जनतासँग गरेको बाचा पुरा गर्ने गरी काम गर्छु : अध्यक्ष ठुलोकान्छा तामाङ

जनतासँग गरेको बाचा पुरा गर्ने गरी काम गर्छु : अध्यक्ष ठुलोकान्छा तामाङ

अघिल्लो कार्यकालका वडाअध्यक्ष ठूलोकान्छा तामाङ हालै रामेछापको सुनापती गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । पूरा नहुने धेरै सपनाभन्दा पूरा हुने साना काम गर्ने लक्ष्यका साथ तामाङ अघि बढ्नुभएको छ । पालिकाका भावी योजनाका बारेमा अध्यक्ष तामाङसँग गरेको कुराकानीको सारसङ्क्षेप । 

सुनापती गाउँपालिकालाई समृद्ध बनाउने कस्तो सपना देख्नुभएको छ ?
गाउँपालिकाको समृद्धिको सपना हामीले निर्वाचन घोषणा पत्रमार्फत् देखाइसकेका छौँ । पहिलो प्राथमिकता नै पालिकाभरि एक घर एक धारा राखेका छौँ । दोस्रोमा पालिकाका सातै वडा जोड्ने बाटोकोे ट्याक ओपन गर्ने त्यसपछि पिच नै गर्न नसके पनि सहज रुपमा गाडी चल्न सक्नेगरी ग्राबेल र ढलको व्यवस्था गर्छौ । तेस्रोमा गाउँपालिकामा कृषि कार्यक्रम छ । सातै वडामा कृषि प्याकेज बनाएर माटो परीक्षण, हावापानी, भूगोल सबै हेरेर कृषिको विकास गर्छौ । त्यस्तै पर्यटन र विकास निर्माणका साथै आवश्यक पूर्वाधार निर्माण गरी घोषणा-पत्रमा गरिएको प्रतिवद्धता अनुसार नै बजेट बाँडफाँड गरी अघि बढ्ने योजना छ ।

यी तपाइँका दीर्घकालीन प्रकृतिका काम भए, तत्कालै गर्नुपर्ने कामको प्राथमिकीकरण कसरी गर्नुभएकोे छ ?
गर्नुपर्ने काम धेरै छन् । २०७४ सालमा म वडा अध्यक्ष थिएँ, पालिका अध्यक्ष धावा लामा हुनुहुन्थ्यो । त्यसबेला सातै वडाको टिमले थालेका अधूरा काम पूरा गर्नुपर्नेछ । तत्कालै गर्ने काम चाहिँ चुनावमा सामाजिक सुरक्षा भत्ता गाउँगाउँमा लगेर बितरण गर्छौ भनेका थियौँ, त्यो तुरुन्तै सुरु गर्छौँ । त्यस्तै वर्षाकालमा पनि गाडी चल्नेगरी सडक व्यवस्थित गर्न लागिरहेका छौँ । मैले अघि पनि भनेँ, पहिलो प्राथमिकता खानेपानी हो । त्यसपछि स्वास्थ्य, शिक्षा, कृषि पनि सँगसँगै अघि बढाउँछौँ । तर स्रोत साधनले भ्याएसम्म खानेपानीमा पूरा ध्यान लगाउँछाँै ।

पानीको कुरा गर्नुभयो, पालिकामा खानेपानीको अवस्था कस्तो छ ? तपाइँको योजना के छ ?
हेर्नुस्, सुनापतीमा ११ हजार घरधुरी छन् । ५ नम्बर वडामा ५० प्रतिशत घरमा धारा पुगेको छ । ४ नम्बर वडामा पानीको निकै अभाव छ, नागरिकले कोशी र खोलाबाट पानी बोकेर खाइरहेका छन् । त्यहाँ सौर्य ऊर्जा तथा चौँरीखोला लिफ्ट सिस्टम बनाउनुपर्ने, सकिएको छैन । पालिकाले दिएको रकमभन्दा २ करोड बढी बजेट चाहिने देखिएको छ । रकम खोजेरै भए पनि सकेसम्म घरघरै, नसके टोलटोलमा पानी पुर्‍याउने योजना छ ।

