आज नाग पञ्चमी पर्व परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । घरको मूल ढोकामा आज नागको चित्र टाँसेर पूजा गर्ने प्रचलन रहेको छ ।
नागको पुजा गरेमा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका र प्राकृतिक विपत्तको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
नाग पञ्चमीको अवसरमा आज बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा पुजाआजा गर्न घुइँचो लागेको छ ।
आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ ।
नाग रिसाए भने अनिष्ट हुने मान्यताअनुसार नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकार डा रामचन्द्र गौतमले बताउनुभयो ।