रामेछापमा लोप हुँदै देउसी भैलो खेल्ने परम्परा,मादलको प्रयोग पनि घट्यो

रामेछापमा लोप हुँदै देउसी भैलो खेल्ने परम्परा,मादलको प्रयोग पनि घट्यो

तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज रामेछापमा देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् ।

केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिक कार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् ।देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको छ । देउसी खेल्ने केही युवा समूह निस्के पनि मौलिक भाका गाउने भने अहिले देख्नै पाइँदैन । तिहारमा मेमोरीकार्ड, युट्युबबाट गीत बजाएर नाच्ने चलन छ । यसले मौलिकरूपमा तिहारका गीत गाएर नाच्ने चलन हिजोआज कतै पनि देख्न पाइँदैन ।

दाजुभाइ र दिदीबहिनीबीचको हाँसो, खुसी, मायाप्रेमलाई फराकिलो बनाउने तिहार पर्वमा बलिराजाको पालादेखि नै देउसीभैलो खेल्ने परम्परा चलिआएको कथन छ । सूचना प्रविधिको विकास, पश्चिमी संस्कृतिको प्रभावले गर्दा परम्परागतरूपमा भट्याउँदै देउसी र भैलो खेल्ने चलन यतिबेला विभिन्न स्थानबाट हट्दै गएको हो ।

रामेछापमा पछिल्लो केही वर्षयता देउसी,भैलोमा मादलको कम प्रयोग हुँदै

रामेछापमा केही वर्षयता तिहारका समयमा देउसी, भैलो खेल्दा मादलको प्रयोग हुन छाडेको छ । कुनै समय गाउँदेखि सहरसम्म मादलको तालमा सुनिने देउसीका भाका अहिले आक्कलझुक्कल मात्र सुनिन थालेको छ । पछिल्लो पुस्ताले संस्कृति बिर्सँदा मादल पनि विरानो बन्न थालेको हो ।

नेपालका सबैजसो लोकभाकामा प्रयोग हुने लोकबाजा मादल विशेषगरि तिहारका समयमा बिक्री बढी हुने आशामा रहेका व्यवसायीहरू पनि निराश हुँदै गएका छन् । १४ वर्षअघिबाट मादल बिक्री गर्दै आउनुभएका रामेछापका सुजन घिमिरेले मौलिक हिसाबले देउसी, भैलो खेल्ने क्रम कम भएसँगै मादलको बिक्री हुनै छाडेको बताउनुभयो ।

पछिल्लो पाँच वर्षयता ब्यापार लगातार घट्दो क्रममा रहेको उहाँको भनाइ छ । पछिल्लो पुस्ताले मौलिक गितसँगै मादल लगायत मौलिक बाजालाई बिर्सदै गएको छ । संस्कृतिको पुस्तान्तरण हुन नसक्नु नै ब्यवसायीका लागि चिन्ताको विषय बनेको छ । मादलको ब्यापार घट्नुमात्र चिन्ताको विषय नभए पनि यसले मादल र मादलसँग जोडिएको नेपाली लोक संस्कृतीबारे चिन्ता थपेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार