रामेछापकोे साँघुटार सेलेघाट सडक आयोजनालाई छिटो भन्दा छिटो काम सक्न सरोकारवालाहरुले निर्देशन दिएका छन । आईतबार(आज) रामेछाप नगरपालिका वडा नं ७ को कार्यालयमा जनप्रतिनिधी,राजनीतीक दल,नागरीक समाज र पत्रकार सहितको बैठकले काम छिटो सक्न निर्देशन दिएको हो ।
रामेछाप नगरपालिकाका प्रबक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीको सहजिकरणमा भएको छलफल कार्यक्रममा उक्त सडक आयोजना हेर्ने परामर्शदाता कम्पनीका प्रतिनिधी विनोद भारतीलाई ध्यानाकर्षण गराइएको हो ।
छलफल कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले यतिका वर्ष भैसक्दा पनि आयोजनाले निकै सुस्त गतिमा काम गरेको भन्दै समयमै काम सक्न आयोजनालाई आग्रह गर्नुभयो । उहाँले यहि आयोजनाको भर परेकै कारण रामेछाप बजारको सडक अस्तव्यस्त भएको भन्दै सडक निर्माण छिटो सक्न निर्देशन दिनुभयो ।
रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले बारम्बार सडक आयोजनाको ठेकेदारहरुलाई गुणस्तरीय काम गर्न आग्रह गरिए पनि उनिहरुले बेवास्ता गरेको बताउनुभयो । सडक निर्माणमा चाहिने स्थानिय स्रोत साधन लगायतका अरू जुनसुकै सहयोग गर्छौं भन्दा पनि ठेकेदार कम्पनीले निर्माण कार्यमा ढिलासुस्ती गरेको उहाँको भनाई छ ।
सालुदेखी साँघुटारसम्मको विभिन्न भागमा वर्षा सुरु भएसँगै सडक ठाउँ ठाउँमा पहिरो जाने, भासिने साथै खाल्डो बनेपछि यातायात सञ्चालनमा समेत कठिनाई भएको छ । सडककै कारण विभिन्न बस्तीहरु समेत जोखिममा परेको वडा नं २ का वडाअध्यक्ष निर कुमार श्रेष्ठ र वडा नं ३ का वडाअध्यक्ष दल बहादुर प्रधानले बताउनुभयो ।
मन्थली नगरपालिका वडा नं ४ का वडाअध्यक्ष राजन घिमिरे र रामेछाप नगरपालिका वडा नं ९ का वडाअध्यक्ष चन्द्र श्रेष्ठले पनि आयोजनाले समयमै काम सक्ने अवस्था नदेखिएको बताउनुभयो । आयोजनाका ठेकेदारहरुले काम गर्दा अस्तव्यस्त र भद्रगोल तरिकाले काम गरेको उहाँहरुको भनाई छ ।
नेपाली कांग्रेस रामेछाप नगरपालिकाका नेता गौतम कुमार श्रेष्ठ,नेकपा एकिकृत समाजवादीका नेता ढाल विक्रम कार्की लगायतले सडक आयोजना हेर्ने परामर्शदाता कम्पनीलाई सडकको अवस्था,नागरीकले पाएको हैरानी र सास्तीका बारेमा बताउनुभयो ।
आयोजना प्रभावित सरोकारवालहरुको गुनासो सुनेपछि सडक आयोजना हेर्ने परामर्शदाता कम्पनीका प्रतिनिधी विनोद भारतीले नेपाल सरकारले मुआब्जा वितरण नगर्दा काम समयमै सम्पन्न हुन नसकेको बताउनुभयो । सरोकारवालहरुबाट आएको गुनासा र सुझावलाई टीसीआईएलका प्रमुख समक्ष आफुले प्रस्तुत गर्ने उहाँले बताउनुभयो । आयोजनालाई छिटो भन्दा छिटो काम सक्न सरोकारवालाहरुले पत्र समेत पठाएका छन ।
भारतीय एक्जिम बैंकमार्फत निर्माण हुँदै आएको सडकको जिम्मा भारतीय निर्माण कम्पनी टीसीआईएलले पाएको थियो । रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्मको करिब ५० किलोमिटर सडक भताभुंग पारेर छोडिएको छ ।
५० किलोमीटर सडकको काम निकै सुस्त गतिमा भैरहेको छ । सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्रमा सक्नुपर्ने गरी सम्झौता भएको हो । तर अहिले फेरी १७ महिना म्याद थपेको भएपनि सो समयसम्म काम सम्पन्न हुने अवस्था छैन ।