रामेछाप नगरपालिकाको सहयोगमा विनोद कुमार श्रेष्ठले अटेच्मेन्ट ह्वीलचेयर पाउनुभएको छ । रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ बाट स्वीकृत वार्षिक समुदायमा आधारित पुनरस्थापना सहयोग कार्यक्रम मार्फत श्रेष्ठले अटेच्मेन्ट ह्वीलचेयर प्राप्त गर्नुभएको हो । सवारी दुर्घटनामा परी स्पाइनल कर्ड इन्जुरी हुनुभएका श्रेष्ठलाई नगरपालिकाले २ लाख ४० हजार ५ सय ६० रुपैयाँ लागतमा अटेच्मेन्ट ह्वीलचेयर खरिद गरेर हस्तान्तरण गरेको हो ।
विनोद कुमार श्रेष्ठको रामेछाप अपाङ्ग हेल्पलाइन नामक संस्था मार्फत भारतबाट खरिद गरेर ल्याइएको उक्त अटेच्मेन्ट ह्वीलचेयर रामेछाप जिल्लामै पहिलो पटक भित्रिएको हो । बिजुलीबाट चार्ज गरेर गुडाउन मिल्ने उक्त ह्वीलचेयरको साँचो आईतबार (आज) रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की र वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
अटेच्मेन्ट ह्वीलचेयर पाएपछि श्रेष्ठले बाहिर दुनिँयामा प्रवेश गराउनका लागि आफुलाई अटेच्मेन्ट ह्वीलचेयरले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यस प्रकारको ह्वीलचेयर खरिद गर्न महत्वुर्ण भुमिका निर्वाह गर्ने रामेछाप नगरपालिका लगायत सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।
अटेच्मेन्ट ह्वीलचेयर पाएपछि विनोद श्रेष्ठ समाजिक संजालमा लेख्छन :
म रामेछाप बजारमा बस्न थालेदेखि अहिले सम्म म बसेको घर बाहिर निश्केको थिइनँ । आशा छ, मैले प्राप्त गरेको यो ह्वीलच्यर एटेच्मेन्ट बाट म बाहिरी दुनियामा प्रवेश गरेको छु । मैले गर्न सक्ने सानातिना काम म आफैले गर्न सक्नेछु भन्ने विश्वास छ ।
जीवनका सबै सबै दुःख अभाव र कष्ट भन्दा पर, बचन तिरस्कार र चोटहरु भन्दा पनि पर, एउटा मात्र चिजलाई पुजा गर्छु म, त्यो हो ह्वीलचेयर । यसैका कारण मुडा जस्तै लडिरहने शरीरलाई व्यवस्थापन गर्न सकेँ ।
कोठामा सीमित रहने पिजँडारुपी मैना जस्तो सरीरलाई पिजँडाबाट बाहिर निकाल्न सकेँ । गाउँ सहर घुम्न सकेँ। यहीँ मेरो ह्वीलचेयर भगवानले मलाई ठूलाठूला सपनाहरु देख्न बाध्य बनायो । २०६३ चैत्र २३ गते जनकपुर विद्युतप्राधिकरको काम सकेर चैत्र २४ गते काठमाडौँ फर्कने क्रममा साँझको ५ः३० तिर बर्दिवासको जंगलमा मैले चलाएको कार ट्रकसँग ठोक्किनबाट जोगाउने हुँदा रोड छाडेर जंगलतिर गएको थियो । त्यहीँ समयदेखि मेरो जीवनले दोस्रो जन्म पायो । मेरो आफ्नै आँखाले देख्दा देख्दै म दुर्घटनामा परेँ । मेरो मृत्यु म आफैले देखेँ । हिजो सम्मको यो उन्नाइस् वर्षे लक्का जवान लास झै भएको थिएँ ।
हो, त्यो दिनदेखि म, मेरो मन, अनी शरीर पूरै बदलिएको थियो । यो दोस्रो जन्ममा कम्बर भन्दा मुनि छोएको थाहा भएन न चल्यो नै । न दिशा पिसाब आएको नै थाहा हुन्छ । तेसपछिका दिनहरुमा मैले पाएको दुःख, कष्ट सहन नसकेर म पनि भन्थेँ, म भीरबाट हाम फालेर मर्छु । नदिमा डुबेर मर्छु । छोडेर जान्छु पस्छु देहात र कहिल्यै फर्किन्न । यही दलिनमा पासो लगाउँछु र शरीर तनक्क तन्काएर निदाउछु तर तेसो गर्ने मेरो कुनै सामर्थ थिएनँ । खुट्टाहरु लुला थिए । कम्बर भन्दा मुनी चल्थेनँ ।
गाउँका एक साधारण आमाले हुर्काएको छोरो म ।
देश–देशावर उड्ने चरो जस्तै बनाएछु भन्ने सपना देख्नुहुन्थ्यो । संसारका सबै सबै बाटोहरुमा हिँड्न सक्नु पर्छ तैँले भनेर आशिर्वाद पनि दिनु भयो तर के गर्नु आज बाटो भएर हिँड्ने पैतालाहरुले बाटो टेक्न नसकेपछी । के गर्नु यो आकाश भएर–उड्ने पङ्खा भाच्चिएपछि ।
आमाबाबाले हरेक साँझ दलानमा घस्रिएको मेरो शरीर हेर्नुभयो । आउने जाने मानिसहरुको छाँया पछ्याउनु भयो । आँगनमा आँखाहरु विच्छ्याउदै मेरो शरीर निहाल्नुभयो तर म मध्यरातमा सधै सधै मृत्युको बारे मात्र सोच्थेँ ।
आमाले मनलाई कहिले मन्दिर बनाईन् कहिले चिहान बनाईन् । तिरस्कारको औँशी त कहिले उत्साहको बिहान बनाईन् । त्यतिखेर मलाई मान्छेहरुले पनि मान्छे मानेनन् । मलाई ओरालोले न बगाउन सक्यो पानी जस्तै उकालोले न चढाउन सक्यो । लौरी जस्तै मन मात्र उडिरह्यो हावासंगसंगै ।
यतिखेर मेरो साथमा मात्र थियो केवल ह्वीलचेयर । जिन्दगीभरको साथ यसैले निभायो र अगामी दिनहरुमा पनि यसैको साहारामा बाँच्नेछु । यसैको साहारामा दुःख गरेर छाक टार्दै आएको म पिँजडारुपी मैना हुँ । स्थानीय सरकारले लक्षित समुदायलाई भनेर ल्याउने योजना र कार्यक्रमले खासै छोएन मलाई । प्रदेश र संघका कार्यक्रम त धेरै टाढाको विषय हो ।
हामी जस्ता लक्षित समुदायको जिविकामा राहत पु¥याउनकै लागि वर्षेनी बनाइने स्थानीय सरकारको योजनाले म जस्ता कसैलाई छोएको छ जस्तो पनि लाग्दैन । बरु, लक्षितवर्गका नाममा हुने कार्यक्रम कर्मकाण्डी मात्रै छन् । उनीहरुको सामाजिक सुरक्षा र विकासकै लागि बजेटको निश्चित प्रतिशत लक्षित समुदायका लागि बिनियोजन तथा खर्च गर्नुपर्ने व्यवस्था छ । तर, सामाजिक रुपमा अपहेलनाको शिकार भएका अपाङ्गगता भएकालाई कानुनले तोकेकै सुविधाबाट बञ्चित गरिनुले स्थानीय तहको उपेक्षालाई दर्शाउँछ ।
अपांगता क्षेत्र हाम्रो समाजका पिछडिएका क्षेत्र मध्येमा पर्छ । अपांगता भएकाहरूलाई हेर्ने हाम्रो नजर विरोधाभासपूर्ण छ । उनीहरूलाई प्रयोग गर्ने गरेको अपमानजनक सम्बोधन अब गर्न पाइने छैन । अपाङ्गता पूर्व जन्मको पाप हो । अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पु¥याउन सक्दैन भन्ने हाम्रो गलत अवधारणा छ । त्यसैले हामीले विभिन्न किसिमका अपांगता भएकाहरूलाई विभिन्न नाम राखिदिएका छौं ।
उदाहरणका लागि आँखा नदेख्नेलाई अन्धो, कान नसुन्नेलाई बहिरो, खुट्टा लच्काउनेलाई फ्याङ्टो, मानसिक अपाङ्गता भएकालाई बौलाहा अथवा पागल, ओँठ फाटेकोलाई खँुडे, बैसाखी टेक्नेलाई लङ्गडो, हात नहुनेलाई डुँढो, उठेर हिँड्न नसक्ने सुतिरहने समस्या भएकालाई साँपे, होचा व्यक्तिलाई वामपुड्के, बोल्न नसक्नेलाई लाटो, ढाडमा मासु उठेकोलाई कुम्ले आदि । रमेश, रमा भनेझैं उनीहरूको आफ्नै नाम छ भन्ने सोच्दैनौं ।
कुन शब्दले उनीहरूलाई धेरै सताउन सक्छ, तिनै शब्दमात्र सोचिरहन्छांै र मौका पर्नासाथ मुटुमा प्रहार गरिहाल्छौं । यो काम अत्यन्त अमानवीय छ । अब यस्ता शब्दहरू प्रयोग गर्न नपाइने भनी नियम बनिसकेको छ । कसैलाई पनि कसैको मानहानि गर्ने अधिकार छैन । अर्काको आत्मसम्मानलाई कुल्चिएर जथाभावी बोल्नु मानवता विरुद्धको पाप हो । उनीहरूलाई देखेर छिःछिः र दूरदूर गर्नुको सट्टा आत्मीय भावनाले प्रेम गर्दा उनीहरूलाई आफू पनि केही गरेर देखाउन आत्मबल प्राप्त हुन्छ ।
यो व्यक्तिमा अपांगता हुने र त्यो व्यक्तिमा नहुने भनी कतै पनि लेखिएको हुँदैन ।
जिन्दगीको कुनै मोडमा हामी पनि यसको सिकार हुन सक्छौं, जसको कुनै सुनिश्चितता छैन । हामी अपांगता भएकाहरूको शत्रु नबनेर उनीहरूको मित्रको रूपमा उभिन सक्यौं भनेमात्र हाम्रो समाज अपांगताका लागि मैत्रीपूर्ण बन्न सक्छ । मुख्यतया घरको वातावरण भौतिक तथा भावनात्मक रूपमा अपांगतामैत्री हुनुपर्छ र विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक ठाउँ, बाटोघाटो, धार्मिक स्थल पनि यही विचारमा आधारित हुनुपर्छ । अपांगता भएकालाई अवरोध गर्ने तत्त्वहरूलाई अनुसन्धान गरेर कसरी सहजीकरणको स्थिति सिर्जना गर्न सकिन्छ भन्ने परिकल्पनाले अपांगतामैत्री समाज रचना गर्न सहयोग पुग्छ ।
आगामी दिनहरुमा नगरपालिकाले अपाङ्गताको क्षेत्रमा विशेष किसिमको कार्यक्रम सञ्चालन गरोस् । म जस्तै धेरै अपाङ्गता भएका व्यक्तिहरुको मनमुटुमा बस्न सफल होस् भन्ने कामना गर्दछु ।