रामेछाप नगरपालिकाको स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा

रामेछाप नगरपालिकाको स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा

देश लगभग स्थानीय तह निर्वाचनमय भइसकेको छ । रामेछाप पनि यसबाट अछुतो छैन । सञ्चार माध्यम, सामाजिक सञ्चाल, चियापसल, चोक गल्ली, घर परिवार र जताततै निर्वाचनको गफले बढी प्राथमिकता पाउन थालेको छ ।

यसै सन्दर्भमा आँगनमा आउँदै गरेको चुनावको कुरा गर्दा ५ वर्ष अगाडीको निर्वाचनको सम्झना गर्ने गरिन्छ । देश पुनर्संरचना गरी सँघियता लागु भए पछि भएको र करिब साँढे २ दशक जन प्रतिनिधी विहिन स्थानीय तहहरुलाई जन प्रतिनिधी दिएको यो निर्वाचन निकै महत्वपुर्ण रहेको थियो । यस आलेखमा निर्वाचन आयोगले तयार गरेको ०७४ सालको चुनावी परिणामको प्रतिवेदनको आधारमा रामेछाप नगरपालिका भित्रको चुनावी तथ्याँकहरु केलाउने कोशिस गरिएको छ । यस लेखको छलफलमा नगर प्रमुख पदकका उम्मेद्वार र वडा अध्यक्षका उम्मेद्वारहरुले प्राप्त मत सँख्यालाई प्रमुख आधार मानिएको छ ।

नगर प्रमुख र उपप्रमुख निर्वाचन :

रामेछाप नगरपालिकामा २०७४ सालको स्थानीय चुनावमा नगर प्रमुखमा नेपालीकाँग्रेसका नरबहादुर थापा मगर ४ हजार ४ सय १ मत प्राप्त गरी बिजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका रोशन पाख्रिनले ४ हजार ३ सय मत प्राप्त गर्नु भएको थियो जुन बिजयी मत सँख्या भन्दा १ सय १ अंकले कमहो । त्यसै गरीमाओवादी उमेद्वारका शिशिर खड्गीको मत ३ हजार २ रहेको थियोजुन बिजयी उमेद्वारको मत भन्दा १३ सय ९९ अंकले कम हो ।

यस पालिकाको उप प्रमुखमा काँग्रेसका सृजना खड्का ४ हजार ३ सय ९३ मत प्राप्त गरी बिजयी हुनु भएको थियो । त्यसै गरी उहाँका प्रतिद्वन्दीहरु एमालेका शान्तादेवी पौडेलको ३ हजार ९ सय ९४ मत र माओवादीकी इन्दिरा बख्रेलको ३ हजार १ सय ३८ मत प्राप्त भएको थियो ।

वडा नं.: ६९ मतान्तरले एमाले विजयी

रामेछाप १ गोठगाउँको वडा अध्यक्षमा एमालेका उम्मेद्वार नर बहादुर थापा ४३८ मत ल्याई बिजयी भएका थिए जुन काँग्रेसका रेवत बहादुर खत्रीको मत ३६९ भन्दा ६९ मात्रै बढी हो । माओवादीका दुर्गाबहादुर थापाले भने सम्मानजनक २८१ मत मत पाएका थिए ।

 वडा नं.: रोचक त्रिपक्षिय भिडन्तमा माओवादीको बाजी

तीन वटै दलको अधिक प्रतिस्पर्धा वडा नं.२ देउरालीमा भएको देखिन्छ । जहाँ माओवादीका उम्मेद्वार निर बहादुर श्रेष्ठले बाजी मार्न सफल भएका थिए । उनले ४८० मत प्राप्त गरेका थिए भने उनीका प्रतिस्पर्धी टहल बहादुर कार्कीले ३४ मत कम अर्थात् ४४६ मत ल्याएका थिए । त्यसैगरी एमालेका एकेन्द्र बहादुर रोका ले ४२१ मत ल्याएका थिए जुन बिजयी उम्म्द्वार भन्दा ५९ मत मात्रै कम हो ।

 वडा नं. : द्विपक्षिय भिडन्तमा एमालेको जीत

वडा नम्बर ३ साँघुटारमा भने एमाले र काँग्रेस बीच मात्रै भिडन्त भएको थियो किनकी यहाँ माओवादीलाई निकै कम मत प्राप्त भएको देखिन्छ । एमालेका भुपालराज श्रेष्ठ ५१७ मत सहित बिजयी भएका र उनका निकटतम प्रतिद्वन्दी नबराज ढकालको भोट ४५१ रहेको थियो जुन बिजयी मत भन्दा ६६ अंकले कम हो ।

 वडा नं. : ठुलो सँख्यामा मतदाता भएको वडामा काँग्रेस शक्तिशाली

यस चुनावमा काँग्रेसका मेयरका उम्मेद्वार रहेको यस वडा, ५ नम्बर वडा पछि सबै भन्दा बढी जनसँख्या र मतदाता रहेको वडा हो । यहाँबाट वडा अध्यक्षमा काँग्रेसका टुपेन्द्र बहादुर तामाङ ७७७ मत सहित बिजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका सुन्दर घिमिरेले ४६४ भोट अर्थात् विजयी भन्दा ३१३ मत कम र माओवादीका जय बहादुर योञ्जनको मत ३६२ अर्थात् बिजयी उमेद्वार भन्दा ४१५ कम रहेको थियो ।

 वडा न.: माओवादी र काँग्रेसबीच तीब्र प्रतिस्पर्धामा माओवादी बिजयी

वडा नं.५ रामेछाप नगरपालिकाका ९ वटा वडाहरु मध्ये सबै भन्दा बढी मतदाता र जनसँख्या भएको वडा हो । यस वडामा प्रतिस्पर्धा त्रिपक्षिय भएता पनि प्राप्त मतको आधारमा दुई जना युवा नेताहरु माओवादीका भिम बहादुर तामाङ र काँग्रेसका हरिशचन्द्र श्रेष्ठ बीच तीब्र प्रतिस्पर्धा भएको र माओवादीले बाजी मारेको निचोड निकाल्न सकिन्छ । यस चुनावमा तामाङले ६५३ मत पाएका थिए भने र श्रेष्ठले ५९८ मत अर्थात् तामाङको भन्दा ५५ मत मात्रै कम मत पाएका थिए । एमालेका कुमारबाबु श्रेष्ठले ४३० मत कम अर्थात् बिजयी मत भन्दा २२३ अंकले कम मत पाएका थिए ।

 वडा नं.: दुई कम्युनिष्ट पार्टी बीच तीब्र प्रतिस्पर्धा एमाले बिजयी

एमालेका उम्मेद्वार रोशन पाख्रिनको गृह वडा रहेको वडा नं.६ मतदानको हिसाबले तेस्रो ठुलो वडा रहेको थियो। यस वडामा ४ नम्बर वडामा मेयर उमेद्वार भएको फाइदा लिई जसरी काँग्रेसले ठुलो अन्तरले बाजी मारे जसरी एमालेले बाजी मार्न सकेन । त्यसैले नर बहादुर थापामगरको जीत र रोशन पाख्रिनको हारको कारण उनीहरुको आआफ्ना गृह वडा मानिन्छ । यस वडाका वडा अध्यक्षमा धन बहादुर खड्का ५९१ मतका साथ बिजयी भएका थिए जुन उनका प्रतिद्वन्दी मोतिलाल तामाङको ५५२ मत भन्दा ३९ मतले बढी हो । त्यसै गरी काँग्रेसका मीन बहादुर तामाङले ४१४ मत प्राप्त गरेका थिए जुन बिजयी मत भन्दा १७७ अंक कम हुन आउँछ ।

 वडा नं.: काँग्रेस धेरै बलियो, माओवादी कमजोर

सुकाजोरबाट २५ वर्षिय युवा नेता समिर कार्कीले नेपाली काँग्रेसबाट बाट वडा अध्यक्षमा जित हासिल गरेका थिए । उनले ६९० मत प्राप्त गरेका थिए जुन उनका निकटतम प्रतिद्वन्दी एमालेका ढालविक्रम कार्कीको मत ५५३ भन्दा १३७ मत बढी र माओवादीका उमेद्वार राजुविक्रम बस्नेतको २४० मत भन्दा ४५० अंकले बढी हो ।

 वडा नं. : काँग्रेसको गढ

रामेछाप नगरपालिकाको वडा नं. ८ नेपाली काँग्रेसका धेरै केन्द्रिय स्तरका नेताहरुको गाउँ रहेकाले यसलाई काँग्रेसको गढ मानिन्छ । यस कुरालाई ०७४ को यस चुनावको मत परिणामले पनि देखाउँदछ, जहाँ काँग्रेसका केदार कार्की ७०४ मत मत सहित वडा अध्यक्ष भएका थिए । यहाँ एमालेका सुमन कुमार श्रेष्ठले ४०० र माओवादीका सरोज कटुवालले ३०९ मत हासिल गरेका थिए जुन बिजयी मत भन्दा क्रमश ३०४ र ३९५ अंकले कम हुन आउँछ ।

 वडा नं.: सबै भन्दा सानो वडा माओवादी किल्ला

वडा नं. ९ रामेछाप नगरपालिकाका सबै वडाहरु मध्ये भुगोल, जनसँख्या र मतदाताको हिसाबले सबै भन्दा सानो वडा हो ।  यस वडाबाट माओवादीका शिशिर खड्गी मेयरका उमेद्वार रहेका थिए सायद त्यसकारण पनि हुन सक्छ यस वडामा माओवादीले धेरै मत अन्तरले बिजय हासिल गरेका थिए । यहाँबाट माओवादीका चन्द्र बहादुर श्रेष्ठले ३३१ मतका साथ बिजय हासिल गरेका थिए जुन उनका प्रतिद्वन्दी एमालेका देब बहादुर श्रेष्ठको १५८ र काँग्रेसका रमेश कुमार तामाङको १०३ भोट भन्दा क्रमश दुई गुणा र तीन गुणा बढी हुन आउँदछ ।

को थिए मतदाता ?

२०७४ सालको स्थानीय चुनावमा रामेछाप नगरपालिकाका १८ हजार ९ सय ४८ जनाको मतदाता नामावलीमा नाम समावेश भएको थियो, जसमा ९७७२ जना महिला र ९१७६ पुरुष रहेका थिए । यी मतदाताहरुका उमेर समूह मध्ये सबै भन्दा बढी ४१ देखी ६० वर्ष उमेर समूहका ६०३४ जना रहेका थिए । जम्मा मतदाता मध्ये ११ हजार ९ सय ७६ जना अर्थात् करिब ६३ प्रतिशत निरक्षर मतदाता थिए ।

बदर मत दुखिरहने घाउ :

रामेछाप नगरपालिकामा मतदाता नामावलीमा रहेका १८हजार९सय४८जना मध्ये १२ हजार ९ सय ७० जनाले  मात्रै मतदान केन्द्र सम्म पुगेर मतदान गरे ।त्यस मध्ये पनि १ हजार ४० जनाको मत खेर गयो अर्थात् बदर भयो र ११ हजार ९ सय ३० जनाको मत मात्रै सदर भयो । एक पटक कल्पना गरौँ कि यदि यी सबै बदर मत सदर भइदिएको भए के हुन्थ्यो होला ? यति ठुलो अन्तरको बदर मत भएकाले परिणाम सायद अलग हुन सक्थ्यो की?माथिनै उल्लेख भइ सक्यो कि यसै चुनावमा १०१ भोटको अन्तरले नगर प्रमुखर ३४ भोटको अन्तरले वडा अध्यक्ष बिजयी भएको छ ।आयोगको प्रतिवेदन अनुसार करिब ६३ प्रतिशत मतदाता निरक्षरहुनु र जिल्लाका ८ वटा स्थानिय तह मध्ये सबै भन्दा बढी मत ८.७% बदर हुनु एक अर्कामा अन्तर सम्बन्धित रहेको देखिन्छ ।

 निष्कर्ष एवं सिकाई सार :

माथिका कुराहरुबाट ०७४ को चुनावबाट रामेछापका चुनाव गर्ने, गराउने, मतदाता र मत माग्नेले के सिक्ने त ?

  • तिब्र प्रतिस्पर्धा :गत २०७४ को स्थानीय निर्वाचन निकै प्रतिस्पर्धात्मक थियो । नगर स्तरमा काँग्रेस र एमाले बीचबढी प्रतिस्पर्धा थियो भने वडा स्तरमा वडा नं.४, ७, ८ र ९ बाहेक अरुमा तीन दल बीच तीब्र प्रतिस्पर्धा रहेको थियो ।

 

  • क्रस भोटिङ : भनिन्छ – स्थानीय निर्वाचनमा पार्टी भन्दा व्यक्तिगत प्रतिस्पर्धा बढी हुन्छ । स्थानीय चुनावमा वडा स्तरमा ५ जना र नगरमा २ जना गरी ७ जनालाई मत दिनु पर्ने हुँदा मतदाताले सातवटै छाप बाँडेर दिन सक्छन् र दिएका हुन्छन् । वडाकै टिममा निर्वाचितहरुको मतसँख्या बराबर नहुनुले यसको पुष्टि गर्दछ । त्यसै गरी नगर स्तरको मत सँख्या हेर्दा एमालेले प्राप्त भोट सँख्याले केहि भन्न खोजेको देखिन्छ । एमालेका उमेद्वार रोशन पाख्रिनले ४ हजार ३ सय मत पाए भने एमालेका सबै वडा अध्यक्ष उमेद्वारहरुको मत जोड्दा ३ हजार ९ सय ७२ हुन आउँछ । यस हिसाबमा पाख्रिनले उनका वडा अध्यक्षका उम्मेद्वार भन्दा ३ सय २८ मत बढि ल्याएका थिए । त्यसै गरी काँग्रेसका उम्मेदवार नर बहादुर थापा मगरले उनका वडा अध्यक्षका उम्मेद्वार भन्दा १ सय ५१ मत कम र माओवादी उम्मेदवार शिशिर खड्गीले माओवादी वडा अध्यक्षका उम्मेद्वारहरु भन्दा २ सय ५२ मत कम पाए ।

 

  • मेयर उम्मेद्वारको गृह वडा: यस चुनावमा काँग्रेस, एमाले र माओवादीका मेयर उमेद्वारका आफ्ना वडाहरुमा भने जीत हासिल गरेका छन् । ठुलो मतदाता भएको भएको ४ नम्बर वडामा धेरै अन्तरको जीतले काँग्रेसलाई फाइदा भएको थियो । माओवादीका लागि ९ नम्बर वडामा धेरै अन्तरको जीतले सहयोग गरे पनि कम मतदाता भएको वडाका कारण त्यसले नगर स्तरमा धेरै प्रभाव पारेन । त्यसैगरी एमालेले पनि वडा नं.६ मा धेरै अन्तर ल्याउन नसक्दा नगर स्तरमा त्यसले खासै सहयोग गरेन ।

 

  • निर्णायक वडाहरु: रामेछाप नगरका नौँ वटा वडाहरु मध्ये ५ हजार भन्दा बढी जनसँख्या भएका र १५०० भन्दा बढी मतदान भएका ठुला देखि साना वडाहरु क्रमश ५, ४, ६, ७ र ८ निर्णायक सावित भएका छन् । यी ठुला पाँच वडाहरु मध्ये तीनमा काँग्रेस बढी मतान्तरले विजयी हुनुर दुईवटामा दोस्रो हुनुले उसलाई नगरप्रमुख जिताउन निर्णाँयक भुमिका खेलेको देखिन्छ ।

 

  • बदर मत : उम्मेद्वारहरु बीच निकै रोचक प्रतिस्पर्धा हुँदै गर्दा करिब ९ प्रतिशतको हाराहारीमा मत बदर भएको छ । यो रामेछाप जिल्लाका आठ स्थानीय तहहरु मध्येमा यो सबै भन्दा बढि हो । आयोगकै तथ्यांक अनुसार यस पालिकामा निरक्षर मतदाता बढीरहेकोलेयो नै बदरको प्रमुख कारण हुन सक्छ। १ सय १ मतान्तरले नगर प्रमुख र ३४ मतान्तरले वडा अध्यक्ष विजय हुने पालिकामा १ हजार ४० मत पुर्ण रुपमा बदर हुनुले निर्वाचन अभ्यासमै कमजोरी रहेको देखिन्छ । पटक पटक उठेर सेलाएको विद्युतिय मतदानको सवाल वा अन्य आधुनिक प्रविधिको आवश्यकता यसले देखाउँदछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार