कोरानाको तेस्रो लहरका लागि स्थानीय तहको तयारी

कोरानाको तेस्रो लहरका लागि स्थानीय तहको तयारी

कोरोनाको तेस्रो लहर आएमा स्थानीय सरकारले विगतका कमजोरी सच्याउँदै अघि बढ्ने रणनीति बनाएका छन् । पहिलो र दोस्रो लहरमा स्थानीय सरकारले आवश्यक तयारी नगरेको आलोचना भएको थियो । तर अब भने सम्भावित तेस्रो लहरका लागि तयारीमा लागेको स्थानीय सरकारले बताएका छन् ।

पर्साको ठोरी गाउँपालिका ब्रम्हपुरकी रोहिणी श्रेष्ठ लाई गत बैशाखमा कोरोनासङ्क्रमण भयो । परिवारका चारै जना सङ्क्रमित भएपछि उहाँहरू घरमै बस्नुभयो । १४ दिन आइसोलेशनमा रहँदा पनि पालिकाले केही सोधीखोजी नगरेको भन्दै उहाँले यो विषयमा स्थानीय तहले आगामी दिनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँमात्रै होइन कोरोनाको पहिलो र दोस्रो लहरमा धेरै सङ्क्रमित घरमै बसे । तर बिरामीले अपेक्षा गरे जस्तो व्यवहार नपाएको गुनासो गरेपछि जनप्रतिनिधिले विगतका कमजोरी सच्याउने तयारी गरेको पर्साको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले बताउनुभयो ।

कोरोनाको दोस्रा लहर चल्दै गर्दा हालसम्म झन्डै १० हजार नागरिकको मृत्यु भइसकेको छ । बिरामीका लागि अक्सिजन सिलिन्डरको अभावका कारण पनि मृत्यु दर बढ्न गएको निष्कर्ष सरकारको छ ।

त्यसैले अक्सिजन प्लान्ट सञ्चालन पनि स्थानीय सरकारको प्राथमिकता रहेको कैलालीको धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशिला मिश्रले बताउनुभयो ।साउनपहिलो हप्ता दैनिक २ हजारको हाराहारीमा नयाँ संक्रमित थपिने गरेका थिए । हिजोआज भने ४ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुने गरेको छ ।

कोरोनाको तेस्रो लहरबाट जोगिन स्थानीय सरकारको भूमिका विशेष हुने भए पनि भने सोचे जस्तो काम नभएको जनस्वास्थ्य विज्ञ डाक्टर बाबुराम मरासिनीले बताउनुभयो ।

२६ जिल्लासँग खुल्ला सीमा जोडिएको भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपालमा पनि त्यसको प्रभाव पर्ने विगतको अनुभवले देखाएको छ । यसकारण पनि सीमाबाट हुने आवतजावतमा कडाइ गर्ने रणनीतिमा स्थानीय सरकार छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार