मञ्जु श्री सम्वत २८६० औ सोनाम ल्होछार सुभारम्भ भर्खरै भएको छ देश विदेशमा रहनु भएको सम्पूर्ण तामाङ समुदायहरूले हर्ष उल्लासका साथ मनाउँदै सुख दुख साटासाट गरेर नाचगान गरेर मनाएका सामाजिक संजाल भरी प्रशस्त देख्न सकिन्छ यो बिस्तारै मञ्जु श्री सम्वत सोनाम ल्होछारको प्रचारप्रसार र तामाङहरूको मौलिक चाड विश्वव्यापी हुँदै गएको प्रष्ट छ ।
स्वभावैले हामी तामाङहरू खाने पिउने नाच्ने गाउने ख्यालठट्टामा रमाउने मौलिक परम्परा भएको एक विशेष जातिपनि हो बरु अरू बृहत् रूपमा हाम्रो यो कल्चरललाई जोगाउँदै भाविपुस्तालाइ सुम्पिनु हाम्रो अभिभारा हुनुपर्छ करिब तीन सय बर्ष सम्म आफ्नो मौलिक चाडबाड बाट वञ्चित हामी तामाङ समुदाय आफ्नै रीतिरिवाज बारे बेखबर थियो । अन्ततः २०४६ सालको जनआन्दोलन बाट प्राप्त प्रजातन्त्र पस्चात हामीले हाम्रो बारे बुझ्न पायौँ । हाम्रो आफ्नै क्यालेन्डर बारे थाहा पायौँ ।
विगतका वर्षहरूमा खुल्लामन्चमा सीमित भएको यो सोनाम ल्होछार अहिले टोलटोलमा पुगेको देखिन्छ । गुम्बा, चैत्य, छ्योर्तेन चौतारो, भञ्ज्याङ् रङ् रोगन गर्दै दर्ज्यु लुग्दर टागेर च्यान्बा मैच्याङ मात्रै होइन गान्बा गान्सोम भद्रभलाद्मी सबैजना उल्लासमय पुगेको देखिन्छ यो अत्यन्त सराहनीय विषय हो तर यतिले मात्रै पुग्दैन यो सोनाम ल्होछार घर घरमा पुग्नुपर्छ मनमनमा पुग्नुपर्छ जनजनमा पुग्नुपर्छ तामाङ समुदाय भित्र रहेका र लोप हुन लागेका रीतिरिवाज उसले अङ्गीकार गरेको जीवन शैली राज्य स्तरलाई अवगत हुनुपर्छ र यो राज्यको मूल सम्पत्तिको रूपमा रहनुपर्छ ।
पृथ्वीनारायण शाहको राज्य बिस्तारका क्रममा तामाङहरूलाई छिन्नभिन्न बनाउँदै उसको भूगोल उसको रीतिरिवाज उसको रहनसहन मात्रै खोसिएन उसको पहिचान नै मेटिदिएको प्रष्ट छ ।
कयौँ तामाङहरूले आफ्ना दस्ताबेज र रीतिरिवाजका लेखोट सम्पूर्ण आगोमा जलाउन बाध्य भएको यथार्थ हाम्रो सामु चित्रण भैसकेको छन् । राज्यसत्ता बाट लुक्दै छिप्दै काठमाडौँ आसपास बसोबास गरेका कयौँ तामाङहरूले मिजार लेखेर बसेका छन् । कतै कतै घले लेखेर बसेका छन् यस्तो किन लेखियो ? किन आफ्नै थर लेखेन ? यसको खोजिनिधी हुनुपर्छ । तामाङ भित्रै उत्पीडित तामाङ समुदाय पनि छन् तामाङले तामाङलाई म ठूलो तिमी सानो भन्ने पनि कतैकतै रहेछन् सन्तवीर पाख्रिनले लेखेको पहिलो दस्ताबेज तामाङ काइतेनमा कयौँ तामाङ हरूलाई गोथर लेखेर विभेद गरेको रहेछ ।
अहिले पनि काल्दन थर भएको तामाङहरू आफूलाई चिनाउनु पर्दा गोले भनेर चिनाउने चलन छ । ताम्बा काइतेनमा थुप्रै थरहरूलाई गोत्थर घोषण गरेको छन् । गोत्थर चैँ कसरी भएको हो ? यसको खास कारण ताम्बा काइतेनमा प्रष्ट उल्लेख नभएकोले खारेज योग्य छन् । राज्य स्तर बाट विभेद खेप्न बाध्य भएको तामाङहरू आफै भित्र पनि विभेद खेप्नुपर्ने यो न्यायोचित छैन । विशेष गरेर डलर पचाउने तामाङ घेदुङ संघले यस्लाइ निराकरण गरोस् भन्न चाहन्छु । लोपोन्मुख अवस्थामा रहेको ऐतिहासिक तामाङ धरोहर तामाङहरूले परापुर्बकालदेखी भोगचलन गरेका ऐतिहासिक ठाउँहरूको जगेर्ना गर्नु पर्छ । रामेछाप जिल्ला दोरम्बामा अवस्थित घिसिङ किपट तलाच्युइ दरबार उत्खनन र संरक्षण आजको प्रमुख काम हुन भन्ने मलाई लाग्छ । त्यहाँ नेपाली सेनाले कब्जा जमाएको तामाङ समुदायलाई अवगत नभएको अवस्था होइन कि त्यहाँको भग्नाबेशलाई संरक्षण गर्न घिसिङनै हुनुपर्ने हो ?
म घेदुङ संघलाई प्रश्न गर्न चाहन्छु र दोरम्बा सैलुङ गाउँपालिका प्रमुख तामाङनै भएको कारणले उहाँको विशेष पहल हुनुपर्छ । तलाच्युले दरबार संरक्षणका लागि र त्यहाँ रहेका नेपाली सेना अन्त कतै उपयुक्त ठाउँमा स्थानान्तर होस भन्न चाहन्छु ।
पृथ्वीनारायण शाह द्वार पिल्सिएका हामी तामाङ समुदाय अन्ततः राज्यको बिना सपोर्ट बिना सहयोग लुक्दै छिप्दै जे जति रीतिरिवाज रहन सहन जोगाएर यो अवस्थामा ल्याइ पु¥याउने हाम्रा तामाङ पुर्खाहरूलाई सलाम गर्नै पर्छ ।
तामाङ समुदाय गरिब हुनु जाँडरक्सी खानु, जात्रा मेला भर्नु, गीत गाउनु, रमाइलो गर्नु प्रमुख कारण होइन । कारण प्रत्येक तामाङ गाउँमा एक दुई घर ब्राम्हण हुनु हो । राज्यसत्ताले कुत उठाउन जिम्मा दिएका उनै ब्राम्हण जिम्मल तालुकदार हुक्केहरूले शोषण दमन गरेर हो । जनजातिहरुका राम्रा राम्रा प्लट जग्गाहरू उसको बनाउनु, राम्रा राम्रा दुधालु गाई भैंसी देख्ने बित्तिकै उसैको घरमा जबरजस्त लानु वा लगिदिन बाध्य बनाउनु, बिना श्रम उस्कै खेतबारीमा जोत्नु जोताउनु, अटेर गरे प्रतिवाद गरे विद्रोह गरे राज्यसत्ता लगाएर दमन गर्नु, तामाङ तामाङ बिच चुक्ली लाउँदै झगडा गर्न लाएर झगडा मिलाउने नाउँमा पुराना पुराना हातहतियार भाडाकुडा पैतृक सम्पत्ति अधीनमा लिनु र पुर्णरूपमा तामाङहरूलाई खोक्रो बनाउनु नै प्रमुख कारण हुन भन्न हिच्किच्याउनु पर्दैनन् । म आफै पनि उत्पीडितमा परेको एक हिस्सेदार सदस्य भएको कारण पनि आदिवासी जनजातिहरूको बारे बेला बेलामा आले हरु लेख्दै आएको छु ।
अहिले पनि हाम्रै मञ्चमा उग्लेर उधारो मन्त्री पद बाँडेर तामाङ समुदायको मसिहा बन्ने कुचेष्टा गर्दैछन् । हामी तिनैले उधारो दिएको मन्त्री पदलाई पररर तालीले स्वागत गर्दै छौ । यसको पूर्ण क्रमभङ्ग हुनुपर्छ ।
अबको उप्रान्त तामाङ र आदिवासी जनजातिहरूले खुल्लामन्चबाट पटक पटक उधारो मन्त्री पद लिन छोड्नुपर्छ । यस्ता वाइह्यात भाषण सुन्न छोड्नुपर्छ । उसको कृपादृष्ठी द्वार होइन आफ्नै बलबुताले राज्यको आफ्नो हक जमाउन पुग्नुपर्छ चेतनाको उपल्लो लेबलमा पुग्नुपर्छ शासन पद्धतिमा आफ्नो हक र अधिकारका लागि अरू समुदायलाई गाली गरेर होइन आफ्नै क्षमता पुग्नुपर्छ । त्यो आजको तामाङ र जनजातिहरूको मूल धेय र उद्देश्य हुनुपर्छ ।
हाम्रा तामाङ समुदाय जति पढेलेखेका भएपनि राज्यको प्रमुख प्रशासन छेत्रमा किन प्रवेश हुनसकेनन वा हुनै चाहन्न ? राजनीतिमा पनि हरेक पार्टी भित्र अरूको सहयोगी मात्रै भएका छन् । आफै मूल नेतृत्वमा किन पुगेनन् वा पुग्नै चाहन्न ? आजको बहस यता हुनुपर्छ घनिभूत छलफलको विषय बन्नुपर्छ राज्यसत्तामा समान पहुँचका लागि आन्दोलन र आग्रह पूर्वाग्रह होइन सम्पूर्ण जातजाति प्रति सहकार्य सहमतिको बिन्दु पहिल्याउनु पर्छ । नागरिकतामा तामाङ मगर लिम्बू राई गुरुङ जिरेल थारु पहरी हायु तमाम जनजाति लेख्दा लेख्दै पुन जिल्ला प्रशासन कार्यालयमा जनजाति हो भनेर अर्को प्रमाणित गर्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य गर्नुपर्छ । जनजाति हरूलाई वर्तमान कानुन द्वार सिर्जित अफ्ठेराहरु सुल्झाउन जनजाति नेताहरूको पहिलो कर्तव्य हुनुपर्छ ।
आदिम कालदेखि यो भूमिमा विराजमान हामी तामाङहरू पृथ्वीनारायण शाहको दमनबाट परिस्थिति बस विदेशी मुलुकमा लाहुर जानेक्रम निरन्तर छ । वैदेशिक मुलुकमा पसिना बगाउने सिलसिला निरन्तर छ अनि अन्य जातजाति हरूबाट राज्य दोहनको सिलसिला क्रमिक बढ्दो छ । यसको क्रमभङ्ग पहिलो आवश्यक्ता हो । यसमा तामाङ बौद्धिक गान्बा गान्सोमहरुको प्रमुख भूमिका हुनुपर्छ । आफू सहितको समान पहुँच समान सहभागिताको अङ्सियारी हुनुपर्छ ।
यो नेपाल भन्ने भूमिमा बाहुल्यताका हिसाबले आदिवासी जनजातिहरूकै बाहुल्यता छन् र पनि राज्यसत्ता आदिवासी जनजातिहरूको हातमा नहुनु मुख्य कारण पत्ता लाउनु ढिला भइसकेन र ?
-कवि लालबहादुर तामाङको लेख