देवशंकर पौडेल
कुनै दार्शनिक आधार नभएको, सैनिकको बलमा राजाद्वारा निर्देशित शासन भएकाले गर्दा पञ्चायतलाई कुनै राजनीतिक विचार मानिन्नथ्यो, मानिन्न । गाउँगाउँमा कम्युनिष्ट र काँग्रेसको विचारले नै गुप्तरुपमा राजनीति प्रचार प्रसारको काम गरिरहेका थिए । आजको जस्तो यो पदमा पुगेपछि यहाँबाट फड्को हानेर यो सुविधामा पुग्छु, भन्ने लालचाको समय पनि थिएन । भिन्न विचार भए पनि साझा दुश्मन पञ्चायतको विरुद्धमा सक्रिय कम्युनिष्टलाई काँग्रेसले र काँग्रेसलाई कम्युनिष्टले मायालु भावले हेरिन्थ्यो ।
पञ्चायत विरोधि नाम चलेका ब्यक्तिहरू को को कहाँ कहाँ छन् ? भनेर अध्ययन गर्दा देवीध्वज बस्नेत (पेकरनास, गुम्देल), पं.टंकराज पौडेल र हरिकुमार सुनुवार (दुरागाउँ), विष्णुप्रसाद दाहाल (रातमाटा, बिजुलीकोट), गोपालदास भौकाजी (साँघुटार), रामप्रसाद न्यौपाने (बाबियाखर्क), पद्मशंकर अधिकारी (कठजोर), शिवबहादुर खड्का (बेथान) आदि जस्ता ब्यक्तिहरू थुमथुममा देखिन्थे । जाे काँग्रेस नजिक थिए ।
कम्युनिष्टतर्फ भने, भङ्गेरीमा नारायणबाबु श्रेष्ठ र गुन्सीमा कमलप्रसाद चौंलागाईं स्थापित नेतृत्व हुनुहुन्थ्यो । थुमथुममा “म कम्युनिष्ट हुँ” भन्न सक्ने अवस्था थिएन । त्यसकारण कोहि देखिनु सम्भव पनि थिएन । सैपुमा चतुरमान सुनुवार, पुष्पराज पौडेल, शम्भुप्रसाद पौडेल र टंकनाथ पौडेल, खनियापानीमा सीताराम भण्डारी, साँघुटारमा राजकुमार श्रेष्ठ लगायत दह्रो युवा पीँडि भित्रीरुपमा सक्रिय थियो । त्यस बेला पञ्चायतको राजनीति शब्द सुन्नै नचाहने, भौतिक र मनौवैज्ञानिक दमनका कारण भित्रभित्र गुम्सिएर बसेका कम्युनिष्टहरू बाक्लै थिए । धेरै जसो विचार बलियो बोकेका कार्यकर्ता हुँदा पनि यीनै कारणले असंगठित भएर बस्न चाहन्थे । एक आपसमा चिनाजान हुन कठिन भएर कडा भूमिगत जीवन विताइरहेका थियो । आजको आँखाबाट हेर्दा, यस्तो अवस्था रहिरहनु कम्युनिष्ट आन्दोलनको उत्तरोत्तर प्रगतिका निम्ती बाधक हुनसक्थ्यो ।
केहि कलेज पढ्ने विद्यार्थी कमलविक्रम कार्की (हिलेपानी), केदारबहादुर कार्की (बेताली), धनबहादुर कार्की (होदिल), कैलाशप्रसाद ढुङ्गेल (पकरबास), ठाकुरप्रसाद दाहाल (खिम्ती), भरतप्रसाद भण्डारी (खनियापानी), रामचन्द्र भण्डारी (गेलु), सालिग्राम घिमिरे (बावियाखर्क), तारानिधि सुवेदी र उद्धवप्रसाद सुवेदी (केवलेश्वर), राजन घिमिरे (बावियाखर्क), एन खत्री (गेलु) बाहेक बाँधिएका कम्युनिष्टहरू रामेछापमा अत्यन्त कम थिए । नबाँधिएकाको संख्या अधिक थियो । त्यसैले धेरै असल कम्युनिष्टहरू चर्चामा आउन नसकेको अवस्था थियो । विचारले बलियो गरि नवाधिएको कार्यकर्ता सिमलका थाम र निदाल जस्तो हुँदो रहेछ । समाजमा प्रतिष्ठा बढेको देखिने तर ब्यवहारमा कमजोर ।
मान्छे मीठो खान, राम्रो लाउन, पद, प्रतिष्ठा, सुख, सुविधा प्राप्तिको मामलामा लोभिएर जीवन बर्वाद पार्दो रहेछ । रामेछापमा पनि प्रगतिशिल भनिएका केहि सक्रिय युवाहरू पञ्चायतको सामान्य सुविधा र आस्वासनमा लोभिएर त्यतिबेलै विसर्जित भए । त्यसले कम्युनिष्ट आन्दोलनलाई जति नोक्सानी गर्याे । त्यो भन्दा कैयन गुणा बढि घाटा उ स्वयम्लाई भयो ।
त्यसवेला आन्दोलनले हुट्हुटी लगाएको थियो । खिम्तीमा भोजराज कडरियाजी सक्रिय हुनुहुन्छ, भन्ने हल्ला चर्चा सुनें । उहाँलाई खोज्दै खिम्ती बेशी पुगें । तामाकोशी जनजागृति मावि परिसरको एउटा ठूलो ढुङ्गामा कम्युनिष्ट आन्दोलन उठाउने सन्दर्भमा लामो छलफल गरेर घण्टौं वितायौं । भोजराजजी साच्चै भित्रीमनले लागेको पाएँ, जो आज पनि दृढ हुनुहुन्छ । उहाँबाट सुनें, गेलुमा सहदेव केसी पनि कम्युनिष्ट हुनुहुन्छ । केहि समय पछि उहाँलाई पनि भेटें । कुरा त लामै भयो । उहाँमा बाँधिएर काम गर्ने खालको स्वभावको अभाव महशुस गरें ।
समयान्तरमा पुष्पराज कडरियाजीसंग पनि कुरा भयो । युगराज पाख्रिन (ओख्रेनी), तुलप्रसाद कडेल (टोकरपुर), आङबाबु लामा (बाम्ती), प्रेमबहादुर खड्का (भदौरे), पुष्करराज प्रसाई (मुगीटार), शिवकुमार कार्की (टिमु), ढालविक्रम कार्की (हिलेपानी), ज्ञानबहादुर गुरुङ (दुरागाउँ), भोजबहादुर सुनुवार (कुँबुकाँस्थली) आदिसंग सम्पर्क विस्तार हुँदै गयो । रामबहादुर कार्की, गोविन्द सार्की सुनारपानीहरूसंग पनि समयक्रममा सम्पर्क भयो ।
रामेछापको राजनीतिक आन्दोलनमा ठाउँठाउँमा शिक्षकहरूबाट विद्यालय विद्यालयमा आन्दोलनको झण्डा भित्रभित्रै उठाइएको थियो । रामेछाप कार्यक्षेत्र भएका जेटिए, स्वास्थ्य कर्मी, विभिन्न फिल्डका कर्मचारीहरूको कम्युनिष्ट आन्दोलन प्रचारप्रसारको कार्यमा अविस्मरणीय योगदान रह्यो । आज कम्युनिष्ट आन्दोलनमा संख्यात्मक बृद्धि तीब्रगतिमा भएको छ, खासै अनिकाल छैन । यो संख्यात्मक बृद्धिको चरणलाई गुणात्मकतातिर फड्को मार्नेतर्फ कदम चाल्नु अत्यन्त जरुरी भइसकेको छ । हिजो संख्यात्मक बृद्धि कम गुणात्मक बृद्धि बढ्ता थियो ।