शिक्षाक्षेत्रमा के सोच्नुभएको छ ?
गुणस्तरीय शिक्षा भनेर सबैले बोल्छौँ तर शिक्षाक्षेत्रमा सोचे जस्तो काम भइरहेको छैन । अब अनुगमन गर्ने, अन्तरक्रिया गर्ने, कुन विद्यालयमा शिक्षकले कस्तो काम गरिरहेको छ, कसरी पढाइरहेको छ, विद्यार्थी कति छन् भनेर फरक तरिकाले अनुगमन सहित व्यवस्थापन गर्छौँ । तल्लो तहदेखि नै जग कसरी बलियो बनाउने भन्ने उद्देश्य र योजना बनाएर अघि बढ्नेछौँ ।

कृषिलाई मुख्य प्राथमिकतामा राखेको भन्नुभयो, आफ्ना योजना बताइदिनुस् न ?
कृषिक्षेत्रमा अघिल्लो नेतृत्वले टनेल वितरण, पोखरी निर्माण, सिँचाइ व्यवस्थापन, बीउबीजन वितरण जस्ता काम गरेको थियो । अहिले एक घर एक टनेल सहित किसानको माग अनुसार बजेट विनियोजन गरेका छौँ । गाईभैँसी, बाख्रा, बङ्गुरका लागि अनुदान दिनेगरी बजेट बिजियोजन भइसकेको छ । कृषि विकासका लागि माटो परीक्षण गर्ने, मेशिन-औजार र आधुनिक कृषिसामग्रीको प्रयोगमा जोड दिने गरी सातै वडामा बजेट छुट्याएका छाँै । कृषि पकेट कार्यक्रम जस्तैः बाख्रा पकेट क्षेत्र, बंगुर पकेट क्षेत्र, गाई तथा भैसी पकेट क्षेत्र, किवी खेती, चिया बगानका लागि बजेट छुट्याएका छौँ ।

पर्यटन विकासको कुरा गरौँ । तपाइँको पालिका पर्यटकीय सम्भावना भएको क्षेत्र हो । तपाइँले पर्यटन विकासका लागि के योजना बनाउनुभएको छ ?
हाम्रो पालिकामा पहिलाभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन् । तर, हामीले प्रचारप्रसार गर्न नसकेको स्वीकार्नैपर्छ । गुफा, मठमन्दिरको प्रचारप्रसार हुन सकेको छैन । अहिले पालिकामा १०८ माने स्तुपा बन्दैछ । ३०-४० फिट अग्ला मुर्तिहरू बन्दैछन् । त्यस्तै रिसोर्ट, पिकनिकस्थल, सहिदपार्कहरू पनि बनाउँदै छौँ । १-२ वर्षभित्र यी काम सम्पन्न गर्छौ । त्यसपछि सुनापती महोत्सवको तयारीमा छौँ । आन्तरिक र बाह्य पर्यटक बढ्ने हाम्रो विश्वास छ ।

स्वास्थ्यका क्षेत्रमा कसरी व्यवस्थापन गर्ने सोच बनाउनुभएको छ ?
पालिकामा १० शैय्याको भवन बन्दैछ । यो चाँडै तयार हुनेछ । दक्ष डाक्टरसहितको सेवा दिने योजनामा छौँ । त्यसपछि नागरिकले काठमाडौँसम्म दुःख पाउनु पर्दैन । पाँचै वडामा १-१ वटा स्वास्थ्यचौकी छ, भुगोल अनुसार थप गरेका छौँ । खनियापानीमा भएको स्वास्थ्यचौकीमा लुभु बेसीदेखि बिरामी जानुपर्ने वाध्यता थियो । त्यसैले हामीले थप स्वास्थ्य चौकीको व्यवस्थापन गरेका छौँ । भिरकोटमा स्वास्थ्य इकाई खोलेर चलाइरहेका छौँ । दाता संस्थाको सहयोगमा भवन पनि बनिरहेको छ । सबै नागरिकले सुलभ स्वास्थ्य सेवा पाउनेगरी व्यवस्थापनमा लागेका छौँ ।

