडेको थियो । यसरी सामान्य जरिवानालाई मुख्य ठानेर यस्ता कसूर गर्ने व्यक्तिहरुलाई छाड्दा आगामी दिनहरुमा पनि यस्ता कसूरहरु नदोहोरिनेमा ढुक्क हुन नसकिने नागरिक समाजका अगुवाहरुले बताए । त्यही नापतौल बमोजिम के कति सुनचाँदी खरिद बिक्री भएको छ भनेर गहिरिएर अध्ययन गर्नुपर्ने भएपनि अनुगमन समितिले सामान्य रुपमा लिएर १०÷१० हजार रुपैयाँ जरिवाना गराएर छाडेको छ । जसले गर्दा अनुगमन समितिको प्रभावकारिता माथि नै संशय पैदा भएको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार