रामेछापका जनप्रतिनिधिहरू समयमा बजेट ल्याउने तयारीमा रहे पनि छलफल राम्रोसँग हुन सकेको छैन ।
स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन र स्थानीय सरकार सञ्चालन ऐन अनुसार अघि बढ्दा हिजोआज पालिकाहरूलाई वडाको बजेट सीमा भित्रका र अन्य महत्वपूर्ण आयोजनालाई प्राथमिकता निर्धारण गर्न भ्याइनभ्याइ हुनुपर्ने भए पनि रामेछापका अधिकांस स्थानीय सरकार योजना सम्झौता, पेस्की र भुक्तानीमै व्यस्त बनिरहेका छन् ।
स्थानीय तहको कामकारबाहीमा संयोजनकारी भूमिका जिल्ला समन्वय समितिले निभाउने गरेको छ । समयमा बजेट ल्याउनका लागि प्रक्रिया पूरा गर्न पहल भइरहेको जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीले दाबी गर्नुभयो ।
हरेक स्थानीय सरकाले असार १० गते भित्र बजेट सभामा पेस गर्ने र १५ दिनभित्र छलफल गरी पास गर्ने वा चित्त नबुझे संशोधन गर्न कार्यपालिकामै फर्काउने प्रावधान छ । तर बजेट पेशअघिको वडास्तरको छलफल भने पालिकामा राम्रोसँग हुन सकेको छैन ।