किन ? रामेछापका ८ वटै पालिकाका प्रमुखहरुले १ सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेनन्

किन ? रामेछापका ८ वटै पालिकाका प्रमुखहरुले १ सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेनन्

सार्वजनिक संस्थानमा नियुक्ति वा निर्वाचित जनप्रतिनिधिका रुपमा पदबहाली गरेको १ सय दिनमा हासिल भएका उपलब्धि औपचारिक रुपमै सार्वजनिक गरिने परम्परा छ । सोही अनुसार काठमाडौँ महानगरसहित देशका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखले आफूले पद बहाली गरेपछि भएका कामको फेहरिस्त जानकारी गराईरहेका छन् ।

यो कतै लिखित वा लिपिवद्ध कानुनी प्रावधान नभएपनि १ सय दिनमा भविष्यको एउटा आकार देखिने भएकाले यो परम्परा अब आवश्यकता नै भइसक्यो ।

सामान्यतया, पदभार सम्हालेको सय दिन (३ महिना)लाई ‘हनिमुन अवधि’ पनि भनिने भएकाले यो अवधिमा जनप्रतिनिधिले गरेको सुरुवातले भविष्यको संकेत गर्ने भएकाले मतदाता र जनताहरु सय दिनको उपलब्धि सुन्न आतुर देखिन्छन् । तर, रामेछापका कुनै पनि पालिकाका प्रमुख र उपप्रमुखले ‘मैले सय दिनमा यी यी काम गरेँ, यी यी कामको सुरवात गरेँ’ भनेर भन्न सकेका छैनन् ।

सबै पालिका उस्तै

रामेछापका ८ वटा पालिकामध्ये मन्थली नगरपालिकासहित खाँडादेवी गाउँपालिका र उमाकुण्ड गाउँपालिका नेकपा एमालेले जितेको छ ।

रामेछाप नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगंगा गाउँपालिका नेपाली काँग्रेसले जित्दा दोरम्बा सैलुङ र सुनापती गाउँपालिका माओवादी केन्द्रले जितेको छ ।
तर, यी कुनै पनि पालिकाका प्रमुखहरुले सय दिनमा गरेका काम सार्वजनिक गरेका छैनन् ।

थाहा छैन कि आवश्यक ठान्दैनन् ?

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गर्दै गत असारमा सबै पालिकाहरुले आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट ल्याएका छन् । बजेटमा खासै प्रभाव पार्ने दीर्घकालिन योजना सहितका कार्यक्रम कुनै पनि पालिकाले ल्याएका छैनन् । यो कुरा स्वयम् पालिका प्रमुखहरुले नै स्वीकार गरेका छन् ।

आफू निर्वाचित भएर आइसकेपछि एउटा बजेट ल्याएको, उक्त बजेट कार्यान्वयनमा आइसकेको अवस्थामा सय दिने उपलब्धि पालिका प्रमुखहरुले सार्वजनिक गर्न सक्नुपर्थ्यो । तर, रामेछापका ८ वटै पालिकाका प्रमुखहरुले यसबारे कुनै चासो देखाएका छैनन् ।

‘उपलब्धि सार्वजनिक गर्न त उपलब्धिमूलक काम पनि गरेको हुनुपर्यो नि’ नाम उल्लेख नगर्ने सर्तमा रामेछाप नगरपालिकाका एक स्थानीय भन्छन्, ‘यहाँ मात्रै होइन, गुम्देलदेखि गौश्वारासम्म कतै पनि केही राम्रो काम सुरु गरे भन्ने सुनिएको छैन । बरु धरानको मेयरले पानी खुवाउने काम गरिसके भन्ने सुनिन्छ । काठमाडौँमा बाटो मिचेर बनाएका घरहरु सबै भत्काइसके रे । हाम्रा तिर त सबै आफन्त हेर्ने मात्रै परे ।’

आफू बराबर नै हैसियत भएका बाहिरी जिल्लाका स्थानीय तहका प्रमुखहरुले धमाधम उपलब्धि सार्वजनिक गरेको देखेर पनि ‘सार्वजनिक गर्नुपर्ने रहेछ’ भन्ने जानकारी हुनुपर्ने हो । तर, यसबारे जिल्लाका २ नगरपालिकाका मेयर र ६ गाउँपालिकाका अध्यक्षहरु पूर्णतः बेखबर जस्ता देखिएका छन् ।

मन्थली नगरका मेयर लब श्रेष्ठ, रामेछाप नगरका मेयर लवश्री न्यौपाने, खाँडादेवीका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, दोरम्बाका अध्यक्ष मैनकुमार मोक्तान, सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङ, गोकुलगंगाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश), उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार र लिखु तामाकोशीका अध्यक्ष केशव महत कसैले पनि देखाउन लायक एउटा पनि काम यो हनिमुन अवधि अर्थात् पदभार ग्रहण गरेको सय दिनमा गर्न सकेनन् ।

स्थानीय भन्छन्, ‘काम गरेको भए त देखिन्थ्यो नि, गरेका भए पो देखिनु ?’
एकातिर रोजगारी सिर्जना हुने कार्यक्रम र बजेट नल्याएका यी पालिकाहरुले अर्कोतिर कृषिलाई प्राथमिकतामा राखिएको दाबी गर्न भने छोडेका छैनन् । तर, नयाँ जनप्रतिनिधि आएपछि उनीहरुले ल्याएको बजेट र कार्यक्रमले आजको मितिसम्म कृषकले प्रत्यक्ष लाभ लिन पाएका छैनन् ।

अर्कोतिर ‘विकास कसरी गर्ने रहेछ भनेर अरु जिल्लाका मान्छेहरु विकासको मोडल हेर्न रामेछाप आउने गरी रामेछाप नगरको विकास गर्छु’ भनर ढ्वाँङ पिटिरहेका रामेछाप नगरका मेयर लवश्री न्यौपानेले त झन सिन्को पनि भाँच्न सकेका छैनन् ।

उपलब्धी सार्वजनिक नै नगरेपनि पालिका प्रमुखहरुको तुलनामा वडाध्यक्षहरुको सक्रियता भने बाक्लो छ । उनीहरुले कम्तीमा सामाजिक सुरक्षा भत्ता घरमै लगिदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार