नेपालीमा एउटा भनाइ छ– ‘मन हुनेसँग धन हुँदैन, धन हुनेसँग मन हुँदैन् ।’ तर मनमात्र भयो भने धन जुटाउन समय नलाग्ने रहेछ । धन यो अर्थमा जुट्ने रहेछ जसको सदुपयोग समाजका लागि होस । दीनदुःखी, निमूखा र भोकानाङ्गाहरुका लागि होस । अशक्त र असाहयहरुका लागि होस । भोको पेटमा सडक पेटीमा ढलिरहेका लागि होस । सरकारबाटै हेपिएका लागि होस । समाजबाट चेपिएका लागि होस् । परिवारबाट पिल्सिएकाहरुका लागि होस । ठूलाबाट कुल्चिएका लागि होस । संभ्रान्तहरुबाट निमोठिएका लागि होस । यी सबै सबैका एउटा असल अभिभावक बन्दै आइरहेका छन् एक युवा । जो संकटका सारथी र दुःखका सहयोगी बनेर बाँसझैं ठिङ्ग उभिएका छन् ।
हो, उनी हुन् युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’ । उनले लाखौं भोका पेटहहरुको भोग मेटाएर पुन्य कमाइरहेका छन् । २०६३ सालमा रामेछापको सालुबाट काठमाडौं प्रवेश गरेका सयौं दिन भोकभोकै सडक चहारे । दुःख के हो बुझे । भोक के हो भोगे । पारिवारिक हन्डर ठक्कर खाएका प्रदीपको काठमाडौंको बसाइ सुखद भने रहन सकेन, तर २० महिनादेखी निरन्तर भोकाहरुलाई भोजन गराएर सबैको माया अथाह प्राप्त गरकेका छन् । दिन दुःखी र असहासहरुको स्नेह पाएका छन् । यो सबै माया र स्नेह पाउनु असामान्य कुरा हो । उनको आफ्नै भोगाई र सकरात्मक सोच र पवित्र विचारले गर्दा नै ति ‘भुइँमान्छे’हरुको आर्शिवाद प्राप्त गरिरहेका छन् ।
नेपाल सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै २०७६ चैत ११ गतेबाट लकडाउन शुरु गर्यो । यही कोरोना महामारीको समयमा प्रदीपको सक्रियता तिब्र रुपले बढ्यो । उनले आफ्नो ज्यानको प्रवाह नगरी रात दिन अनवरत रुपमा गरीब दुःखीको सेवामा समर्पित भई रहेकाछन् । प्रदिपसँग अथाह ज्ञान छ । उनी हरेक कुरालाई सकरात्मक रुपमा हेर्दछन् । उनले धेरै ठाउँमा हन्डर र ठक्कर खाएका छन् । उनले धेरै दुःखका पहाडहरु उक्लिएका छन् । पीडाका भ¥याङ्ग चढेका छन् । जस्तोसुकै अप्ठ्याराहरुलाई सहजै सामना गर्न सक्ने उनमा त्यो क्षमता छ । जीवनका म्याराथुनहरुमा उनले मानवअधिकारको क्षेत्रमा लडेको गहिरो अनुभव पनि छ । मानवअधिकार, लैङ्गिक, यौनिक एवं घरेलु हिंसाका बारेमा लड्दा लड्दै मानवीय समस्या बुझेका उनले लकडाउनको अवधिमा साँच्चै प्रेरणदायी काम गर्न भ्याए ।
प्रदिप भन्छन्– ‘आफ्नै जीवन भोगाइले अरुको दुःख, पीडा बुझ्ने सुवर्ण अवसर प्राप्त हुँदो रहेछ, त्यसलै गर्दा नै मैंले लकडाउनको समयमा चिसो सडक पेटी, पुल मूनी लगायत ढलको पाइपहरुमा भेटिएकाहरुको दुःख, पीडा मेरै चस्मदिद आँखाले देखें । पीडा सुने । त्यो देखेपछि मलाई असह्य पीडा भयो । त्यसपछि उनीहरुलाई सकेको मद्दत गर्ने मैंले एउटा अठोट गरेको हुँ’ । ‘शुरुमा मैंले १ सय ८ जनाको लागि खाना पकाएँ र सडकका पेटीहरु, ढलका पाइपहरु र पुलमूनी भोकभोकै भौतारिरहेकाहरुलाई वितरण गरें,’ ।
प्रदिपले १९ महिना देखी अनवरत तातो खाना पानी वितरण कार्य सञ्चालन गरेका थिए । प्रदिपले तातो खाना वितरण गर्नु पूर्व केही मनकारी व्यक्तिहरु मिलेर दाल, चामल, नुन तेल लगायतका दैनिक उपभेग्य खाद्य सामग्री वितरण कार्य गरेका थिए । तर यतिले मात्र मेरो चित्त बुझेन’ उनले भने,‘त्यसपछि मैंले प्रहरीसँग परामर्श गरेर तातो खाना वितरण अभियान चलाएको हुँ ।
प्रदिपले तातो खाना मात्र नभएर, २०७७ सालको पुष माघको कठ्याङ्ग्रिदो जाडोको समयमा न्यानो लता कपडा विरतण गरेका थिए । शुरुवाती दिनहरुमा आफ्नै बलबुताले तातो खाना र पानी खुवाउँदै आएका प्रदिपले पछि–पछि भने स्वदेश तथा विदेशमा भएका मनकारी दाताहरु भेट्न थाले । प्रदिपले गरेका काम देखेर स्वदेश तथा विदेशमा भएका केही मनकारी व्यक्तिहरुले स्वतःस्फुर्त रुपमा सहयोग प्रदान गर्न थाले ।
प्रदिप भन्छन्, ‘मैले सञ्चालन गरेको पूण्य कार्यमा सहयोग जुट्न थालेपछि मलाई अझ हौसला, साहस प्राप्त भयो । मलाई हरेक राती भोकाहरुलाई एक छाक भने पनि तातो खाना खुवाउन थप उत्साह प्राप्त भयो । हिजोआज हरेक रातको समयमा खाना बोकेर सडक सडकमा पुग्नु मेरो दैनिकी नै बनिसकेको छ’ उनले भने । शुरुमा आठ नौ जना साथीहरुसँग मिलेर अभियान चलाएका प्रदीप हिजोआज आफ्नै श्रीमती तुलसी भण्डारी, ५ वर्षकी छोरी प्रत्युसा घिमिरे, साथी हितेश खड्का र फुटबल खेलाडी रोसन बुढाथोकीको साथमा ‘तातो खाना वितरण अभियान’लाई निरन्तरता प्रदान गरिरहेका छन्
प्रदिपले शुरूवाती दिनमा आफू बसेको घरको बाहिर खाना बनाउँथे, पछि उनलाई घरपेटीले खाना बनाउन दिएनन् । घरपेटीले खाना बनाउन नदिएपछि उनले साँघुरो आफ्नै कोठाको लोबेडमाथि खाना बनाउन शुरु गरेका थिए भने अहिले नजिकै एउटा सटर भाडामा लिएका छन् । त्यही सटरमा खाना बनाएर बाटो बाटोमा लैजाने गर्दछन् । प्रदिप आफै तरकारी ल्याउने, आफै केलाउने, आफैं खाना प्याक गर्ने, आफैं भाँडा माझ्ने अनि सडकका भूइँमान्छे वा अप्ठेरोमा परेर खान नपाएकाहरुलाई खाना खुवाउँदै आएका छन् । प्रदिप भन्छन्, ‘यो १९ महिनामाको अवधीमा संभवत १ लाख ५० हजार छाक खाना खुवाएँ होला तर ठ्याक्कै तथ्याङ्क छैन् । तर पनि दैनिक सय सयौ जनालाई सेवा प्रदान गर्दै आइरहेको छु ।’
१९ महिनादेखी अनवरत रुपमा असाहय, अशक्त, अपाङ्ग, बृद्ध बृद्धा, अनाथ बालबालिकाहरुलाई खाना खुवाउँदै आएका प्रदिपले यसपालि २०७८ सालको बडा दशैंमा आफू घर नगएर ती चिसो सकड पेटीमा रात कटाउनेहरु सबै सबैको खाली निधारमा रातो टिका, जमरा र रातो खाममा दक्षिणा अनि मटर पनिर खाना र माक्स प्रदान गरेका छन् । उनी शाहाकारी हुन्, त्यसैले अरुलाई पनि शाहाकारी खाना खुवाएको बताउँछन् । प्रदिपको यो कार्य वास्तवमै सरहानीय छ । उनको त्यागप्रति नेपाल सरकारको पनि ध्यान जान जरुरी छ । प्रदिप जस्तै समाजको लागि त्यागी मान्छे हाम्रो देशमा अत्यन्तै आवश्यक छ । प्रदिप जस्ले आफ्नो खुसी ती भुँइमान्छेमा खोजिरहेका छन् । प्रदिप ती भुँइमान्छेहरुका अन्नदाता भएका छन् । सबै मान्छेहरु आआफ्नो घरमा धुमधामसंग दशै मनाइरहँदा प्रदिप भने खाना पकाएर सडकका गल्लि गल्लिमा कुदिरहेका थिए ।
प्रदिप भन्छन्, मैले गरेको जुन समाज सेवा छ, यसको प्रेरणाको श्रोत मेरो अन्तर्मन नै हो । जुन दृष्य लकडाउन पछि मैले दिन दिनै देखेँ, त्यसपछि एक दुई दिन त मलाई निन्द्रा नै परेन । अनि आफ्नै अन्तर्मनबाट अठोट गरेँ कि अब म यो पीडामा परेका व्यक्तिहरुलाई आफूले सकेको मलम लगाउने कोसिस गर्छु । अनी उनीहरुको पीडालाई आफ्नै पीडा सम्झी मनन गरेपछि यो प्रेरणा मलाई मिलेको हो ।
‘परोपकार पूण्यायः’ भन्ने यो वेदको मर्म तब साकार भयो, जब ती आँशुमा जीवन व्यतित गरिरहेका तमाम असहाय वर्गले दुई छाक खाना खान पाएपछि कलेटी परेका ओठमा मुस्कान ल्याएँ । म असाध्यै खुसी छु, र हृदयदेखी विशेष आभार व्यक्त गर्दछु । म त केवल साधन मात्रै हुँ । साध्य बनेर मैले सञ्चालन गरिरहेको परोपकारी अभियानलाई अन्तर्हृदयदेखि साथ, सहयोग, हौसला, प्रेरणा र आर्शिवाद प्रदान गर्नुहुने स्वदेश तथा विदेश्मा आसिन तमाम सहयोगी मनहरुप्रति म नतमस्तक छु । उहाँहरुको साथ सहयोगले यो पुण्य कार्य अहिलेसम्म सम्भव भएको छ । म पुनः उहाँहरुलाई शिर निहुर्याएर हार्दिक नमन गर्दछु । मेरो लागि उहाँहरु भनेको साक्षत भगवान् हो । म यस कार्यको सम्पूर्ण श्रेय उहाँहरु मनकारी दाताहरुलाई समर्पण गर्न चाहन्छु ।