रामेछापमा जोगी समुदायको फेरी लगाउने पेशा सङ्कटमा

रामेछापमा जोगी समुदायको फेरी लगाउने पेशा सङ्कटमा

रामेछापको जोगी समुदायलाई परम्परा जोगाउन चुनौती देखिएको छ । पुस्तौँदेखि रामेछाप, दोलखा, ओखलढुङ्गा,सिन्धुली लगायतका जिल्लामा जोगी समुदायका मानिसहरूले पेशाकै रुपमा फेरी लगाउने काम गर्दै आएपछि पछिल्लो समय उनीहरूको यो पेशा लोप हुन लागेको हो ।

विशेषगरी गाउँघरमा कात्तिक र चैत महिनामा रातभर विभिन्न मन्त्र उच्चारण गर्दै फेरी लगाउने र बिहान भएपछि घरघरमा गएर सिदा उठाउने चलन छ । पुराना पुस्तामा अहिले पनि जीविकोपार्जनका लागि यही पेशालाई अपनाइन्छ । आफूहरू बुढो हुँदै गएको र पढेलेखेका युवाहरू फेरी लगाउने पेशा प्रति आकर्षित नभएपछि संस्कृति जोगाउन नसकिएको रामेछापका बुढापाका जोगीहरुले बताएका छन ।

नेपाली लोकबाजा ‘फेरी’ अर्थात् नाद बजाएर कात्तिक र चैत महिनामा दान थाप्दै हिँड्ने सांस्कृतिक तथा परम्परागत पेशालाई नयाँ पुस्ताले निरन्तरता दिन सकेका छैनन् । जरायोको सिङबाट बनेको लोकबाजा ‘फेरी’ बजाउँदा गाउँघरमा सह आउने पुरानो मान्यता छ ।

शिक्षित र विकसित समाजमा पेशा संरक्षण गर्न नसकिए पनि बाजा र चलन जोगाउनुपर्ने स्थानीयहरुको भनाई छ । लेखपढ गर्न सिपालु भएका युवा पुस्तालाई बाबुबाजेको पेशा प्रति कुनै चासो छैन । तर स्थानीय सरकारले परम्पराको संरक्षणमा ध्यान दिनुपर्ने अनि लोकबाजा र संस्कृति जोगाउनु पर्ने जोगी समुदायका अगुवाहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार