केही वर्ष अघिसम्म रामेछापका विभिन्न गाउँबस्तीमा दसैँको अवसरमा जताततै लिङ्गे पिङ हालिन्थ्यो । जाते पिङ, रोटेपिङ र लिङ्गे पिङ मुख्य आकर्षणको रुपमा हुन्थे ।
हिजोआज भने पिङ खेलेर दसैँमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ । जिल्लाका विभिन्न बजार तथा गाउँ बस्तीमा दसैं तिहारका बेला लिङ्गे पिङ र चङ्गा उडेको देख्न पाइन्थ्यो । गाउँगाउँमा लिङ्गे पिङ बनाउन युवा पुस्तानै अघि सर्थे ।
अहिले भने पिङको रौनक हराउदै गएको छ । २० वर्षअघिसम्म गाउँगाउँमा अनिवार्यजसो चर्खे पिङ बनाइने गरेतापनि अहिले पिङको नाम मात्र लिनु परेको अघिल्लो पुस्ताका नागरिक सुनाउँछन् ।
बाबियो काटेर ल्याउने अनि लठ्ठे पिङ्ग राख्ने परम्परा भने कतै अझैँ देखिन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्मले दसैँँको दिन भुई छोड्नुपर्छ भन्ने मान्यताले पनि कतैकतै पिङ देख्न सकिन्छ ।
पछिल्लो समयमा चर्के, लिङ्गे पिङ हराउँदै जानुमा समाजमा यसप्रतिको आकर्षण घट्नु एउटा कारण बनेको छ । परम्परागत संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई जोगाउन युवा पुस्तासँगै स्थानीय सरकारले पनि चासो दिनु आवश्यक छ ।