सिन्धुपाल्चोकको मेलम्चिमा ७ जनाको शव फेला

सिन्धुपाल्चोकको मेलम्चिमा ७ जनाको शव फेला

सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो देखि बेपत्ता भएका ७ जनाको शव भेटिएको हो । मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए ।

मृत्यु हुनेहरूमा हेलम्बु २ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु ३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु ७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु ६ का च्याङ्बा तामाङ छन् । जिला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको छ ।

हिजो देखि परेको अबिरल बर्षाका कारण देशका बिभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा पनि औँल्याएको छ ।

मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ , यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको विभागले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज राति कर्णाली, वाग्मती प्रदेशमा भारी र लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना छ । त्यसैले महाशाखाले यी क्षेत्रमा बाढी पहिराको खतरा औँल्याएको छ । अविरल वर्षाका कारण तराईका जिल्लामा कयौं बस्ती डुबानमा परेका छन् भने पहाडी जिल्लामा पहिरोले सडक अवरुद्ध भएको छ ।

यसैबीच, गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचकभन्दा माथि पुगेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पाँच लाख क्युसेक क्षमताको ब्यारेजमा पानीको सतह चार लाख आठ हजार क्युसेकमाथि पुगेपछि ढोकाहरु खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका अधिकारी तारासिंह थापाले जानकारी दिनुभयो ।

नारायणी नदीमा पानीको सहतइतिहासकै उच्च विन्दुमा

नारायणी नदीमा पानीको सहतइतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको छ । नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रअरी १० देखि जलस्तर मापन शुरु गरेको बताउनुभयो ।

उहाँका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो ।सोही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । सो विन्दुको रेकर्ड गए राति तोडिएको रायले बताउनुभयो । नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार