-भूपहरी पौडेल
(मन्थली अहिले रामेछाप जिल्लाको सदरमुकाम रजिल्लाको प्रमुख शहर बजार केन्द्र भएको छ । तत्कालिन समयमा रामेछापको लागि एक “मन्थलीबेसी” मात्रै रहेको मन्थलीमा २०४५ सालमा रामेछाप बाजारबाट सदरमुकाम सरे पछि बजारिकरणको जग बस्यो । सदरमुकाम सरेको केही वर्षमै सुरु भएको दशक लामो जनयुद्ध अन्य सामाजिक राजनैतिक कारणले देशका विकास नै सदरमुकाम केन्द्रित भएर गयो । झन् २०६२/६३को आन्दोलन र शान्तिकाल पछि मन्थलीमा तीब्र सहरिकरण भएको छ । त्यसको एक दशक पछि २०७४ मा भएको राज्य पुनसंरचना अन्तरगत विभिन्न ठाउँमा पालिका स्थापनाले मन्थलीको केन्द्रियतालाई कमजोर पारिदै गएको भनिएता पनि हाल सम्म मन्थलीको वजन कम भएको छैन ।
ई-रामेछाप डटकमलेरामेछापको ऐतिहासिक सांस्कृतिक महत्वलाई प्रवर्धन गर्ने उद्देश्यले रामेछाप केन्द्रित समाज विज्ञानका लेख प्रकाशनको श्रंखला सुरु गर्ने जमर्को गरेका छ । यसै क्रममा हामीले डा. भुपहरी पौडेल द्धारा पुरातत्व विभागको जर्नल “प्राचिन नेपाल” को २०४५ को अंक १०५ माप्रकाशित “मन्थलीका माझी” लेखबाट एक अंश “मन्थलीको ऐतिहासिक किंबन्ती” प्रकाशन गरेका छौँ । मन्थली सदरमुकाम सर्न भन्दा अगाडि लेखिएको यस लेखमा उक्त समयको मन्थली, मन्थलीको ऐतिहासिकता र जनश्रुतिमा रहेका किंबदन्तिहरु रोचक ढंगले प्रस्तुत गरिएका छन् । – सम्पादक)
मन्थलीको परिचय :
मन्थली मध्यमाञ्चल विकास क्षेत्र अन्तरगत जनकपुर अञ्चलको रामेछाप जिल्ला सदरमुकाम (रामेछाप बजार) बाट डेढकोष उत्तर दिशामा पर्छ । नेपालको राजधानी काठमाडौँ हनुमानढोकाबाट मन्थलीलाई सवा छब्बीस कोश पर्छ । पुर्वाञ्चल राजमार्ग नपुगुञ्जेल सुदुर पुर्व धरान धनकुटा देखि दार्जिलिङ सम्मका मानिसहरु मन्थलीकै बाटो भएर जाने गर्थे । अहिले यहाँ घाटबाट पुर्व आकाशे भन्ने ठाउँमा हप्ताको दुईपटक ट्विनअटर विमान सेवा उपलब्ध छ भने वुस्ति सडक रामेछाप सडक निर्माण कार्यान्वयन भएकोमा हाल स्थगित छ । बुस्तिदेखी जफे बाह्रविसे र कारमबोट देखि मच्छेडाँडी सम्म कच्ची मोटरबाटो पनि तयार भईसकेको छ ।
मन्थली एउटा प्रसिद्ध ठाउँ हो । कालिञ्चोक लेखबाट बगेर आएका सुनकोशी र तामाकोशी दिदीबहिनीको रुपमा लिइन्छ । सुनकोशी (दिदी) सँग तामाकोशी (बहिनी) को भेट बेनीघाटमा पुगेर हुन्छ । त्यसपछि सुनकोशीकै रुपमा बगेर गई उत्तरबाट बगेर आउने अरुण नदिमा मिसिन्छ र धनकुटाको फेदीबाट बगेर आउने तमोर पनि त्यसै नदिमा मिसिएर सो ठाउँ त्रिवेणी कहलाउँछ । यहिं देखि सातैवटा नदिको पुर्व संगम भएकोले यस मिश्रित नदिको सिंगो नाउँ सप्तकोशी हुन आउँछ । मन्थलीघाटमा तामाकोशी पर्छ । यस घाटमा साँघु बन्नु भन्दा पहिले डुंगाबाट मानिसहरु वरिपरि गर्थे । पहरामा ठोकाएर डुंगा खियाउनु पर्ने हुँदा निकै खतराको अनुभव गरिन्थ्यो । दक्षिण दिशा घ्याप्चेदेखि बगेर आएको रणजोर खहरे (डुँडे खोलो) पनि यहिं आएर मिसिन्छ । डुँडेखोला (काठमाडौँ जाँदाको इन्तिजाम अनुसार) बाट दाहिनेपट्टी जो हिलेपानी मुनि भोर्लेबाट बगेर आएको (दक्षिण दिशाबाट) सुकाजोर खहरे पनि मन्थलीमै मिसिन्छ । यहाँ रहेका अन्य झोराहरु जो वर्खामा मात्र बग्दछन् ती पनि तामाकोशीकै मुलप्रवाहमा मिसिन्छन् ।
मन्थलीबाट पश्चिमपट्टी देखिने ठुलो डाँडो भलुवाजोर हो । जनश्रुति अनुसार प्राचिन समयमा यहाँ भलायोका रुखहरु प्रसस्त पाइन्थे । भलायोका पात मुख्यत: पहाडी भेगमा घुम बुन्नका लागि प्रयोग गरिन्छ । पछि लँडाई भएर जोडिएको हुँदा भलुवाजोर भन्न थालियो । अर्को किंबदन्ती अनुसार यहाँ पहिले जोर भालु रातदिन हुन्थे । त्यसैले यसको नाउँ भलुवाजोर रहन गएको हो । अहिलेको भौगोलिक सिमा यस प्रकार छ । पश्चिममा भलुवाखोलो, सिम्पानी ढुङ्गेश्वरको तेर्सो बाटो, तिलेचौर जाने तेर्सोबाटो हुँदै सिम्लेखोलो, गुवाखोला देखि उत्तर सुकाजोर खोला हुँदै मथ्लो मविटारबाट उकालो लाग्ने ठाडो बाटो भदौरे हुँदै भदौ खोलाबाट टेकानपुर कालापनी खोलादेखि पश्चिम तामाकोशी दक्षिणको भुभाग मन्थलीको रुपमा लिइन्छ ।
मन्थलीको ऐतिहासिक किंवदन्ती:
५०० वर्ष अगाडी उदयपुर जिल्लाको त्रिजुगा भन्ने ठाउँबाट धर्मजीत र कर्मजीत यहाँ आएका हुन् । त्यस समयमा यहाँ खैरेनी वैरेनी थियो । यसको केही समयपछि मन्दरे भन्ने माझी राजा भए । राजग्राम (रजगाउँ) मा यीनको दरबार थियो । कसै कसैको जनश्रुति अनुसार रजगाउँमा हाँ पालिन्थ्यो, यहाँ दरबार थिएन । हात्तीटारमा हात्ती बाँधिन्थ्यो । कुनाउरीमा कुनाउरो राखिन्थ्यो । कुरुहर(माझि भाषामा बगैँचा)मा बगैचा थियो ।धोबिघाटमा लुगा धुने धोवी थिए । भैसेश्वर डाँडामा भैँसी पालिन्थ्यो । मन्थली डाँडो कटुवाल डाँडो थियो जहाँ दमाईहरु बस्थे । गाईखुरामा गाई पालिन्थ्यो । गोरु कटेरोमा गोरु बाँधिन्थ्यो । रैतिद्मा भेडा पालेको थियो ।
मन्दरे राजाले आफैँले पानी खानको लागि भाला रोपेर निकालेको पानी-मन्दरे पानी अहिले सम्म छदैछ । कोशीको पानीमा कुनै शत्रुपक्षले विष हाल्न सक्छ भनेर मन्दरे राजाले पानी खाने बेग्लै कुवा बनाएको हो र यसमा कडा निगरानी राखिन्थ्यो । माझिहरु अचेल पनि दशैँको टिका लगाउँदा “गोढवारी सिन् कुनौरीतक छाग्ना, भेरी, हग्दिक भनेर आशिर्वाद दिन्छन् । यी कुराहरु अहिले सम्म जस्ताको तस्तै जनजिब्रोबाट पुकारिदै आएको हुँदा यो केबल किंबदन्ती नभएर यथार्थ घटना हो भन्ने अनुमान गर्न सकिन्छ । (हेर्नुहोस् मन्थलीका माझीहरुको किपट, धर्मदर्शन, अंक २, २०४१ फागुन चैत्र) ।
मन्थलीमा ब्राह्मण, क्षेत्री, कामी, सार्की, नेवार, दमाई, माझी र वादी जातिको बसोबास पाइन्छ । बाह्रमण पुरोहित्याई काम गर्ने, क्षेत्री यसोउसो सुरक्षात्मक काम गर्ने, कामी भाँडा बनाउने, दमाई लुगा सिलाउने, सार्की जुत्ता सिउने, नेवार व्यापार गर्ने, माझी डुङ्गा चलाउने र बादी नयाँ मादल बनाएर बेच्ने तथा पुराना मादल सखार्ने काममा प्रसिद्ध भएता पनि सबैको साझा पेसा कृषि कर्म हो । यसभन्दा अतिरिक्त आफुले आर्जन गरेको सीप अनुसार जुनसुकै काम गर्न पनि छुट पाउँछ । वस्तुत: व्यवहारमा फसेको मानिसले जुनबेला जे पर्छ त्यो काम गर्न सक्षम हुनु पर्छ ।
मन्थलीमा सांस्कृतिक र धार्मिक स्थलहरु पनि छन् । यहाँको ढुङ्गेश्वरले ऐतिहासिक ख्याति कमाएको छ । यस सम्बन्धमा प्रचलित किंबदन्ति यस प्रकार छ ।
अहिले मन्थली भेगमा बसोबास गरेका घिमिरेहरुको पुर्ख्यौली थलो नाम्दु काभ्रे हो । यहाँबाट धनपति घिमिरे मन्थलीमा बसोबास गर्न आएका हुन् । धनपतिका दुई भाई देवानन्द र गङ्गाराम नाम गरेका छोरा भए । गङ्गाराम पट्टीका सन्तान् जिम्वालहरु हुन् । देवानन्दपट्टीका सन्तान् हरिशंकर बावियाखर्केहरु भए । मन्थली बेसीमा औलो लाग्ने भएकाले सम्पन्न वर्गका मानिसहरु प्राय शिखरतिरै बस्न रुचाउँथे । देवानन्दका एघारौँ पुस्ताका हरिशंकर हुन् भने गङ्गारामका दशौँ पुस्ताका ज्ञानप्रसाद हुन् । देवानन्द र गङ्गारामका सन्तानहरु वस्तु चराउन जाँदा दुवैको सन्तान मध्ये एउटाले ढुंगा उचाल्न खोज्यो । जमिनबाट उचाल्यो पनि तर मिल्काउन सकेन । त्यसपछि उनी (दाज्यू) घरमा गएर भाईलाई सारा वृतान्त सुनाएर भाई आएर उचाल्न खोज्दा त्यस्तै स्थिति भयो । भोलिपल्ट चार भाई आएर उचाल्न खोज्यो तैपनि ढुंगो मिल्किएन । उनीहरु सबै लागेर मिल्काउन खोज्दा नमिल्किए पछि त्यसमा विभिन्न संका उपशंका उब्जे । त्यसपछि उदैनारायण समेतका भाईले बेलपाती टिपी ढुङ्गामा छोई घरमा लगेर सिरानमा हाले । राति सुतेपछि सपनामा त्यो नमिल्किएको ढुङ्गो महादेव भएको र त्यहाँ पुजाको परम्परा चलाउनु पर्ने संकेत पाए । सपनाको कुरा विपनामा सबैतिर फिजाए । त्यसपछी त्यो ढुंगामा महादेवको पुजा गर्ने परम्परा चल्यो । त्यसको तीन पुस्ता पछि रामलाल घिमिरेबाट गुठी राखियो । त्यसै गुठीबाट पर्वपुजा चलिरहेको थियो । यसरी देवीप्रसादका पिताबाट गुठ राखियो तर पछि पुजा परम्परामा शिथिलता बयो । विष्णुप्रसादका सन्तान् भएनन् । विभिन्न कारणवस रोकिएको पर्वपुजा फेरी चलाउँछु भनेर उनले कबोल गरेपछि उनैका छोरा ज्ञानप्रसाद जन्मे । यसरी विष्णप्रसादले फेरी कबुलियतनामा गराएपछि अहिलेसम्म स्थिति बस्दै गएको छ ।
मन्थलीमा पहिले घना जंगल भएको पाइन्छ । मलायोले तामाकोशी वारपार ढाकेको थियो । मानिसहरु रुखबाटै वारपार गर्थे । डुंगाको आवश्यकता थिएन । पछि भिमसेन थापाले मन्थली विर्ता पाए । पश्चिमी भेगको सट्टा विर्ता थियो । मन्थलीमा विर्ता पाए पछि पश्चिमतिरको जग्गा लिलाम हुन् निश्चित भैसकेको थियो । यो कुरा भिमसेन थापाको श्रीमतीलाई पटक्कै मन परेन र उनीहरुले पुरानै विर्तामा जाने निश्चय गरे । त्यसपछि सुनारपानीको गरुडध्वजले २० मुरी माटोको १९ मुरी धान तिरो तिर्ने गरि लिए । पाखो चहिँ रामला घिमिरेले लिए । त्यहि खेत र पाखो गरी १० मुरी माटो ढुङ्गेघरकै गुठी छँदैछ ।
मन्थलीमा भीमसेनथापाको बगैचा अझै छँदैछ । भीमसेन थापाकै जग्गामा उनैले रोपेका आँप हुन् । खेत विराउँदै जाँदा नाली बनाएका थिए । जसमा ईटाका टुक्राहरु अझै भेटिदैछन् । भिमसेन थापाले बनाएका बगैचामा रोपेका आँपका रुख पुराना भएर धोद्रा भैसके । तर इतिहास ज्यूँदो भएर बाँचिरहेको छ ।
मन्थलीमा विश्वेश्वर महादेबको मन्दिर छ । दौडी दत्त भन्ने मानिसले बनाएको महादेवको स्थापना गरेका हुन् । दौडीदत्तले मन्थलीबाट तात्तातै कुरौनी काठमाडौँ ल्याई पुर्याएको हुँदा पर्धाने भन्ने खेत सुर्यग्रहणका दिन दान पाएका थिए जसलाई अचेल ग्रहणे खेत भनिन्छ । दौडी दत्तका नाति पद्मलाल थिए । सायद हजुरबाले लिएको ग्रहणको दानाको प्रभावले होला यिनी त्यसै विलाएर गए भन्ने स्थानियको विश्वास छ । त्यो खेत किन्नेलाई समेत अफाप सिद्द भएको अनुभव हुन्छ । त्यो खेत पहिला विर्ताहरण हुँदा रैकरमा परिणत भएको थियो । हाल चुकाहामा ५ मुरी माटो दिएर विश्वेश्वरको पुजा चलिरहेको छ । वि.सं.१९९० को भुकम्पमा मन्दिर भत्कियो तर अहिले सम्म जिर्णेद्धार हुन सकेको छैन ।
करमबोटमा सुतार कार्किले बनाएको रामचन्द्रको मन्दिरमा नित्य पुजाआजा चलिरहेको छ । मन्थलीमा बौद्धिक प्रतिभाहरुको कमि छैन । भरतराज शर्मा मन्थलिय, शङ्करप्रसाद सत्याल, हृदयराज घिमिरे, साम्बभक्त शर्मा ‘मुरारी’, चन्द्रप्रसाद ढुङ्गाना, नारायणप्रसाद सुवेदी, माधव प्रसाद घिमिरे, हरिशंकर घिमिरे, नगेन्द्र शर्मा, जगदिश घिमिरे, ज्ञानप्रसाद घिमिरे (स्थानीय इतिहासका ज्ञाता) र गणेश घिमिरे प्रमुख रुपमा पर्न आउँछन् । यी सबै आ-आफ्नो क्षेत्रका विज्ञ हुन् ।