सुनापाती गाउँपालिकामा प्राकृतिक जोखिमयुक्त प्रशस्त वस्ती रहेका छन् । जोखिम कम गर्ने कस्तो योजना बनाउनुभएको छ ?
गाउँपालिकाको वडा नं. १ देखि पालिकासम्म आउन खानीखोलाले वर्षामा अवरोध गरिरहेको छ । त्यहाँ पुल बनाउने योजना छ । वर्षामा बिग्रेका बाटो बनाउन डोजर लगेर सफा गरिरहेका छौँ । पहिल्यै भत्केका ठाउँहरूमा प्राविधिकलाई देखाएर पर्खाल बनाउने, सुधार्ने काम चलिरहेको छ । लुभु भन्ने ठाउँमा हालै बस दुर्घटना भएर १३ जनाको मृत्यु भयो । बाटो ठीकै भएपनि ढुङ्गाहरू भएकाले बाटो सफा गरेर सजिलै गाडी चलाउने उद्देश्यले लागिरहेका छौँ ।

किसानले मल नपाएको व्यापक गुनासो छ । मलको व्यवस्थापन बारे के सोच्नुभएको छ ?
हो, मलको समस्याबाट हामी पनि अछुतो रहन सकेनौँ । राज्यले नै मलको व्यवस्थापन गर्न सकिरहेको छैन । समयमै मल दिन सकिएन भन्ने कृषिक्षेत्रको कुरामात्र गरेर हुँदैन । बीऊ-बीजन पनि समयमा दिन सकिरहेका छैनौँ । तर भविष्यमा पालिकाले के गर्न सक्छ भनेर छलफल गरेर काम गर्छौँ ।

तपाइँले माटो परीक्षणको प्रसङ्ग उठाउनुभयो । अहिले माटोको गुणस्तर घटेको देखिएको छ । तपाइँकै पालिकामा माटोमा अम्लीयपन बढेको रिपोर्ट आएको छ । यसबारे के भन्नुहुन्छ ?
तपाइँले राम्रै प्रश्न गर्नुभयो, हामीले माटो सुधारका लागि बजेट नै छुट्याएका छौँ । कृषि विज्ञ र कृषि प्राविधिक झिकाएर किसान र सरोकारीसँग छलफल गरी कसरी अघि बढ्ने भनेर योजना बनाउने छौँ ।

पालिकाको योजना तपाइँको एकल चुनावी घोषणा-पत्रको आधारमा बन्छ कि ? अरु पार्टीको विचार पनि सम्बोधन गर्नुहुन्छ ? 
हामीले गाउँसभामा सबै दलका प्रतिनिधि बोलायौँ । उहाँहरू आउनु पनि भयो । उहाँहरूसँग सल्लाह-सुझाव लियौँ । तसर्थ हामीले चुनावमा व्यक्त गरेका साझा प्रतिवद्धता र सुझावसहित अन्य दलका राम्रा कुरा समेटेर सुनापतीको समृद्धि र विकासका लागि मिलेर अघि बढ्छौँ । सबै दलहरूको सुझाव र प्राथमिकताका आधार छनोट गरेरै योजना बनाउने छाँै ।

अन्त्यमा के भन्नुहुन्छ ? 
गाउँपालिकाबासीलाई हिजो हामीले चुनावमा भोट माग्दै गर्दा जुन साझा प्रतिवद्धता गरेका थियौँ, तिनै प्रतिवद्धता पूरा गर्छ भन्ने विश्वासमा हामीलाई जिताउनुभयो । म घोषणा पत्रमा गरेका प्रतिवद्धता ५ वर्षभित्र पूरा गरेरै छाड्छु भन्ने विश्वास दिलाउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार