तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ को चुनाव प्रचारका क्रममा बानेश्वरमा भाषण गर्दै ‘म मेलम्चीको पानी ल्याएर सडक पखाल्छु’ भनेको कुरा मानिसहरु सम्झिन्छन् । त्यतिबेलै मेलम्चीको पानी घरको धाराबाट आउने सपना देखेका काठमाडौंबासीको त्यो सपना पूरा हुन झण्डै ३० वर्ष लाग्यो । काठमाडौंका केही भागमा वितरण गरिएको मेलम्चीको पानी आफ्नो घरको धारामा आउन थालेपछि स्थानीय खुशी छन् ।
पुरानो बानेश्वर, बत्तिसपुतलीका एरिना वैद्य दिउँसो ३ बजे नै धारामा पानी आएको देखेर निकै खुशी हुनुहुन्छ । अरु बेला बिहान बेलुका मात्रै धारामा पानी आउँथ्यो । धारा उही छ, अनि पानी थाप्ने भाँडो पनि उही । तर धारामा आएको पानी हो, मेलम्चीको । भिमसेन गोला काठमाडौका मीना देवि पनि मेलम्चीको पानी आएकोमा दङ्ग हुनुहुन्छ ।
अब जारको पानी किनेर खानु पर्ने बाध्यता हट्ला भन्ने उहाँलाई लागेको छ । तर मेलम्चीको पानी दिगो रुपमा धारामा नआउने हो कि, भन्ने चिन्ता पनि सँगसँगै छ । पुरानो वानेश्वरका उमेश लामिछानेलाई मेलम्चीको पानी आईहाल्ला भन्ने विश्वास थिएन । तर पानी आयो, त्यो पनि घरमा धारामा । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आइतबार महांकालचौर पोखरीमा आइपुगेको पानी देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कपन, न्युरोड लगायत क्षेत्रका धारामा पानी वितरण सुरू गरेको छ ।
महाकालचौरका अम्बर बहादुर मिश्र, २६ वर्षसम्म जारकै पानी किनेर खाएको सुनाउँदै मेलम्चीको पानीले त्यो बाध्यता हटाउने अपेक्षा गर्नुहुन्छ । कपन काठ्माडांैका सृजना चौलागाई दिउँसो पसलमा बसिरहनुभएको थियो । त्यहीबेला हल्ला चल्यो, धारामा मेलम्चीको पानी आएको । पसल बन्द गरेर घर पुग्नुभयो, धारामा पानी आएको हल्ला नभएर बास्तविकता रहेछ । अब मेलम्चीको पानी खेर नजाने गरी उपयोग गर्ने उहाँको योजना छ ।
पहिलो चरणमा ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित ट्याङ्कीहरुमा जम्मा हुनेछ । दोस्रो चरणमा बालाजुस्थित पानी पोखरीमा साढे ६ करोड लिटर, तेस्रो चरणमा बाँसबारी र महाराजगञ्जका पानी पोखरीमा साढे ८ करोड लिटर र चौथो चरणमा किर्तिपुर, ठिमी, भक्तपुरस्थित पोखरीमा समेत गरेर १७ करोड लिटर पानी जम्मा हुनेछ । त्यो पानी काठ्माडौं उपत्यका खानेपानी लिमिटेडले अन्र्तगतका धाराहरुमा पानी गरिने छ ।